अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

© Foto: जान मार्विक

पिपुल इन नीड अन्तर्राष्ट्रिय

हामी मानवतावाद, स्वतन्त्रता, समानता र एकताका आदर्शहरूको जगमा स्थापित एक गैर-सरकारी, गैर-नाफामुखी संगठन हौं । हामी मानवीय सहायता, मानव अधिकार, शिक्षा र सामाजिक कार्यका क्षेत्रहरूमा काम गर्दछौं ।


पिपुल इन नीडलाई सन् १९९२ मा चेक युद्ध संवाददाताहरूको एउटा समूहले स्थापित गरेका हुन् जसले तत्त्कालीन द्वन्द्वहरूबारे जानकारी प्रसार गर्नुमा आफूहरूलाई सीमित नराखी द्वन्दग्रस्त क्षेत्रहरूमा आपातकालीन सहयोग समेत पठाउन थाले । यो बिस्तारै एउटा पेशेवर मानवीय संगठनको रूपमा स्थापित भयो र पछि आफ्नो कार्यसूचीमा मानव अधिकार र शिक्षा जस्ता अन्य विषयहरू पनि समावेश गर्यो ।

हामी के गर्छौं ?

अन्तर्राष्ट्रिय स्तरमा

हाम्रो ह्युमेनिटेरियन एड एण्ड डिभेलप्मेन्ट डिपार्ट्मेन्ट (मानवीय सहायता तथा विकास विभाग) अफ्रिका, एशिया र युरोपका २० भन्दा बढी राष्ट्रहरूमा कार्यरत छ । हरेक वर्ष २०० परियोजनाहरू मार्फत यसले साढे दुई लाख मानिसहरूलाई मद्दत गर्दछ । यो हाम्रो संगठनको सबैभन्दा ठूलो विभाग हो । शुरुमा मूलतः विभिन्न राष्ट्रहरूलाई विपत्ति र युद्ध तथा द्वन्द्वबाट मुक्त हुन सहयोग गर्ने कुरामा यो विभाग केन्द्रित थियो तर अब यसले खानेपानीको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक बहिष्कार, र पर्यावरणीय समस्या जस्ता दीर्घकालीन समस्याहरूको समाधान गर्न पनि प्रयास गरिरहेको छ । 

हामी मानवीय सहायता र विकास परियोजनाहरूमा संलग्न सात युरोपेली गैर-सरकारी संस्थाहरूको रणनीतिक नेटवर्क ‘एलायन्स २०१५’को हिस्सा हौं ।

हामी दमनकारी शासन प्रणालीमा चलिरहेका १० भन्दा बढी राष्ट्रहरूमा ह्युमन राइट्स सपोर्ट (मानव अधिकार समर्थन) का लागि गतिविधिहरू संचालन गर्दछौं । यस सन्दर्भमा हाम्रा लक्षहरू राजनीतिक तवरमा सताइएका व्यक्तिहरूलाई सहयोग पुर्‍याउनु, स्थानीय नागरिक समाज संगठनहरूलाई सहयोग गर्नु र विभिन्न वकालत गतिविधिहरू सञ्चालन गरेर मानव अधिकार उल्लंघनका मुद्दाहरूमा ध्यान आकर्षित गर्नु हुन् ।

प्रत्येक वर्ष हामी सयौं राजनीतिक कैदीहरू र नागरिक समाज संगठनहरूलाई मद्दत गर्दछौं र असंख्य कार्यक्रमहरू सञ्चालन गर्दछौं । ‘होमो होमिनी पुरस्कार’ तिनै कार्यक्रमहरूमध्येको एक हो । उक्त पुरस्कारमार्फत हामी मानव अधिकार र प्रजातन्त्र तथा राजनीतिक द्वन्द्वको अहिंसक समाधानको प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दछौं ।

चेक गणतन्त्रमा

वान वर्ल्ड फिल्म फेस्टिभल मानव अधिकारमा केन्द्रित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो । यो संसारभरमै आफ्नो प्रकारको सबैभन्दा महत्त्वपूर्ण महोत्सव हो र यसले हरेक वर्ष विश्वभरका लगभग १,२०,००० दर्शकहरूमाझ त्यस्ता चलचित्रहरूको प्रथम प्रदर्शन गरिरहेको छ । यो महोत्सवको केन्द्र प्राग रहे तापनि यसलाई चेक गणराज्यका अन्य शहरहरू र ब्रसेल्समा पनि आयोजना गरिन्छ ।

यस महोत्सवले अर्को परियोजनालाई पनि उत्प्रेरित गरेको छ – वान वर्ल्ड इन स्कूलस् (ओडब्लुआइएस) । परियोजनाअन्तर्गत श्रव्यदृश्य सामग्री प्रयोग गरेर चेक विद्यार्थीहरूलाई विश्वका वर्तमान मुख्य विषयहरू - मानव अधिकार, पारिस्थितिकी, नागरिक समाज, आधुनिक इतिहास र मिडियाका बारे जानकारी दिइन्छ। आज ३,०० भन्दा धेरै प्राथमिक र माध्यमिक विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरू ‘ओडब्लुआइएस’ सामग्रीका साथ काम गरिरहेका छन् । चेक विद्यालयहरूमध्ये आधाले हाम्रा सामग्रीहरू प्रयोग गर्दैछन् ।

हाम्रो भेरियन्टी एजुकेशनल प्रोग्राम शिक्षकहरूको शिक्षणमा केन्द्रित छ। यसले शिक्षकहरूलाई बिभिन्न शिक्षण प्रविधिहरूसँग अवगत गराउँदछ; उनीहरूलाई केही आवश्यक विषयहरूमा कुराकानी अघि बढाउन मद्दत गर्दछ; र उनीहरूलाई कार्यप्रणालीसम्बन्धित सामग्री र शिक्षण सहायता प्रदान गर्दछ। यसका अतिरिक्त, यस परियोजनाले पारिवार र विद्यालयबीचको संवादलाई प्रोत्साहित गर्दछ र चेक विद्यालय प्रणालीमा परिवर्तनहरूको लागि वकालत गर्दछ ।

हाम्रो माइग्रेसन अवेयरनेस प्रोग्राम (प्रवाससम्बन्धी चेतना कार्यक्रम) ले जनतालाई प्रवास र यससँग जोडिएका जटिलताहरूबारे जानकारी दिन्छ। यसले विश्लेषणात्मक अध्ययनहरू प्रकाशित गरेर, कार्यक्रमहरू आयोजना गर्ने र मिडियामा प्रवाससम्बन्धित मामिला र विषयहरूको प्रेषण गर्ने गर्दछ ।

हाम्रो सोशियल वर्क इन द चेक रिपब्लिक (चेक गणतन्त्रमा सामाजिक कार्य) कार्यक्रमले आजको चेक समाजमा व्याप्त समस्याहरू समाधान गर्न योगदान पुर्‍याउँदछ । हाम्रा लागि काम गर्ने सयौं कर्मचारी र स्वयंसेवकहरूमार्फत हामी हरेक वर्ष हजारौं व्यक्तिहरूलाई सहयोग गर्दछौं । हामी ऋणमा परेका व्यक्तिहरूलाई पनि सहयोग गर्दछौं । हामी उनीहरूलाई प्रत्यक्ष सरसल्लाह दिने गर्दछौं र साथै अति भारी शुल्कको माग गर्ने लेनदार, वकिल र सम्पत्ति जफत गर्नेहरूलाई अनुचित समर्थन गर्ने कानुनी प्रणालीमा परिवर्तनको वकालत गरेर हामी ऋणीहरूलाई अप्रत्यक्ष सहयोग पनि गर्दछौं ।

हाम्रो सामाजिक कार्यको अर्को पक्षले गरीब र सामाजिक रूपमा बहिष्कृत परिवारहरूलाई सहयोग पुर्‍याइरहेको छ । सहयोगअन्तर्गत त्यस्ता परिवारहरूलाई पारिवारिक परामर्श दिनु, बालबालिका तथा युवाहरूलाई प्रि-स्कूल क्लबहरू तथा विपन्नहरूका लागि स्थापित (लो-थ्रेशहोल्ड) क्लबहरूमा दाखिल गर्नु र निजी शिक्षण प्रदान गर्नु पर्दछन् । हामी अपराध पीडितहरूका लागि वृत्तिविकास सल्लाह र सहयोग पनि दिने गर्दछौं।

सम्पूर्ण पाठ कम पाठ