बुनाईको व्यवसाय: आफ्नो परिवारलाई न्यानो राख्दै,पैसा कमाउँदै नेपाली महिला
प्रकाशित २७ नोभेम्बर २०१७ पढ्न लाग्ने समय 3 मिनेटसंवत् २०७२ को वैशाखमा आएको भूकम्प र त्यसपछिका पराकम्पनहरूले नेपालमा ८,८९१ जनाको ज्यान गयो भने ६,००,००० भन्दा बढी घर भत्किए । करिब २,९०,००० हजार घरमा आंशिक क्षति भयो । सङ्कटको चरम अवस्थामा, करिब एक लाख ९०,००० मानिस विस्थापित भए । यसमध्ये धेरै त आ–आफ्नै उद्गम थलो फर्किसके । भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि कैयौँ अझै विस्थापित छन्, आफ्नो घर पुनर्निर्माण गर्न र आफ्नो दैनिक जीवनयापन पुनः सामान्य बनाउन सङ्घर्षशील छन् । यिनै आवश्यकतालाई सम्बोधन गर्नका लागि एपिरोनसँगको साझेदारी तथा चेक गणतन्त्रको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा पिपुल इन निड (पिन)ले नेपालको सिन्धुपाल्चोक जिल्लामा जीविका पुर्नप्राप्तिका लागि एक परियोजना सुरु ग¥यो ।
यसमा हाम्रो उद्देश्य सामान्य थियो । हामीले भूकम्पका कारण विस्थापित भएका समुदायलाई पुर्नस्थापित गर्न र त्यसका लागि आफ्नो जीविकाका साधन पुनः प्राप्त गर्नका लागि सक्षम बनाउन चाहेका थियौँ । यसका लागि हामीले चार सय महिलालाई बुनाई तालिम दियौँ ताकि उनीहरू आफ्ना परिवारलाई न्यानो राख्दै आफूले बुनेका सामग्री बेच्न पनि सकून् । हाम्रो जीविका पुर्नप्राप्ति सहयोगमा व्यावसायिक तालिमसँगै थप तीन सय परिवारका लागि जीविका पुनः सुरु गर्नका लागि लघुअनुदान पनि थियो ।
समुदायका लागि बुनाई
एक महिने बुनाई तालिमका क्रममा ४०० विस्थापित तथा आफ्नो उद्गम थलोमा फर्किएका महिलाले रङ्गीन, हातले बुनेका सामग्री उत्पादन गर्न जाने । उनीहरूले १,२०४ टोपी, ८११ जोर मोजा र १,०३८ गलबन्दी बुने, अनि हिउँदका बेला प्रयोग गर्नका लागि समुदायमा वितरण गरे । यस तालिममा सहभागी हुन र ती सामग्री उत्पादन गर्न महिलाहरूलाई पैसा दिइयो । यसबाट प्राप्त कमाइलाई उनीहरूले आफ्नो घर पुनर्निर्माणमा, घरायसी सामग्री किन्नमा र आफ्नो पढाइमा खर्च गर्न पाए । एक्काइस वर्षीया सुष्मा भन्छिन्, “तालिम प्रभावकारी भयो । मैले नयाँ सिप पाएँ । तालिमपछि मैले मेरा आफन्तका लागि दुई टोपी र मोजा बुनेँ । कुनै सामग्री बुन्नका लागि मैले कुरुस समातेको यो पहिलो पटक थियो । पहिलो हप्ता त अलिक गाह्रो भयो तर सिक्दै जाँदा सजिलो भयो । रमाइलो पनि भयो ।” तालिमका क्रममा आफूले कमाएको पैसालाई सुष्माले पढाइमा प्रयोग गरिन् । घर खर्चमा पनि अलिअलि सहयोग गरिन् ।
पिन र एपिरोनले ती रङ्गीन सिर्जनालाई समुदायमा वितरण गरे । वृद्धवृद्धा, अगाङ्गता भएका मानिस, गर्भवती लगायतका करिब ८०० मानिसले हिंउँदका लागि उपयुक्त सामग्री पाए भने ४८३ थान सामग्री स्थानीय विद्यालयहरूमा वितरण गरिए । ८५ वर्षका ताराबहादुर श्रेष्ठ भन्छन्, “मेरी कान्छी बुहारीले पनि एकमहिने बुनाइ तालिममा सहभागी हुने मौका पाइन् । उनले बुनाइ सिकिन् र केही पैसा पनि कमाइन् । हाम्रोजस्तो गरिब परिवारका लागि त्यो पैसा ठुलै नै भयो । आफ्नै छोरीबुहारीले बुनेका सामग्री सहयोग पाएर हामीजस्ता बुढाबुढीले न्यानो गरी बस्न पाउँदा म एकदमै खुसी छु । यो परियोजना हाम्रो गाउँमा आएकामा हामी सबै खुसी छौँ र अझै पनि यस्ता परियोजनाले सहयोग गर्नेछन् भन्ने आशा गर्दछौँ ।”
ताराबहादुरकी ९५ वर्षकी छिमेकी लालकुमारी श्रेष्ठको घर भूकम्पमा भत्कियो । लालकुमारीको परिवारका नौ जना हाल अस्थायी आवासमा बस्छन् । उनी भन्छन्, “मेरो छोराले ज्यामी काम गर्छ, बुहारी खेतमा काम गर्छिन् । दुबैले मेरो राम्रो स्याहार गर्छन् । अब जाडो महिना आयो, हामी बुढाबुढीलाई एकदमै गाह्रो हुन्छ । तर यो संस्थाले हामीलाई न्यानो मोजा, टोपी र गलबन्दी दिएको छ । हिउँदका लागि यी सामग्रीहरू पाउँदा म खुसी छु । मलाई आशा छ तपाईँले हामीजस्ता सहयोगको आवश्यकता भएका सबै बुढापाकालाई सहयोग दिनुहुन्छ र न्यानो बनाउनुहुन्छ ।”
यस परियोजना अन्तर्गत व्यावसायिक साक्षरता तालिम, प्राविधिक तालिम तथा ३०० परिवारलाई भूकम्पको असरबाट बाहिर निस्कन नगद अनुदान लगायतका जीविकालाई सहयोग पुग्ने अन्य क्रियाकलाप पनि गरिएका थिए । जिल्ला स्तरीय निकायहरूको सहकार्यमा गरिएको बजार अध्ययनपछि प्रशिक्षार्थीलाई व्यावसायिक योजना कसरी बनाउने र उपलब्ध स्थानीय सामग्रीको प्रयोग गरी कसरी तिनलाई लागू गर्ने भन्ने कुरा सिकाइएको थियो । उनीहरूले हिसाबकिताब अभिलेखीकरण, नाफाघाटा विश्लेषण र व्यवसायसँग सम्बन्धित अन्य विषयमा ज्ञान हासिल गरे । यस बाहेक, दिगोपनका लागि कुखुरा पालन, पशु पालन र कृषि लगायत विषयमा उनीहरूको ज्ञान अभिवृद्धि गर्न प्राविधिक व्यावसायिक तालिम पनि दिइयो । तालिमपछि उनीहरूको व्यावसाियक योजना कार्यान्वयन गर्न सुरुवाती लगानी होस् भनेर पिन र एपिरोनले लघुअनुदान पनि वितरण गरे । प्रायः सहभागीले बाख्रा पालन रोजे भने अन्य केहीले कुखुरा पालन, तरकारी खेती र अन्य कृषिजन्य गतिविधि । व्यावसायिक तालिम मार्फत् पिन र एपिरोनले स्थानीय समुदायलाई सरकारी सेवा केन्द्रसँग सम्पर्क स्थापित गरिदिए ताकि उनीहरूलाई आफ्नो व्यवसाय र जीविकालाई सुदृढ बनाउन सक्ने सरकारका नीति तथा योजनाहरूबारे जानकारी होस् । साथै यसरी सम्पर्क स्थापित हुँदा परियोजनाको दिगोपन पनि प्रवद्र्धन भई समुदायका सदस्यलाई जिल्ला स्तरीय निकायले प्रदान गर्ने सूचना तथा सहयोग कसरी खोज्ने भन्ने पनि थाहा भयो ।