पहिरोबाट प्रभावित परिवारका लागि सुरक्षित आश्रय
प्रकाशित १७ मार्च २०२१ पढ्न लाग्ने समय 2 मिनेट६० वर्षिय धनमाया सुनार राम्ररी हेर्न सक्दिनन् । उनको देब्रे आँखाको ज्योती हराएको छ । उनी आफ्नो ५४ वर्षिय श्रीमान् धन बहादुर सार्कीसँग गोरखा जिल्लाको पोखरीडाँडा भन्ने गाउँमा बस्छिन् । उनीहरुका तीन सन्तान छन् । उनीहरुका छोरीको विवाह भइसकेको छ भने जेठो छोरा काठमाण्डौमा काम गर्छन् । अहिले बसिरहेको ठाउँ एकदमै सानो भएको कारण उनीहरुका कान्छो छोरा भने गोठमा बस्छन् । गोठ उनीहरुको वासस्थानबाट एक घण्टा टाढा पर्छ । उक्त दम्पतीको आय श्रोत कृषि र जेठो छोराले काठमाण्डौमा काम गरेर पठाउने थोरै रकम हो ।
गाउँपालिकाको विकास योजना अन्तर्गत रहेको सडक निर्माण कार्य ठ्याक्कै उनको घर माथि सुरु भयो । अनियोजित र अव्यवस्थित ढंगले गरेको सडक निर्माण कारण वर्षायाममा भारी वर्षाका कारण पहिरोले उनको जग्गा र घरको दायाँ भाग बगायो र घरलाई जोखिम बनायो । भाग्यवश उनको परिवार भने सकुशल रहे ।
उक्त घटनापछि उनको परिवार सडक छेउमै प्लाष्टिक र पुरानो जस्तापाताले बारेको टहरोमा बस्न थाले । “प्राय म र मेरो श्रीमान् मात्र यहाँ बस्छौँ । हामीलाई मौसम सँगै जंगली जनावरको आतंकको पनि उत्तिकै त्रास छ । यो टहराले हामीलाई जंगली जनावरको आतंकबाट बचाउन सक्दैन”, हामीसँगको पहिलो भेटमा धनमायाले सुनाएकि थिइन् ।
अहिले बसिरहेको टहरा एकदमै सानो भएकोले खाना पकाउन, सुत्न र महत्वपूर्ण सामान राख्न मुस्किल भइरहेको थियो । सोही कारण उनीहरुको पुरानो घर असुरक्षित भएता पनि घरायसी सामग्री र खाना भने त्यही भण्डारण गरे ।
अस्थायी आवासको लागि जस्तापाता र तिरपालहरू
वडा कार्यालयबाट उनीहरुले सहयोग स्वरुप केही जस्तापाता पाए तर नाजुक आर्थिक अवस्थाका कारण निर्माण सामग्री र कामदार जुटाउन असफल भएपछि सोही टहरामै बस्न बाध्य भए । युरोपेली आयोगको आर्थिक सहयोगमा संचालित “पहिरो आपत्कालीन प्रतिकार्य” परियोजनाले उनको बारेमा थाहा पाएपछि उनलाई अस्थायी आवास निर्माण गर्न आवासका सामग्रीहरुः जस्तापाता, सादा पाता, र त्रिपाल उपलब्ध गरायो । साथसाथै उनले परियोजनाबाट कम्बल, डस्ना, लत्ता कपडा र भान्छाको सामग्री पनि प्राप्त गरिन् । परियोजनाबाट पाएको सहयोग सदुपयोग गरेर उनले दुई कोठे अस्थायी आवास निर्माण गरिन् । उक्त अस्थायी आवासले उनको परिवारलाई कठोर मौसम र जंगली जनावरको आतंकबाट बचाउन मद्दत पुर्याउने छ ।
धनमाया भन्छिन, “मेरो जेठो छोरा काठमाण्डौबाट घर फर्केको समयमा हामी सबै मिलेर यो अस्थायी आवास निर्माण सम्पन्न गर्यौँ । म विशेषत हाम्री सबैको लागि यो घर पर्याप्त हुने कुरामा हर्षित छु । यो सबै परियोजनाको सहयोगको कारण सम्भव भएको हो ।” उनी थप्छिन्, “हामीले नयाँ घर कहिले बनाउन सक्छौँ भन्ने कुरा थाहा छैन । तर अहिले हामी सपरिवार अस्थायी घर भएता पनि सुरक्षित स्थानमा एकसाथ बस्छौँ ।”