३,६९,९०० भन्दा बढी लाभग्राहि : नेपालमा भूकम्पपश्चात् पुनरुत्थानका पाँच वर्ष

प्रकाशित २२ अप्रिल २०२० पढ्न लाग्ने समय 5 मिनेट
३,६९,९०० भन्दा बढी लाभग्राहि : नेपालमा भूकम्पपश्चात् पुनरुत्थानका पाँच वर्ष
© Foto: Sajana Shrestha

काठमाडौं, नेपाल, बैशाख १० – पाँच वर्षअघि बैशाख १२ मा गएको भूकम्प नेपालको इतिहासकै सबैभन्दा विनाशकारी भूकम्पहरुमध्येको एक हो । भूकम्पमा करिब ९,००० मानिसले ज्यान गुमाए र लाखौँ घरबारविहीन भए । प्रकोप गएलगत्तै पिपुल इन नीडले पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न शुरु गर्यो र ती प्रयासहरू अझै जारी छन् ।

विगत आधा दशकको कामको क्रममा पिनले अन्तर्राष्ट्रिय दाताहरू र स्थानीय संगठनहरूको साझेदारीमा देशका सबैभन्दा बढी प्रभावित क्षेत्रका समुदायहरुको प्रकोपका असरहरुबाट उभ्रिने क्षमतामा सुधार ल्याउने कुरामा ध्यान केन्द्रित गरेको छ । उदाहरणका लागि पिनअन्तर्गतका टोलीहरुले ४,००० स्थानीयहरुलाई रोजगारी प्रदान गर्दै १२५ किलोमिटर गोरेटो बाटोहरुको पुनर्निर्माण गर्न सहयोग गरेको छ र लगभग ३,००० बालबालिकालाई शिक्षा प्रदान गरेको छ । त्यसैगरी पिनले २,४०० भन्दा धेरै परिवारलाई प्रकोपहरुको जोखिममा रहेका क्षेत्रहरूबाट सुरक्षित क्षेत्रहरुमा सर्न मद्दत गरेको छ र साथै नयाँ घरहरू निर्माण गर्न र बिग्रिएका घरहरुको जीर्णोद्धारमा योगदान पुर्‍याइरहेको छ।

पिनअन्तर्गत हाम्रो काम भूकम्प गएको तीन दिनपछि शुरू भयो । भूकम्पले पुर्याएका गम्भीर क्षतिलाई मध्यनजर गरेर विज्ञहरुको टोलीलाई हामीले द्रुत रूपमा परिचालित गर्यौं । विपत्तिले दुर्गम पहाडी गाउँहरुलगायत धेरै ठाउँका मानिसहरुलाई प्रभावित गरेको थियो । सहायताको पहिलो चरण भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लामा केन्द्रित थियो । तर चाँडै पिनले भारी रूपमा क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा पनि आफ्नो काम शुरु गर्यो ।

पिनको नेपाल कार्यक्रमका संयोजक डेनिसा बुल्तासोभा भन्छिन्, “हाम्रा प्रारम्भिक कार्यहरूमध्ये एक प्रतिक्रिया टोली गठन गर्नु थियो । हामीले एउटा होटलको बगैंचामा पाल टाँगेर आफ्नो कार्यालय बनायौं र बगैंचामा रहेका प्लास्टिकका फर्निचरका मद्दतले काम अघि बढायौं । त्यहाँ हामीले मद्दत गर्न उत्सुक धेरै स्वयम्सेवकहरूलाई स्वागत गर्यौं । हाम्रो टोलीका केही सदस्यहरू सहायक श्रोतहरुबाट काटिएका दुर्गम पहाडी क्षेत्रहरुमा हेलिकप्टरमा गए । अन्य सहकर्मीहरूले स्थानीय प्राधिकरणहरूलाई भूकम्पबाट प्रभावित गाउँ र घरहरूको डाटाबेस तयार गर्न सघाउँदै धेरै दिन मेहेनत गरे ।”

पिनको प्रारम्भिक कार्य अस्थायी आश्रयहरू निर्माणका लागि तिरपाल वितरणमा केन्द्रित थियो । उक्त कार्य ‘पिपुल इन नीड क्लब अफ फ्रेन्ड्स’का दाताहरुको उदारताका कारण सम्भव भएको थियो । पिनले ‘एसओएस नेपाल कोष संकलन अभियान’ पनि शुरू गर्‍यो र चेक गणतन्त्रका दाताहरूले यसमा तीन करोड भन्दा बढी चेक क्राउन योगदान गरे।

नेपालका लागि पिनका डेस्क अधिकृत आइरीन इत्रिया भन्छिन्,"यस कोषबाट हामीले १४,३२० घरपरिवारलाई मद्दत गर्यौं र उनीहरूलाई अस्थायी आश्रयहरु निर्माण गर्न आवश्यक सामग्री र प्राविधिक सहयोग उपलब्ध गरायौं । स्थानीय व्यक्तिहरुसँगको समन्वयमा हामीले पहाडी र हिमाली भेगका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा बिग्रिएका पूर्वाधारहरूको पुनर्स्थापना गर्न थाल्यौं।"

भूकम्पले ठूलो विनाशलीला मचाएको थियो; करिब ६,००,००० भवनहरू ध्वस्त भएका थिए र थप २,८०,००० भवनहरू क्षतिग्रस्त भएका थिए । धेरै परिवारले आफ्ना गाउँ छोडेर आन्तरिक विस्थापित व्यक्तिहरूको लागि तयार पारिएका शिविरहरूमा शरण लिनुपरेको थियो जहाँ प्राय: आधारभूत सुविधाहरुसमेतको अभाव थियो।

जनजीवन पुनर्स्थापित गर्न सहयोग गर्ने दिशामा हामीले पहिले उत्पन्न भएका समस्या र आवश्यकताहरूको दायरा बुझ्ने प्रयास गर्यौं । प्रकोपपछिका दिनहरुमा यौन उत्पीडन, मानव बेचबिखन, र शोषण प्रमुख मुद्दाहरुका रूपमा अगाडि आए । प्रतिक्रियाका रूपमा पिनले एउटा स्थानीय साझेदार संस्थासँग काम गर्दै ‘उनको सुरक्षा’ नामक कार्यक्रम सुरू गर्‍यो जसमा किशोरीहरूलाई कसरी आफ्नो सुरक्षा गर्नेबारे सिकाउने कार्यशालाहरू र सेमिनारहरूको एउटा श्रृंखला समावेश थियो । सहभागीहरूले आधारभूत सरसफाइको बारेमा र घरेलु हिंसा तथा बालविवाह जस्ता मुद्दाहरूको बारेमा खुलस्त बोल्न सिके । हाम्रो लक्ष चेतना फैलाउनु र महिलाहरुको सुरक्षास्तर वृद्धि गर्नु थियो।

समसामयिक रूपमा पिनको ‘लीभ नो गर्ल बिहाइन्ड’ परियोजनाले १,७०० भन्दा धेरै किशोरीहरूलाई आफ्ना क्षमताहरुको पहिचान गर्दै तिनलाई निखार्न मद्दत गर्यो । नेपालका ग्रामीण क्षेत्रहरुमा धेरै बालिका तथा किशोरीहरुलाई पढाइ छोडेर निकै सानो उमेरमै बिहे गर्न बाध्य पारिन्छ । यसलाई सम्बोधन गर्न ‘लीभ नो गर्ल बिहाइन्ड’मा सहभागीहरूलाई साक्षरता र गणित जस्ता सीप र कौशल सिक्ने अवसर दिइयो । पाठ्यक्रम पूरा भएपछि आफ्ना परिवार र समुदायको पूर्ण समर्थन लिएर लाभार्थीहरू विद्यालय फर्के वा स्थानीय प्रशिक्षुत्व लिन थाले । कुल करिब ८,५०० किशोरीहरुलाई यस परियोजनाले मद्दत गरिरहेको छ।

यी कार्यक्रमहरूका अतिरिक्त, स्वास्थ्य, सुरक्षा, लैंगिक समानता, र भेदभावविरोधी रणनीति जस्ता मुद्दाहरूमा लगभग ३,२०० किशोरकिशोरीहरूलाई तालिम दिन पिनले कार्यशालाहरूको आयोजन गरेको छ ।

सन् २०१८ देखि पिनले समुदायहरूलाई पहिरोबाट प्रभावित क्षेत्रहरूबाट सुरक्षित क्षेत्रहरुमा सर्न र सम्भावित प्रकोपहरुका लागि तयार रहन मद्दत गरिरहेको छ । यी प्रयासहरूको एउटा भागको रूपमा हामी मानिसहरूलाई भूकम्प प्रतिरोधी घरहरू कसरी बनाउने भनेर सिकाउँछौं ।

 पिनका देशिय निर्देशक याकुब स्मुत्नि भन्छिन्, “नेपालस्थित हाम्रो ठूलो टोली र स्थानीय संगठनहरू तथा सरकारसँगको सहकार्यबाट हामी देशका सबैभन्दा गरीब क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरूका आवश्यकता र चुनौतीहरूबारे जान्दछौं । आजीविकासम्बन्धित परियोजनाहरूमा सहयोग पुर्‍याउने कार्य होस् वा भविष्यका विपत्तिहरूका लागि समुदायहरुलाई तयार पार्नु होस्, हाम्रो कार्यविधि सबैभन्दा विश्वसनीय उपलब्ध डाटा र विज्ञानमा आधारित छ ।”

नेपालमा पिपुल इन नीडका पाँच वर्ष; संख्यानुसार

१४,३२० घरपरिवारलाई अस्थायी आश्रयहरूको निर्माणको लागि सामग्री र प्राविधिक सहयोग प्रदान

१०,६२३ घरपरिवारलाई गद्दा, कम्बल, सौर्याबत्ती र अन्य आवश्यक वस्तुहरुको वितरण

३,१८३ बालबालिकाहरूका लागि पिन स्वास्थ्य र सुरक्षा कार्यशालाहरूको आयोजन 

८८९ सहभागीहरुसहित महिलाहरूको सुरक्षा र संरक्षणका बारे चेतना जगाउने कार्यशालाहरूको आयोजन

१२५.५ किलोमिटर पहाडी गोरेटो बाटोहरुको पुनर्स्थापन

३,९१४ घरधुरीलाई रोजगारीका नयाँ अवसरहरू प्रदान 

२०० किशोरी आमाहरूलाई रोगहरुको रोकथामका लागि हेरविचार र मानसिक स्वास्थ्यमा केन्द्रित पिनको ‘एमहेल्थ’ कार्यक्रम

४०० महिला र ३०० घरपरिवारका लागि बुनाई र आजीविका प्रशिक्षण 

१,६०० परिवारहरूका लागि भूकम्प प्रतिरोधी घरहरूको निर्माण र पुनर्स्थापना 

१,७०९ किशोरीहरुका लागि पढाइ, लेखाइ र गणित कक्षाहरुको संचालन 

२,४२८ घरपरिवारलाई भूक्षयग्रस्त क्षेत्रहरुबाट स्थानान्तरण 

चेक गणतन्त्रका दाताहरुले सन् २०१५ देखि नेपालमा पिनका गतिविधिहरूको लागि पिन क्लब अफ फ्रेन्ड्स र एसओएस नेपाल फन्डरेजरमा अनुदान दिंदै आएका छन् । यसका अतिरिक्त निम्न प्रायोजकहरू पनि यसमा सहभागी रहेका छन्: युके अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडि), युरोपियन सिभिल प्रोटेक्शन एण्ड ह्युमेनिटेरियन एड अपरेशन्स् (युरोपिय नागरिक सुरक्षा र मानवीय सहायता संचालन/इसिएचओ)को महानिदेशालय, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन, क्याथोलिक रिलिफ सर्भिस (क्याथोलिक राहत सेवा/CRS), इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेशन (अन्तराष्ट्रिय आप्रवासन संगठन), चेक गणतन्त्रको परराष्ट्र मन्त्रालयचेक रेडियो


सम्पर्कहरू:

याकुब स्मुत्नि, पिन नेपालको देशिय निर्देशक

+४२० ७२४ ५८७ ८८८

jakub.smutny@peopleinneed.cz

आइरीन इत्रिया, नेपालका लागि पिनका डेस्क अधिकृत (अंग्रेजी र चेक)

+४२० ७७८ ४४२ ५८७

irene.itria@peopleinneed.cz

Autor: पिपुल इन नीड

सम्बन्धित लेखहरू