नेपाली महिलाहरू ग्रामीण क्षेत्रका आफ्ना दिदीबहिनीलाई सशक्त बनाउन सहकार्य गर्दै

प्रकाशित ७ मार्च २०१८ पढ्न लाग्ने समय 8 मिनेट
नेपाली महिलाहरू ग्रामीण क्षेत्रका आफ्ना दिदीबहिनीलाई सशक्त बनाउन सहकार्य गर्दै
© Foto: सजना श्रेष्ठ

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिपुल इन नीड (पिन)का नेपालभरि काम गर्ने महिलाहरू भेट्नुहोस् । हाम्रो संरक्षण समूहले ग्रामीण महिलाहरूलाई आफ्ना अधिकारको पैरवी गर्न र आफ्नो स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्न सशक्त बनाउने काम गर्दछ ।

#PressforProgress

पुष्पा घले, २१, गोरखा


“संवत् २०७२ को भूकम्पछि म संरक्षण क्षेत्रमा काम गर्न थालेकी हुँ । त्यस बेला हामीले समुदायको भ्रमण गर्दा के पायौँ भने धेरै महिला तथा बालिकाहरू आफ्ना अधिकार तथा आफूमाथि हुन सक्ने हिंसाका स्वरूपबारे अनविज्ञ रहेछन्। मैले एक जना वृद्धाले आफ्नी नातिनीलाई भनेको सुनेँ, “एक जना पुरुषसँग आफूले चाहेजस्तो गर्ने अधिकार हुन्छ भने महिला भएका कारण हामी नम्र र सहनशील हुनुपर्छ ।” आफैँ एक युवती भएकाले मलाई लाग्यो कि ती वृद्धाको कुरा उनकी नातिनीमाथि मात्र होइन, हरेक महिलामाथिको अन्याय हो । त्यो एक वाक्यले मैले गर्ने कामप्रतिको मेरो धारणा बदलियो ।”

रनसुब्बा गुरुङ, २९, कास्की


गोरखाको एक दुर्गम गाउँमा काम गर्दा मलाई थाहा भयो कि त्यहाँ बाल विवाह, बहु विवाह, यौन दुव्र्यवहार तथा कुमारी आमाका समस्याहरू व्याप्त रहेछन् । महिलाहरूलाई आफ्ना अधिकारबारे थाहा रहेनछ । मलाई भित्रैदेखि लाग्यो कि अब मैले उनीहरूलाई आफ्ना अधिकारबारे सचेत बनाउनुपर्छ । वास्तवमा उनीहरूले नै मलाई संरक्षणबारेको आफ्नो कामबारे उत्प्रेरित गरे । यदि म महिला नभएको भए उनीहरूसँग यति नजिकै भएर काम गर्ने अवसर पाउने थिइँन । कुनै पुरुषलाई उनीहरूसँग यौन तथा लैङ्गिक हिंसा र प्रजनन स्वास्थ्यबारे कुरा गर्न यति सजिलो हुँदैनथ्यो । महिला भएकै कारण, मैले अन्य महिलाहरूको सशक्तीकरणमा योगदान दिन पाएँ भने यसले मेरै पनि सशक्तीकरण भयो ।

अरिश्मा श्रेष्ठ, २८, ललितपुर   


Iम केटाहरूका बिचमा हुर्किएँ, जहाँ मलाई विश्वास गर्न लगाइयो कि केटीहरू जन्मजात कमजोर हुन्छन् । तर म आफूलाई कमजोर देखाउन चाहान्नथेँ, त्यसैले मैले केटाजस्तै हिँडेँ, केटाजस्तै खेलेँ, केटाजस्तै बोलेँ र केटाजस्तै व्यवहार गरेँ । यसरी ‘टमब्वाइ’ नै हुँदा पनि मैले आफैँ त हेपाइ खप्नुपरेन, तर मजस्ता धेरै साथीहरू भने हेपिनुपथ्र्यो । कुनै व्यक्तिले कुनै केटीलाई नराम्रो व्यवहार गर्दा म केटीलाई नै दोषी देख्थेँ किनकि उनीहरूले विरोध नगरेर नै त्यस्तो भएजस्तो लाग्थ्यो । करिब त्यही समयमा हामीलाई अङ्ग्रेजी पढाउने एक शिक्षकले एउटा कथा सुनाउनुभएको थियो, जहाँ एउटा चिल पनि कुखुराहरूको खोरमा हुर्काइएको थियो । अन्ततः चिलले पनि आफूलाई कुखुरा नै भन्ठान्यो र कहिल्यै उड्ने प्रयाससम्म पनि गरेन । मेरो विचारमा धेरै महिलाहरू त्यो चिलजस्ता छन्, जो आफ्नो समाजका कारण आफूलाई कुखुरा भन्ठान्छन् र कहिल्यै उड्न प्रयास गर्दैनन् । मैले महिला र बालिकाहरूलाई आ–आफ्नो ठाउँबाट उठ्न र अरूको दुव्र्यवहार नसहनका लागि प्रोत्साहित गर्न लागेँ । आफू वरिपरिका महिलाहरूमा सकारात्मक सन्देश प्रवाह गर्नु क्षणभरमै मेरो जीवनको बाटो बन्यो । मलाई लाग्छ म महिला र पुरुष दुबैका लागि अझ न्यायपूर्ण समाजतर्फ हिँडिरहेकी छु ।

एन्जेला श्रेष्ठ, २४, काठमाडौँ


एक दिन मलाई पिनमा फोन आयो । समुदायकी एक जना सदस्यले पिन तथा मैले उनको समुदायमा गरेको कामका लागि धन्यवाद दिन फोन गरेकी रहिछिन् । त्यो फोनपछि मैले मेरो परिश्रम र समर्पणबारे सोचेँ । यो मेरो पेसागत जीवनको एक महत्वपूर्ण क्षण हो र यसले मलाई अगाडि बढिरहन प्रेरित गर्छ । आपत्कालीन प्रतिरोधका समयमा भएको एक छलफलका क्रममा अर्को संस्थाका एक जना पुरुषले मलाई सोधेका थिए, “के तिमीहरूको समूहमा कोही पुरुषचाहिँ छैनन् ?” उनको प्रश्न सुनेर सुरुमा त म रिसाएँ, तर पछि के महसुस भयो भने त्यस सङ्कटका समयमा गाउँगाउँ पुगेर परिश्रम गर्ने समूहहरूमध्ये महिला मात्र भएको समूह हाम्रै मात्र थियो । यो घटनाले पनि मलाई एक महिलाका रूपमा सशक्त महसुस गरायो ।

आस्था प्रधानाङ्ग, २४, काठमाडौँ      

महिला भएका कारण मलाई सधैँ भनिन्थ्यो कि साँझ पाँच बजेभन्दा पछाडि घर बाहिर बस्नुहुन्न । तर पिनमा काम सुरु गर्नुभन्दा अगाडि मलाई सोधियो कि म गोरखा जिल्लाका सबैभन्दा दुर्गम ठाउँहरूमा काम गर्न सक्छु कि सक्दिनँ । मैले बालाई सोधेँ, बाले उल्टै मलाई नै सोध्नुभो । मलाई कार्यस्थलसम्म पु¥याइदिने पनि बताउनुभो । तर त्यति बेला मलाई लाग्यो, होइन, अब म आफैँ जान्छु, घर बाहिरको जिन्दगी कस्तो हुने रहेछ भनेर खोज गर्छु । त्यसपछि त कार्यस्थलमा अन्य महिला र बालिकाहरूसँग कुरा गरेपछि मलाई काम गर्न अझ प्रेरणा मिल्यो । पिनमा २८ महिना काम गर्दा म आफैँसँग अझ नजिक भएकी छु । मेरो विश्वास छ कि मैले दुर्गम समुदायमा दिएको योगदानले मजस्ता महिला र बालिकाहरूलाई आफ्नो भविष्यका लागि विभिन्न सुविधा र अवसरसम्म पुग्न सहयोग गरेको छ ।

पुष्पा गुरुङ, २८, कास्की


पोखरा नजिकैको एउटा सानो गाउँमा मेरो परिवारकी एक्ली छोरीका रूपमा जन्मिएकी हुँ म । गाउँमा अन्य बालिकाहरूको अवस्था जेजस्तो भए पनि मैले भने आमाबाबाट पर्याप्त माया र हेरचाह पाएँ । पछिल्लो समय म स्वयंसेवा गरिरहेकी थिएँ, जहाँ मजस्तै युवाहरूलाई सामाजिक अन्याय र गरिबीका विरुद्ध लड्न उत्प्रेरित र सशक्त बनाउने अवसर थियो । त्यहाँको मेरो अनुभवले लैङ्गिकता, पितृसत्ता, नारीवाद र मानव अधिकार लगायतका विषयमा मेरो ज्ञानको दायरा फराकिलो भयो र आत्मविश्वास पनि बढ्यो । केही वर्ष अगाडि मैले एउटा सुकुम्बासी बस्ती उठाइएको घटना देखेकी थिएँ । त्यहाँ धेरै महिला र बालबालिका प्रभावित भएका थिए । त्याँ केही गर्भवतीहरू पनि थिए र त्यसमध्ये केहीको गर्भ तुहिएको थियो । त्यो बेला मैले आफूलाई कमजोर महसुस गरेकी थिएँ, मैले उनीहरूसँग कुरै गर्न सकेको थिइँन । त्यसपछि नै मैले महिलाका लागि काम गर्ने, उनीहरूका अधिकार र संरक्षणका लागि लड्ने सङ्कल्प गरेकी थिएँ ।

निशा निरौला, २५, मोरङ


समय बित्दै जाँदा मैले महसुस गरेकी छु कि सानो प्रयासले पनि ठूलो परिवर्तन हुन सक्छ । मेरो काममा मैले ज्ञान बाँड्दाको र महिला अधिकारका लागि निरन्तर पैरवी गर्दाको सामथ्र्यमा ध्यान केन्द्रित गरेकी छु । ग्रामीण नेपालका महिलालाई आफूले पाउनुपर्ने अधिकार तथा स्वतन्त्रताबारे थाहा छैन । एक पटक पिन मार्फत् मैले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे एक तालिम चलाएकी थिएँ । तालिमपछि एक महिलाले मलाई भनेकी थिइन्, “यसभन्दा अगाडि हामी यी विषयबारे सोच्न पनि सक्दैनथ्यौँ । तर यो तालिमले गर्दा मलाई थाहा भयो हरेक समुदायमा यी विषयबारे थाहा हुनुपर्ने रहेछ । यी विषयमा लजाउन नहुने रहेछ ।” आज ती महिला आफ्नो समुदायमा प्रजनन स्वास्थ्य अधिकारबारे आवाज उठाउन सक्रिय छिन् । महिलाहरू परिवर्तनका संवाहक हुन सक्छन् भन्ने कुराको प्रमाण हो यो । 

जेनिशा त्वनावासू, २४, भक्तपुर


म सानी हुँदा प्रायः म आफ्नी आमालाई कुनातिर एक्लै बसेको देख्थेँ । मेरी दिदी-बहिनी र म सोच्थ्यौँ कि आमाले आफ्नो व्यक्तिगत समयको मज्जा लिइरहनुभएको होला, तर मैले उहाँको एकान्तवासको, उहाँका रसाएका आँखाको, उहाँको नबोलिएको आवाजको तथा समुदायले गरेको अवमूल्यनको अर्थ कहिल्यै बुझिनँ । म पनि लैङ्गिक विभेदको सोही रेखामै हुर्किएँ, तर पनि मेरी आमाले मलाई उड्ने पखेँटा हालिदिनुभो र अझ अगाडि बढ्नका लागि दिशा दिनुभो । मेरी आमाले आफ्ना चार छोरीलाई माया गर्दै स्याहार्नुभो, हुर्काउनुभो र हामीलाई आफ्ना अधिकारका लागि लड्न सक्षम बनाउनुभो । आज म आफू काम गर्ने समुदायमा मेरी आमाजस्तै धेरै महिलाहरू भेट्छु र ती सबैकी छोरीका रूपमा आफूलाई पाउँदा गौरान्वित महसुस गर्छु । मलाई विश्वास छ कि हरेक महिलासँग कठिनाइलाई अवसरमा बदल्ने शक्ति हुन्छ ।

उपहार राई (चाम्लिङ), २४, इलाम  


पहिरोपछिको कुनै सङ्कटका बेला हामीले एक समुदाय तथा त्यहाँको विद्यालयमा मनोसामाजिक सहयोग उपलब्ध गराएका थियौँ । हामीले महिलाहरूलाई आफ्ना साथी तथा आफन्त गुमाएपछिका डर, पिर तथा दुःख बाँड्नका लागि अवसर प्रदान गर्नका लागि सहयोग समूह पनि खोल्यौँ । विद्यालयले पनि महसुस गर्यो कि मनोसामाजिक क्रियाकलापले बालबालिकाको मनोसामाजिक सुस्वास्थ्यमा योगदान गर्ने रहेछ, त्यसलै यसले आफ्ना नियमित अतिरिक्त क्रियाकलापमा मनोसामाजिक क्रियाकलापलाई मूलप्रवाहीकृत गर्ने निर्णय गर्यो । विद्यालयले बाल संरक्षण, बेचबिखन तथा बाल विवाहका परिणामका विषयमा सन्देश दिने गरी सांस्कृतिक क्रियाकलाप, लोक नृत्य तथा नाटक गर्यो । बालिबालिकालाई एकअर्काले सहयोग गरे र व्यावसायिमक परामर्श सत्रमा पनि पठाइयो । बालबालिकाले मानसिक स्वास्थ्यमा ध्यान मात्र दिएनन्, आफ्ना कुरा सुनाउनु कमजोरी होइन, बरु कठिन परिस्थिति सामना गर्ने उपाय हो भनेर चेतना बाँड्न पनि लागे ।

विजया पुन मगर, २८, रूपन्देही


बाल्यकालदेखि नै मेरो दाजु÷भाइ र मलाई समान व्यवहार गरियो । तर नेपालका सबै बालिकाहरू म जत्तिकै भाग्यमानी थिएनन् । पढाइका क्रममा मलाई बलात्कार, घरेलु हिंसा, दुव्र्यवहार, योनिच्छेदन, महिनावारीबारेका सोचाइ, बाल विवाह लगायत महिला र बालिकाका विविध विषयबारे थाहा भयो । स्नातकपछि मैले विभिन्न अनुसन्धानमा सहभागी हुने मौका पाएँ । त्यस क्रममा मलाई ग्रामीण नेपालका महिला तथा बालिकाको दुरावस्था थाहा भयो । त्यसले मेरो दिमागको ढोका खुल्यो र मलाई उनीहरूका लागि काम गर्न प्रेरणा मिल्यो । म विभिन्न ठाउँ जान थालेँ, विभिन्न ठाउँमा काम गर्न थालेँ, अनि हिंसा भोगेका तर कहाँ जाने र कसको सहयोग माग्ने थाहा नभएका बालिका र महिला भेटेँ । उनीहरू हिंसाका विरुद्ध आवाज उठाउन सक्ने अवस्थामा थिएनन् । सङ्कटका बेला संरक्षण अधिकृत भएर काम गर्दा मलाई आफू आवाजविहीन महिला तथा बालिकाको आवाज बनेको र उनीहरूका लागि सुरक्षित स्थान निर्माण गर्न सहयोग गरेको महसुस भयो ।

गंगा राई, २८, भोजपुर


आफ्ना सन्तानलाई राम्रो खाना, सुस्वास्थ्य र शिक्षा दिन एकल अभिभावकका रूपमा मेरी आमाले आफ्नो जिन्दगीभरि धेरै दुःख गर्नुभो । ती सबै दुःखलाई नजिकबाट नियाल्दै म हुर्किएँ । मैले पछि बुझेँ कि अशिक्षा र विभिन्न सिपहरूमा पहुँच नभएर पनि मेरी आमाले दुःख पाउनुभएको रहेछ । त्यसपछि मलाई मेरी आमाजस्तै जीवनभर सङ्घर्ष गर्नुपर्ने महिलाहरूका लागि काम गर्ने बलियो इच्छा जाग्यो । मेरो कामका लागि प्रेरणा र हौसलाको मूल स्रोत नै मेरो वास्तविक जीवन भयो ।

संगीता मयूर, ४१, सुनसरी


म संवत् २०७२ को भूकम्पबाट विस्थापित मानिसहरूलाई तालिम दिन्छु । तालिमका क्रममा विशेषतः महिला र बालबालिकासँग सम्बन्धित नेपाली नियमकानुनबारे पनि बताउँछु । आफ्नो शिविरमा सुरक्षा प्रवद्र्धनका लागि गठित सुरक्षा समितिका सदस्यहरू पनि मेरो तालिममा सहभागी हुन्छन् । म सबैलाई बोल्न र सुरक्षा समितिसँग आफ्ना कुरा राख्न प्रोत्साहित गर्छु किनकि यो समितिले आ–आफ्नो क्षेत्रमा सुरक्षा प्रवद्र्धन गर्ने कार्यक्रम चलाउँछ । केही सुरक्षा समितिले समुचित चुकुल भएका स्नान घर तथा शौचालय एवं आफ्नो शिविर आसपास पानी ट्याङ्की बनाएका छन् ता कि समुदायका सदस्यहरू सम्भाव्य दुव्र्यवहार र हिंसाबाट बचून् । अचेल महिला तथा बालबालिकाले खुला ठाउँमा नुहाउनुपर्दैन, न त पानी लिन टाढा जानुपर्छ । समाजले यस्ता विषयलाई संरक्षणका सवालका रूपमा देख्दैन, तर सुरक्षा समितिले देख्यो ।

Autor: सजना श्रेष्ठ , संचार अधिकृत, पिपुल इन नीड नेपाल

सम्बन्धित लेखहरू