बदलिँदै महिनावारीको परिभाषा: समस्या होइन स्वच्छता
प्रकाशित २७ मे २०२३ पढ्न लाग्ने समय 3 मिनेट" महिनावारीको बारेमा भरपर्दो जानकारीमा पहुँच, साथै उचित स्वच्छता र राम्रो स्वास्थ्य कायम राख्न चुनौतीपूर्ण छ, तसर्थ यसका लागि उचित पैरवी अवश्यक छ।"
नेपालका दुर्गम क्षेत्रमा बस्ने धेरै किशोरीहरूले चुपचाप महिनावारीको समस्या भोग्छन्। महिनावारी बारे सांस्कृतिक मान्यताहरू, आर्थिक स्रोतको अभाव, सामाजिक हानीकारक परम्परा, ज्ञानको कमी र महिनावारीको समयमा प्रयोग हुने किफायती सामाग्रीहरुको अभावले यो चुनौतीलाई थप बल पुर्याउँछ। फलस्वरूप, धेरै किशोरीहरुले आफ्नो महिनावारीको समयमा स्यानिटरी प्याडको सट्टा पुरानो कपडा जस्ता संक्रमण फैलन सक्ने वस्तुहरू प्रयोग गर्छन् जसका कारण महिनावारीको समयमा किशोरीहरू संक्रमणको उच्च जोखिममा हुन्छन् । धेरै किशोरीहरू परिवारको न्यून आर्थिक स्थितिका कारण पनि स्यानिटरी प्याड जस्ता सामाग्रीहरू खरीद गर्न सक्दैनन् र अन्ततः किशोरीहरु महिनावारीको स्वच्छता व्यवस्थापन गर्न कठिनाइको कारण विद्यालय छोड्न बाध्य हुन्छन् ।
नेपालको बारा जिल्लाको दुर्गम गाउँकी ३० वर्षीया अर्चना चौधरी महिनावारी स्वच्छता व्यवस्थापन (MHM) सम्बन्धी किशोरीहरुले सामना गर्ने चुनौतीहरूबारे सधैं सचेत थिइन् तर उनको जस्तो दुर्गम गाउँमा स्यानिटरी प्याडहरू सजिलै उपलब्ध छैनन्। उपलब्ध भए तापनि धेरै महँगो भएका कारण आर्थिक अवस्था न्यून भएका किशोरीहरू सहजै खरीद गर्न सक्दैनन तसर्थ उनीहरूको लागि स्यानिटरी प्याडको प्रयोग गर्न कठिन रहेको छ ।
अर्चनाले , आसमान नेपाल र SODCC सँगको सहकार्यमा पीपल इन नीडद्वारा सञ्चालित र युके एडको गर्ल्स एजुकेशनले च्यालेन्ज अन्तर्गतको आरम्भ परियोजनाद्वारा सञ्चालित बारा जिल्लाका दुई सामुदायिक सिकाइ केन्द्रहरू (CLCs) मा जीवनउपयोगी सीप सहजकर्ताको रूपमा काम गर्न थालेकी थिइन्। यस परियोजनाले साक्षरता, संख्यात्मकता, र जीवनउपयोगी सीप साथै सामाजिक परिवर्तनका लागि समुदाय परिचालन मार्फत १० देखि १९ वर्ष उमेर समुहका विद्यालय बाहिरका किशोरीहरूको जीवनमा सुधार ल्याउन मधेशका बारा तथा रौतहटका विभिन्न स्थानीय निकायहरूमा काम गर्दै आइरहेको छ।
अर्चना जस्तै ६८ अन्य दक्ष प्रशिक्षकहरूले, १३५ सामुदायिक सिकाइ केन्द्रहरूमार्फत विद्यालय बाहिर रहेका किशोरीहरूलाई उनीहरूको नेतृत्व सीप विकास गर्न र आत्मविश्वास, आत्म-सम्मान र जागरूकता बढाउनका लागि जीवनउपयोगी सीप प्रदान गर्दै आइरहेको छ । यसैअन्तर्गत महिनावारी स्वच्छता पनि यौन तथा प्रजनन् स्वास्थ्यको एक अभिन्न अंग रहेको कारण पनि जीवनउपयोगी सीपमा यो समावेश हुँदै आएको छ । तसर्थ महिनावारी सरसफाई व्यवस्थापन बारे ज्ञान हासिल गर्न परियोजनाले ५० जना विद्यालयका शिक्षक तथा सामुदायिक सिकाइ केन्द्रका प्रशिक्षकहरूलाई महिनावारी सरसफाई र सेनेटरी प्याड बनाउने तालिम दिएको थियो । तालिम पूरा गरेपछि ऊनीहरूले सामुदायिक सिकाइ केन्द्र र विद्यालयमा रहेका किशोरीहरूलाई यो ज्ञान बाँडेका थिए।
अर्चना महिनावारीबाट गुज्रिरहेको आफ्नो समुदायका किशोरीहरूलाई सहयोग गर्न कटिबद्ध छिन्। पुराना कपडाबाट हातले बनाएको सेनेटरी प्याड बनाउनुका साथै भिडियो, चित्रमय पोस्टर, पुस्तक र नाटक जस्ता विभिन्न शैक्षिक सामाग्रीहरू मार्फत किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार र महिनावारी सरसफाइबारे सिकाउँछिन्। अर्चना भन्छिन्, “यो परियोजनाले सामुदायिक सिकाइ केन्द्रका किशोरीहरूलाई वास्तवमै मद्दत गरेको छ, र समुदायले महिनावारी होइन, सरसफाइको कमी समस्या हो भनी बुझेका छन्,” अर्चना भन्छिन्।
अर्चनाको प्रयासले उनको समुदायमा निकै प्रभाव पारेको छ। "किशोरीहरू महिनावारीको बारेमा थप जान्न चाहन्छन् किनभने यो उनीहरूका लागि नयाँ कुरा हो जुन यसअघि कहिले पनि खुला रूपमा छलफल गरिएको थिएन। उनीहरूका आमा र परिवारका सदस्यहरूले पनि महिनावारीको बारेमा खुलेर बताउँदैनन् किनभने यसलार्इ अझै पनि लाज र खुलेर बोल्न नहुने विषय मानिन्छ।" यस परियोजनाका कारण नै किशोरी र उनीहरूका आफन्त र साथीहरू बीच महिनावारी जस्तो कुनै समयमा वर्जित मानिने विषयको बारेमा महत्त्वपूर्ण छलफल गर्ने वातावरण सिर्जना भएको छ ।
अब, यस परियोजनाको कारण, आफ्नो महिनावारी सुरु नभएका किशोरीहरूलाई पनि पहिलो महिनावारी सुरु गर्दा के गर्ने भनेर थाहा छ।
फलस्वरूप, सुरक्षित सेनेटरी प्याडहरूमा पहुँचको सहजता बढ्दै गइरहेको छ, साथै राम्रो महिनावारी स्वच्छता अभ्यासहरूको सन्दर्भमा व्यवहारमा परिवर्तन आएको छ। परियोजनाले बारा र रौतहट जिल्लाका ११८ जना महिलाहरूलाई सेनेटरी प्याड बनाउने सीप प्रदान गरेको थियो, जुन उनीहरूले प्रत्येक सामुदायिक सिकाइ केन्द्रहरू र विद्यालयमा किशोरीहरूलार्इ सिकाउने गर्छन् । परियोजनाले किशोर-किशोरीहरूलाई महिनावारीको बारेमा सचेतनाका साथै सफा सुती कपडाले बनाएको सेनेटरी प्याड र ह्यान्ड सेनिटाइजर प्रदान गरेको थियो। किशोरीहरूको आत्मविश्वासमा वृद्धि तथा आत्म-सम्मान सुधारका निम्ति हस्तनिर्मित पुन: प्रयोग गर्न मिल्ने कपडाको प्याडहरू प्रयोग गरेर उनीहरूलाई उनीहरूको महिनावारीको बारेमा सिक्न र व्यवस्थापन गर्न सक्षम बनाउन परियोजना धेरै हदसम्म सफल भएको मान्न सकिन्छ।