नेपालमा बाढीबाट ३,३६,००० भन्दा बदि प्रभावित । एलायन्स २०१५ का साझेदारहरूद्वारा अति जोखिममा भएकालाई खाद्यान्न तथा सरसफाई सामग्री बाँड्दै
प्रकाशित २३ अगस्ट २०१७ पढ्न लाग्ने समय 3 मिनेट Sdílet: Sdílet článekकाठमाडौँ (भदौ ७)- अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घका अनुसार नेपाल, भारत र बङ्गलादेशमा यस वर्ष बाढीबाट एक करोड ६० लाख मानिस प्रभावित भएका छन् । बाक्लो वर्षाका कारण नेपालको दक्षिणी भेग सबैभन्दा प्रभावित भएको छ, जहाँ कम्तीमा एक सय ४१ जनाको मृत्यु भइसकेको छ भने २० जना भन्दा बढी बेपत्ता छन् । बाढीका कारण डेढ लाखभन्दा बढी परिवार विस्थापित भएका छन् भने तीन लाख ३६ हजारभन्दा बढी मानिस प्रभावित छन् । बाढीले गर्दा ६५ हजार घर भत्किएका र थप एक लाख २० घरमा क्षति पुगेको अनुमान छ । प्रभावित परिवारले खाना तथा पानीका लागि तत्काल सहयोग चाहिएको बताएका छन् । एलायन्स २०१५का साझेदारहरू कन्सर्न वर्ल्डवाइड (आयरल्यान्ड), पिपुल इन नीड (चेक गणतन्त्र) र वेल्थुन्गर्हिहिल्फे (जर्मनी)का टोलीहरू अति प्रभावित क्षेत्रमा पुगी जोखिममा रहेका मानिसलाई सहयोग गर्दै छन् ।

कृषि उत्पादनका लागि वर्षायाम महत्वपूर्ण हुन्छ; पानी थोरै परेको वर्ष महामारी नै हुन सक्छ । तर यही वर्षाले नै हरेक वर्ष पहाडमा पहिरो र तराईमा बाढीजस्ता विपत्ति ल्याउने गरेको छ । यस वर्षको साउन २८ गतेको मुसलधारे वर्षापछिका केही दिनमा परेको पानीले नेपालको यस वर्षको सम्पूर्ण वर्षामा ७० देखि ८० प्रतिशत हिस्सा ओगट्दा धेरै जिल्लाहरू पहिरो तथा बाढीबाट प्रभावित भए ।
‘बाढीले घर बगायो’
बाढीले धेरै मानिसको बसोबास रहेको तथा गरिबीको समस्या पनि व्याप्त भएको नेपालको दक्षिणी क्षेत्रमा असर ग¥यो । विशेषतः रौतहट र सप्तरी धेरै प्रभावित भए, जहाँ करिब ७९ प्रतिशत जनसङ्ख्यालाई कुनै न कुनै सहयोग चाहियो । देशभरि मृत्यु तथा अङ्गभङ्ग भएकामध्ये १५ प्रतिशत यस जिल्लाका थिए ।
सप्तरीको पौवा गाउँकी ५७ वर्षीया एकल महिला सुन्द्रादेवी मण्डल खात्वेले पनि आफ्नो घर बाढीमा गुमाइन् । “बाढी पस्दा म घरमा एक्लै थिएँ । बाँसको भाटाले लगाएको गाह्रो भत्कियो र मलाई थिच्यो, म घाइते भएँ । धन्न छिमेकीले मेरो उद्धार गरे,” उनी भन्छिन्, “तर मेरो घरभरि कम्मरसम्म आउने गरी पानी भरियो । हामी त सडकमा बस्न थाल्यौँ । पानीले प्रायः सबै बालीनाली सखाप भयो । नभिजेको दाउरा र कपडा एउटा पनि बाँकी रहेन ।”
प्रभावित परिवारलाई तत्काल सहयोग
बाढीपहिरो सुरु भएपछि नेपालमा रहेका एलायन्स २०१५का साझेदारहरूले आफ्नो संयुक्त विपद् तयारी योजनालाई सक्रिय गराए । कन्सर्न वर्ल्डवाइड, वेल्थुन्गर्हिहिल्फे, पिपुल इन नीड र तिनका स्थानीय साझेदारका टोलीहरू दुबै जिल्लामा परिचालित भए । “हाम्रो अग्रीम योजनाकै कारण, पानी रोकिएको एक हप्ताभन्दा कम अवधिमै हामीले २५० प्रभावित परिवारलाई आपत्कालीन सहयोग पुर्यायौँ,” कन्सर्न वर्ल्डवाइडकी राष्ट्रिय निर्देशक इलिन मोरो भन्छिन्, “तर बाढीको प्रभाव व्यापक थियो र अन्य धरै परिवारलाई तत्काल सहयोग आवश्यक थियो ।”
बाढीको तह घट्दै जाँदा एलायन्स २०१५ का साझेदारहरूले तिव्र गतिमा थप कर्मचारी परिचान गरी आफ्नो सहयोग विस्तार गरे । “यी दुई जिल्लामा गरिबी पनि उच्च भएको र बाढीको प्रभाव पनि बढी भएका कारण हामीले हाम्रो राहत प्रयासलाई यिनै जिल्लामा केन्द्रित गर्ने निर्णय गर्यौँ। तर बाढीले पुल भत्काएकाले तथा सडक ढाकेकाले त्यहाँ पुग्न हामी सुस्त भयौँ,” पिपुल इन नीडका राष्ट्रिय निर्देशक ड्यानियल कोयल भन्छन् ।
खाद्य सुरक्षामा चासो
नेपालका बहुसङ्ख्यक मानिसको बसोबास रहेको दक्षिणी क्षेत्र देशको अन्न भण्डार पनि हो । बाढीले यहाँको उत्पादकत्वमा करिब ८० प्रतिशत कमी आउने प्रारम्भिक आँकलन छ, जसका कारण सिङ्गो देशको खाद्य सुरक्षाबारे चिन्ता उत्पन्न भएको छ । सीतादेवी (६०) आफ्नो घरभित्र बाढी पसेपछि सञ्चित अन्न गुमाउने हजारौँ मानिसमध्ये एक हुन् । “हामी खेतबाट फर्किँदै गर्दा घर त डुबिसकेको थियो । कम्मरको तहसम्म पानी हुँदा छोराछोरीको सहयोगले केही सामान त बाहिर निकाल्यौँ,” उनी सुनाउँछिन्, “हाम्रो जीवन नै कृषिमा निर्भर छ, तर यो वर्षको वर्षाले सबै थोक लग्यो ।”
“बाढीले बालीनाली नासियो, इनार फोहोर भयो र सञ्चित खाद्यान्न बगायो । अब यहाँ तत्काल खाद्यान्न र सफा खाने पानी आवश्यक छ । हामीले हाल केही अति प्रभावित क्षेत्रमा ११,६०० खाद्यान्न किट र दश हजार पानी सफाइको किट वितरण गरिरहेका छौँ,” वेल्थुन्गर्हिहिल्फेकी राष्ट्रिय निर्देशक अस्जा हनानो भन्छिन् ।
अवश्य पनि आगामी दिनमा क्षतिको पूर्ण विवरण र प्रभावितहरूका दीर्घकालीन आवश्यकताबारे थाहा हुनेछ । कुनै पनि प्रभावित परिवार राहत तथा पुनस्र्थापनाका प्रयासबाट वञ्चित नहून् भन्ने सुनिश्चित गर्नका लागि एलायन्स २०१५ का साझेदारहरू स्थानीय सरकारसँगको समन्वयमा आफ्नो निकट सहयोग जारी नै राख्नेछन् ।
थप जानकारीका लागि:
इलिन मोरो, कन्सर्न वर्ल्डवाइड नेपाल राष्ट्रिय निर्देशक, +९७७ ९८०१ १९३ ९८२
अस्जा हनानो, वेल्थुन्गर्हिहिल्फे नेपाल राष्ट्रिय निर्देशक, +९७७ ९८०८ ०८७ ४७४
ड्यानियल कोयल, पिपुल इन नीड नेपाल राष्ट्रिय निर्देशक, +९७७ ९८२४ १३२ १८१