मधेश २०२५: जलवायुजन्य विपद्, पूर्वसूचना र स्थानीय सक्रियता
प्रकाशित १६ मार्च २०२६ पढ्न लाग्ने समय 10 मिनेट Sdílet: Sdílet článekवर्षौँदेखि मधेश प्रदेशले खडेरी, विनाशकारी बाढी, अत्यधिक गर्मी र शीतलहरजस्ता चरम जलवायुजन्य उतारचढावहरूको सामना गर्दै आएको छ, जसका परिणामहरू प्रायः भयावह हुने गर्दछन्। तर, सन् २०२५ यस्तो वर्ष बन्यो जहाँ स्थानीय सक्रियताले विपद्को प्रभावलाई न्यूनीकरण गर्न सफल भयो। सम्भावित जोखिमका बारेमा समुदायलाई पहिले नै जानकारी हुँदा विपद्को समयमा उनीहरूलाई सुरक्षित राख्न पूर्वतयारी तथा पूर्वकार्य नै मुख्य आधार बन्यो।
लु (अत्यधिक गर्मी)
जुन महिनाको सुरुवातमा नेपालको तराई क्षेत्रमा अत्यधिक गर्मी गराउने तापलहर चल्यो। तापक्रम ३९ डिग्री सेल्सियस पुगेपछि सामान्य दैनिक कामकाज पनि स्वास्थ्यका लागि जोखिमपूर्ण बन्यो। यस्तो जोखिमका बावजुद धेरै परिवारहरूका लागि काम रोक्नु विकल्प थिएन।
"गर्मीले धनी र गरिब भन्दैन," ७५ वर्षीया धनिया पटेल भन्छिन्। "तर गरिबले जस्तोसुकै गर्मीमा पनि काम गरिरहनुपर्छ, यही नै फरक हो।"
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानको निरन्तर निगरानीका आधारमा उन्थानशील, अनुकूलन र समावेशी नेपाल (रेन) कार्यक्रमको कन्सोर्टियमअन्तर्गत कार्यरत हाम्रो पूर्वसूचना तथा पूर्वकार्य टोलीले अत्यधिक गर्मीबाट समुदायमा पर्ने प्रभाव न्यूनीकरण गर्न जुन ८ देखि ११ सम्म लुसम्बन्धी पूर्वकार्य सञ्चालन कार्यविधि कार्यान्वयनमा ल्यायो।
यस अन्तर्गत बाहिरी क्षेत्रमा काम गर्ने श्रमिक, जोखिममा रहेका घरपरिवार र सार्वजनिक स्थलहरूलाई पूर्वसहयोगका लागि पहिचान गरिएको थियो। यसै सिलसिलामा गरिएको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जेड्सी) विश्लेषणले के निष्कर्ष निकाल्यो भने—नवप्रवर्तनीय पूर्वसूचना सन्देशहरू आवश्यक भए तापनि कतिपय समुदायमा प्रविधिको पहुँच रहेको छैन र उनीहरूले परम्परागत व्यक्ति स्वयंले भेटेर सञ्चार गर्ने प्रत्यक्ष सञ्चारमा बढी विश्वास गर्ने गर्दछन्।
तसर्थ, हामीले गौर, सिराहा र जलेश्वरमा घरदैलो कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्यौँ। स्वयंसेविकाहरूले अत्यधिक गर्मीका जोखिमबारे जनचेतना जगाउनुका साथै सुरक्षित रहने व्यावहारिक उपायहरू समुदायका सदस्यहरूलाई बताउनुभयो। उहाँहरूले गर्मीले शरीरमा कस्तो असर गर्छ, जोखिमका प्रारम्भिक लक्षणहरू कसरी पहिचान गर्ने भन्ने कुरासँगै पर्याप्त पानी पिउने, ओतमा बस्ने तथा हल्का लुगा लगाउने जस्ता सामान्य कार्यले कसरी जोखिम कम गर्न सकिन्छ भन्नेबारे जानकारी गराउनुभयो।
"म मानिसहरूलाई पानी पिउन, हल्का कपडा लगाउन र छाता ओढ्न सल्लाह दिन्छु," सिराहाकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सहनाज खातुन भन्छिन्। "धेरैले काम रोक्न नसकिने बताउँछन्, तर कम्तीमा अहिले उनीहरूले जोखिमबारे बुझेका छन्।"
विशेष गरी महिलाहरू अत्यधिक गर्मीमा पनि बहुआयामिक जिम्मेवारीहरू निभाउनुपर्ने भएकाले बढी जोखिममा छन्।
"हामी अझै पनि खाना पकाउने, काम गर्ने र खेतमा जाने सबै गर्छौं," अर्की स्थानीय बासिन्दा फूलझरी देवी भन्छिन्। "तर हामीले प्रयास गरिरहेका छौँ। धेरै पानी पिउँछौँ र टाउको छोप्छौँ। हामी अरू के नै गर्न सक्छौँ र?"
यसका साथै मैथिली र बज्जिका भाषामा प्रसारित रेडियो सन्देशहरूले इन्टरनेट पहुँच नभएका वा साक्षरता कम भएका मानिसहरूमाझ जनचेतना फैलाउन थप मद्दत पुऱ्याएका थिए। एक वृद्ध किसानले पछि रेडियोको सल्लाह आफ्नो "मस्तिष्कमा गढेकाले" आफूले दिउँसोको सट्टा बिहान सबेरै खेतमा जाने गरी आफ्नो दैनिकी परिवर्तन गरेको कुरा सुनाएका थिए।
मात्र सात दिनको अवधिमा ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले १७ हजार ४७० भन्दा बढी मानिसहरूसम्म जानकारी पुऱ्याएका थिए। त्यसै गरी घुम्ती पानी वितरण एकाइहरूमार्फत बजार, विद्यालय, बसपार्क, अस्पताल र सरकारी कार्यालयहरूका १६ हजार ७३८ व्यक्तिहरूसम्म स्वच्छ पानी पुऱ्याएर सहयोग गरिएको थियो। हाम्रो पूर्वकार्य टोलीले अत्यधिक गर्मीको सामना गर्न, मनसुनका लागि पूर्वतयारी गर्न र स्थानीय पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय बैठकहरूसमेत गरेको थियो।
हाम्रो लुसम्बन्धी पूर्वकार्य किन सफल भयो?
• मौसम तथा तापक्रम पूर्वानुमानका आधारमा गरिएको पूर्वकार्यले अत्यधिक गर्मीका दिनहरूमा समुदायलाई समयमै सुरक्षा प्रदान गर्यो।
• पूर्वसूचनाहरू स्थानीय भाषाहरू (मैथिली, बज्जिका) मा अनुवाद गरिएका थिए।
• सन्देशहरू समुदायले विश्वास र भरोसा गर्ने स्वयंसेविकाहरूमार्फत प्रवाह गरिएको थियो।
• दिइएका सल्लाहहरू आदर्श व्यवहारमा भन्दा पनि मानिसहरूले व्यावहारिक रूपमा गर्न सक्ने कार्यहरूमा केन्द्रित थिए।
• मानिसहरूले प्राप्त जानकारीलाई आफ्नो दैनिक यथार्थ र आवश्यकताअनुसार अपनाए।
खडेरी
अत्यधिक गर्मी र मनसुनमा भएको ढिलाइले मधेशको ठूलो हिस्सालाई खडेरीको चपेटामा धकेलेको थियो। ट्युबवेल र डिप बोरिङहरू सुकेका, सिँचाइ प्रणालीहरूले काम नगरेका र कृषि कार्यहरू ठप्प भएका थिए। यी समस्याहरूको संयुक्त प्रभावले दैनिक ज्यालादारी गर्ने श्रमिकहरूलाई सबैभन्दा बढी मारमा पाऱ्यो।
१० जुलाईमा मधेशलाई आधिकारिक रूपमा खडेरी प्रभावित क्षेत्र घोषणा गरियो र २३ जुलाईमा संघीय सरकारले यस सङ्कटलाई विपद् सङ्कटकालको रूपमा घोषणा गर्यो।
हाम्रो खडेरी प्रतिकार्य कार्यक्रमले स्थानीय प्रणालीहरूलाई विस्थापित गर्नुको सट्टा सरकार र अन्य मानवीय सहायता निकायहरूको प्रयासलाई थप सहयोग पुऱ्याउने कुरामा जोड दियो। उदाहरणका लागि, कौडेना गाउँपालिकामा खानेपानीको पहुँच नभएका १ हजार ८९३ व्यक्तिहरूलाई लाभ पुग्ने गरी खानेपानी वितरण पाइपहरू जडान गरियो। साथै, खडेरीका कारण जीविकोपार्जन गुमाएका दैनिक ज्यालादारी श्रमिकहरूका लागि कामका लागि नगद कार्यक्रम सञ्चालन गरियो।
खडेरीको प्रभाव न्यूनीकरण गर्न ३२ वटा समुदायस्तरका प्रकृतिमा आधारित समाधान योजनाहरू कार्यान्वयन गरिएका थिए। यसमा पोखरीको मरम्मत तथा पुनरुत्थान, भिरालो जमिन संरक्षण र जलवायु उत्थानशील गाउँघर पहलहरू मुख्य रहेका छन्। समुदायले पोखरी, सिँचाइ कुलो र महत्त्वपूर्ण जल पूर्वाधारहरूको पुनर्स्थापनामा सहयोग पुऱ्याए। यी पहलहरूले भूमिगत जल पुनर्भरण, पुनर्भरण पोखरी, अग्लो बनाइएका ह्याण्डपम्प, डिप बोरिङ र आकाशे पानी सङ्कलन जस्ता कार्यहरूलाई सहायता गरेको थियो र यी प्रयासहरूले जोखिममा रहेका समुदायहरूको अल्पकालीन उत्थानशील क्षमता र दीर्घकालीन अनुकूलनलाई सुदृढ बनाएको छ।
धेरै महिलाहरूका लागि यस कार्यले एक दुर्लभ उपलब्धि ल्यायो: समान पारिश्रमिकको रूपमा मर्यादित जीवन।
कामका लागि नगद कार्यक्रममा सहभागी एक जना महिला बचिया मुखियाले विगतका कामहरूको तुलनामा यो अनुभव कसरी फरक रह्यो भन्नेबारे आफ्नो धारणा बताउनुभयो।
"यहाँ काम गर्दा मलाई धेरै मद्दत पुगेको छ। पहिले खेत र निर्माण कार्यहरूमा पुरुषसरह काम गर्दा पनि कम ज्याला पाउने समस्या थियो र जीवन जिउन धौ-धौ हुन्थ्यो। तर यहाँ हामीलाई समान पारिश्रमिक दिइन्छ," उहाँले भन्नुभयो।
"यो पोखरी हाम्रो समाजका लागि धेरै महत्त्वपूर्ण छ; हामी यहाँ पूजासमेत गर्छौँ," उहाँले थप्नुभयो। "अहिलेको यो खडेरीको समयमा यसलाई सफा गर्न पाउनु ठूलो सहयोग हो।"
आयआर्जनका अवसरहरू न्यून भएको समयमा प्राप्त यस ज्यालाले महिलाहरूलाई घरखर्च चलाउन र आफ्ना बालबालिकालाई विद्यालय पठाइरहन सहयोग गर्यो। प्रभावित क्षेत्रहरूमा कामका लागि नगद कार्यक्रमले ९४ जना सीमान्तकृत श्रमिकहरूलाई अल्पकालीन आम्दानी प्रदान गरेको थियो। उनीहरूले ५ वटा स्थानीय तहका ७ वटा पोखरी र २ वटा कुलोहरूको सरसफाइमा सहयोग पुर्यायो। यसबाट करिब ३ हजार बिघा खेतीयोग्य जमिनको सिँचाइ प्रणाली पुनर्स्थापना गर्न समेत मद्दत पुग्यो।
अभावले घेरिएको खडेरीको यस समयमा गरिएको यस प्रतिकार्यले के पुष्टि गर्यो भने—खडेरीपछिको पुनर्लाभले जनजीवनमा रहेको खाडल पुर्ने मात्र नभई सामुदायिक सम्पत्तिको सुदृढीकरण, समताको प्रवर्द्धन र समुदायभित्रैबाट उत्थानशील क्षमताको विकाससमेत गर्न सक्छ।
कामका लागि नगद: आत्मसम्मान र समानताको स्रोत• समुदायले दैनिक रूपमा प्रयोग गर्ने आफ्ना पूर्वाधारहरूको आफैँ मर्मत गरे।
• सीप र अपनत्व समुदायभित्रै कायम रह्यो।
• निर्भरता नजगाई समुदायका तत्कालिन आवश्यकताहरू सम्बोधन गरिए।
• र सबैभन्दा महत्त्वपूर्ण पक्ष—आफ्नो परिवारका लागि आफैँ कमाएर जीविकोपार्जन गर्नुको मर्यादापूर्ण जीवन।
कामका लागि नगद कार्यक्रमका अतिरिक्त, १२८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले १७ हजार ४१३ घरपरिवारमा पुगेर सुरक्षित खानेपानी भण्डारण, पानीको मितव्ययी प्रयोग, शुद्धीकरण विधि र सरसफाइका व्यवहारहरूबारे घरदैलो अभियान सञ्चालन गर्नुभयो। उहाँहरूले डेंगु र हैजाजस्ता रोगहरूका साथै सङ्कटको समयमा हुन सक्ने लैङ्गिक हिंसाबाट बच्ने उपायहरूबारे समेत जनचेतना जगाउनुभयो। विपद्पश्चातको अनुगमन प्रतिवेदनअनुसार, स्वयंसेविकाहरूमार्फत गरिएको यस सूचना प्रवाहले ७० प्रतिशतभन्दा बढी घरपरिवारमा सकारात्मक व्यवहार परिवर्तन ल्याई रोगको जोखिम न्यूनीकरण गर्न ठूलो मद्दत पुऱ्याएको देखियो।
बाढी
महिनौँको अत्यधिक गर्मी र खडेरीपछि, अक्टोबर महिनामा मधेशका राजदेवी, राजपुर र कौडेना क्षेत्रमा बाढी आयो। तर, यस वर्ष समयमै प्रवाह गरिएको पूर्वसूचना र जानकारीमा सहज पहुँचका कारण मानवीय क्षति र नकारात्मक प्रभावहरूमा उल्लेख्य कमी आयो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा हामीले तत्काल ह्वाट्सएपमार्फत सामुदायिक विपद् व्यवस्थापन समितिलाई पूर्वसूचना सन्देशहरू पठायौँ र फेसबुक तथा मेसेन्जरमार्फत निरन्तर वास्तविक समयको जानकारी दिइरह्यौँ। बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई ७ हजार ९०० भन्दा बढी इन्टरयाक्टटिभ भ्वाइस रेस्पोन्स कलहरू गरियो भने ३ हजार ४०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूलाई सांकेतिक भाषाको भिडियो उपलब्ध गराइएको थियो। उच्च जोखिममा रहेका स्थानहरूका लागि विशेष सतर्कता सन्देशहरू जारी गरिएका थिए। साथै, द्रुत समन्वय सुनिश्चित गर्न सामुदायिक संस्थाहरू, नागरिक समाज संस्थाहरू र सामुदायिक विपद् व्यवस्थापन समिति सम्मिलित नयाँ ह्वाट्सएप समूहहरू स्थापना गरिए। सामाजिक सञ्जालमार्फत सल्लाहकारी सन्देशहरू व्यापक रूपमा फैलाइयो र प्रमुख सरोकारवाला तथा सामुदायिक विपद् व्यवस्थापन समिति सदस्यहरूलाई विभागको सूचना प्रणालीमा एकीकृत गरी सामूहिक एसएमएस सतर्कता सेवा सक्रिय पारियो।
पूर्वसूचना र स्थानीय नेतृत्वको संयोजनले कसरी ज्यान जोगाउन सक्छ भन्ने कुरामा सामुदायिक विपद् व्यवस्थापन समितिका एक जना सदस्यको सक्रियताले एउटा सशक्त उदाहरण प्रस्तुत गरेको छ। जब राजदेवी नगरपालिका–६ मा बाढीको पूर्वसूचना प्राप्त भयो, रेन कार्यक्रमका स्थानीय तहमा रहेका अधिकृतहरूले उक्त सूचना सिधै सामुदायिक विपद् व्यवस्थापन समितिलाई पठाए। सामुदायिक विपद् व्यवस्थापन समिति सदस्य गुडु मण्डलले तत्कालै परिस्थितिको गम्भीरता बुझ्नुभयो। उहाँले महाभगवती युवा क्लबका आफ्ना साथीहरूलाई परिचालन गर्नुभयो र कोही पनि सूचनाबाट विमुख नहोऊन् भन्ने उद्देश्यले रातभर गाउँमा हिँडेर माइकिङमार्फत स्थानीय बासिन्दाहरूलाई सचेत गराउनुभयो। गाउँलेहरू निदाइरहेका बेला उहाँहरूले जलसतहको निरन्तर र नजिकबाट निगरानी गरिरहनुभयो।
बिहान करिब २:४५ बजे बाँध फुट्न लागेको खबर प्राप्त भयो। लगत्तै गुडु र उहाँका साथीहरू नेपाली सेनालाई सहयोग गर्न घटनास्थल पुग्नुभयो र बालुवाका बोराहरू बोकेर बाँधलाई थप सुदृढ बनाउन सक्रियताका साथ खटिनुभयो। जब बस्ती खाली गर्नु अनिवार्य भयो, तब उहाँहरूले सेनासँग समन्वय गरी विस्थापित परिवारहरूलाई आश्रय दिनका लागि एउटा खाली अस्पताल भवनको पहिचान गर्नुभयो।
आफ्नो व्यक्तिगत खर्चमा गुडुले रित्तो हात घर छाडेर भागेका मानिसहरूका लागि पानी र फलफूलको व्यवस्था गर्नुभयो। पहिलो पूर्वसूचनादेखि तीन दिनको बाढीसम्ममा उहाँले करिब ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सार्न मद्दत गर्नुभयो। आफ्ना २५ जना साथीहरूसँगै मिलेर उहाँले पशुचौपाया सुरक्षित स्थानमा लैजाने, मानिसहरूका महत्त्वपूर्ण सामान टाउकोमा बोक्ने र बाँध बलियो बनाउन बालुवाका बोरा ओसार्ने काम गर्नुभयो। आफ्नो साथमा भएको पैसा सकिँदा र साथीहरू भोकभोकै पर्दासमेत उहाँहरूले आफ्नो कार्य रोक्नुभएन।
पूर्वसूचनालाई जीवन बचाउने सक्रिय कार्यमा परिणत गर्ने मुख्य आधारहरू:• जलसतह उच्च बिन्दुमा पुग्नुअघि नै स्थानीय नेतृत्वसम्म पूर्वसूचना पुग्नु।
• सामुदायिक विपद् व्यवस्थापन समिति आफ्नो भूमिका र अधिकारबारे स्पष्टता हुनु।
• बाह्य सहायताको प्रतीक्षा नगरी युवा समूहहरू स्वतःस्फूर्त रूपमा परिचालन हुनु।
• सुरक्षित निकासी मार्ग र आश्रयस्थल छनौटका लागि स्थानीय ज्ञानको प्रयोग गरिनु।
प्रभावित परिवारहरूलाई सहयोग गर्न हामीले स्थानीय सरकार, वडा र सामुदायिक स्वयंसेवकहरूसँग निकट समन्वय गरी अत्यावश्यक सामग्रीहरू वितरण गर्यौँ। रौतहट र सर्लाहीका कुल १ हजार घरपरिवारले गैरखाद्य राहत सामग्रीहरूको समूहका साथै मर्यादित तथा स्वच्छता सामग्री प्राप्त गरे।
पूर्वकार्यलाई सुदृढ पार्न र विगतका आपतकालीन समयमा देखिएका पहुँचयुक्ततासम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न हामीले सिराहा नगरपालिका (वडा ५ र ६), कमला नगरपालिका (वडा ४), बलवा नगरपालिका (वडा ४) र राजदेवी नगरपालिका (वडा ८) लगायतका स्थानीय तहमा समावेशी आश्रयस्थलहरूको पुनर्स्थापना तथा निर्माण गरिरहेका छौँ। अन्तर्राष्ट्रिय पहुँचयुक्तता मापदण्ड र भूकम्पप्रतिरोधी संरचनामा निर्माण गरिएका यी सबै आश्रयस्थलमा अपाङ्गता भएका व्यक्तिहरूका लागि र्याम्प र अपाङ्गतामैत्री शौचालयहरूको व्यवस्था गरिएको छ। यी भवनहरूमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै हलहरू हुनुका साथै महिला कक्षमा स्तनपानका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ। साथै, महिलाहरूको गोपनीयता र मर्यादालाई ध्यानमा राख्दै शौचालयसम्म पुग्नका लागि भवनभित्रैबाट छुट्टै पहुँच मार्गको समेत सुनिश्चितता गरिएको छ। यी प्रयासहरूले पूर्वसूचना प्राप्त हुनासाथ सबैका लागि सुरक्षित, पहुँचयोग्य र समावेशी आश्रयस्थल सुनिश्चित गर्दछन्।
शीतलहर
मनसुन सकिएसँगै तराई क्षेत्रमा तीव्र शीतलहर चल्न थाल्यो। हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुरूप समयमै शीतलहर पूर्वकार्य कार्यान्वयन गर्न हाम्रो पूर्वकार्य कोष परिचालन गर्यौँ।
हामीले दलित तथा सुकुम्बासी घरपरिवार, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहहरूलाई सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्यौँ।
मधेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा कुल १ हजार १०० थान जाडोका राहत सामग्री वितरण गरियो। ती सामग्रीअन्तर्गत कम्बल, ऊनी टोपी, पछ्यौरा र पाँच वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकहरूका लागि ताता लुगाहरू रहेका थिए। यी समूहहरूलाई प्राथमिकतामा राखेर हामीले समुदायलाई अत्यधिक चिसोको कठोर प्रभावबाट जोगाउन मद्दत पुर्यायौँ।
सन् २०२५ मा मधेशमा भएका यी अनुभवहरूले पूर्वसूचना र त्योभन्दा पनि महत्त्वपूर्ण पूर्वकार्यको आवश्यकतालाई स्पष्ट रूपमा प्रमाणित गरेका छन्। यी सबै सङ्कटहरूका दौरान जोखिम न्यूनीकरण र जनधनको सुरक्षामा स्थानीय नेतृत्व र सामुदायिक प्रतिकार्यको भूमिका स्पष्ट देखिएको छ। जब पूर्वसूचनाहरूलाई समुदायस्तरमा सही ढङ्गले बुझिन्छ, विश्वास गरिन्छ र सोही अनुसार कार्य गरिन्छ, तब त्यसको सकारात्मक प्रभाव निकै ठूलो हुन्छ।
उत्थानशील, अनुकूलन र समावेशी नेपाल (रेन) कार्यक्रम युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोगमा सञ्चालित छ। यसको नेतृत्व पिपुल इन निड नेपालले गरेको छ भने ड्यान चर्च एड (डीसीए) नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लीबर्ड), युथ इनोभेसन ल्याब, प्रेरणा, रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर र युके मेट अफिसको सहनेतृत्व तथा साझेदारी रहेको छ। यस परियोजनाले विपद् आउनुपूर्व नै सामुदायिक पूर्वतयारी र सक्रियता बढाएर स्थानीय उत्थानशील क्षमतालाई सुदृढ बनाउने कुरामा जोड दिन्छ। स्थानीय सरकार, समुदाय र जल तथा मौसम विज्ञान विभागसँगको निकट समन्वयमा सञ्चालित यी पहलहरूले पूर्वसूचना प्रणालीलाई व्यावहारिक धरातलमा कार्यान्वयन गर्दछन्। यसमा दीर्घकालीन दिगोपनका लागि प्रकृतिमा आधारित समाधानहरू, सामुदायिक साइरन जडान, बाढी मापन प्रणाली, जनचेतनाका लागि भित्ते चित्रकला, समावेशी जोखिम सञ्चार, र सबैभन्दा जोखिममा रहेका समूहहरूको पहुँचमा रहने गरी बनाइएका सुरक्षित आश्रयस्थलहरू समेटिएका छन्। समग्रमा, यी प्रयासहरूले के प्रमाणित गर्छन् भने उत्थानशीलता विपद्को समयमा होइन, बरु विपद् सुरु हुनुभन्दा धेरै अघिदेखि नै निरन्तर रूपमा गरिने स्थानीय नेतृत्वको सक्रियता र कार्यबाट निर्माण हुन्छ।