पूर्वानुमानमा आधारित पूर्वकार्य : मौसम पूर्वानुमान र सामुदायिक सहभागिताले बाह्रबिसेमा कसरी जोगायो मानिसहरूको ज्यान

प्रकाशित १२ फेब्रुअरी २०२५ पढ्न लाग्ने समय 5 मिनेट

"चारैतिरबाट पहिरोको निरन्तर जोखिम भएकाले म ढुक्कले निदाउन नै सक्दिनथेँ," ६१ वर्षीया बालकुमारी देउजाले आफ्नो पीडा सुनाउनुभयो। पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने बासिन्दा हरेक दिन विपद् आइहाल्यो कि भन्ने डरले झस्किनु एउटा यथार्थ बनेको छ। घरको छानामा बजारिने मुसलधारे वर्षाको गर्जन एउटा आवाज मात्र नभई त्यो उनीहरूका लागि कुनै पनि क्षण त्यहाँको जमिन भासिन सक्छ भन्ने चेतावनी पनि हो। तर, खतरा आउनु अगावै त्यसको जानकारी पाउने कुनै उपाय भएको भए, पूर्वसुरक्षा अपनाउन कति सहयोग पुग्थ्यो होला। पूर्वानुमानमा आधारित पूर्वकार्यले ठ्याक्कै यही काम गर्छ - यसले मौसम पूर्वानुमानको प्रयोग गरी विपद् आउनुपूर्व नै आवश्यक कार्यका लागि समुदायलाई अभिप्रेरित गर्दछ।

Photos of the EU funded Pratibaddha III project taken at Jajarkot.
© Foto: सजना श्रेष्ठ

सन् २०२२ देखि नै हामीले युरोपेली संघको सहयोगमा सञ्चालित प्रतिबद्ध परियोजनामार्फत हाम्रा साझेदारहरू—सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, स्कट विल्सन नेपाल, सेभ द चिल्ड्रेन नेपाल, नेपाल सरकार, समुदाय र विज्ञहरूसँग सहकार्य गरी पहिरोका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य प्रणाली विकास गरिरहेका छौँ। हाम्रो यो पद्धतिले जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने मौसमी परिदृश्यदेखि वास्तविक समयको मौसमी जानकारीको उपयोग गर्दछ र यसले जोखिममा रहेका व्यक्तिहरूलाई समयमै आवश्यक पूर्वकार्यका लागि अवसर प्रदान गर्दछ। पूर्वानुमान एउटा आवश्यक पक्ष भए तापनि यो मात्र पर्याप्त हुँदैन—यसमा समुदायको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ।

नेपालमा मानव बस्तीहरूलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ : श्रेणी १ (न्यून जोखिम), श्रेणी २ (मध्यम जोखिम), र श्रेणी ३ (उच्च जोखिम)। यी श्रेणीहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहिरो प्रभावित बस्तीहरूको स्थलगत अध्ययनसम्बन्धी प्राविधिक निर्देशिकाअनुसार गरिएको भू-प्रकोप मूल्याङ्कनमा आधारित छन्। मुसलधारे वर्षा नै पहिरो निम्त्याउने मुख्य कारक हो। तर, विपद् कहिले र कहाँ जान्छ भनेर ठ्याक्कै पूर्वानुमान गर्न कठिन हुने भएकाले पूर्वानुमानमा आधारित पूर्वकार्यले स्थानीय ज्ञान र नियमित अनुगमनलाई एकीकृत गरी निर्णय प्रक्रियालाई थप सुदृढ बनाउन सहयोग गर्दछ।

सतर्क समुदाय : पूर्वानुमानमा आधारित पूर्वकार्यले सिरिसे बस्तीलाई कसरी जोगायो?

सन् २०२३ को अगस्ट महिना बाह्रबिसेको जोखिम श्रेणी २ मा पर्ने सिरिसे बस्तीका बासिन्दाका लागि निकै चुनौतीपूर्ण थियो। केही दिनको अन्तरालमै उनीहरूले दुईवटा विनाशकारी पहिरोको सामना गर्नुपर्‍यो। तर, पूर्वानुमानमा आधारित पूर्वकार्य प्रणालीका कारण उनीहरू पहिले नै पूर्वतयारीमा थिए।

सोही दिन विभागले बागमती प्रदेशमा आगामी तीन दिनसम्म मुसलधारे वर्षा हुने भविष्यवाणी गर्दै विशेष बुलेटिन निकालेको थियो। लगत्तै, प्रभावमा आधारित पूर्वसूचना प्रणालीले जोखिमको अङ्क ६ देखाएको थियो - जसको अर्थ बाह्रबिसेमा गम्भीर प्रभाव पर्नसक्ने अवस्था थियो। यस सूचनालाई आधार मानी बाह्रबिसे नगरपालिकाले समुदायलाई सुरक्षित र सतर्क रहन भन्दै एसएमएस सन्देश पठाएको थियो।

त्यसको दुई दिनपछि, अगस्ट १३ मा पहिलो पहिरो गयो र त्यसका कारण चार परिवार विस्थापित हुनुपर्‍यो। यो ठूलो विपद् नभए पनि यसले थप खतराको सङ्केत गरेको थियो। त्यसपछि, अगस्ट १६ मा दोस्रो र निकै ठूलो पहिरो खस्यो। त्यसले थुप्रै घरहरू बगाउनुका साथै थप १० परिवारलाई विस्थापित बनायो। खुसीको कुरा, पूर्वसूचना र समुदायको सक्रिय निगरानीका कारण कुनै पनि मानवीय क्षति हुन पाएन।

अगस्ट १६ को ठूलो पहिरो जानु ठिक अगाडि सामुदायिक विपद् व्यवस्थापन समितिका एक सदस्यले सिरिसेमा ढुङ्गाहरू खसिरहेको देख्नुभयो। उहाँहरूको तत्परता - समुदायलाई सतर्क गराउने र स्थानीय अधिकारीहरूसँग समन्वय गर्ने कार्यले - परिवारहरूलाई समयमै सुरक्षित स्थानमा सार्न ठूलो मद्दत पुर्‍यायो।

सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा पूर्वसूचना कार्यदलका प्रतिनिधि ३५ वर्षीय देबक बस्नेत आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ : "मलाई त्यो दिन अझै झल्झल्ती सम्झना छ। सन् २०२३ अगस्ट १६ मा सिरिसेमा पहिरो जानु ठीक १० मिनेट अगाडि मैले फोनमार्फत स्थानीय बासिन्दाहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरिरहेको थिएँ। अगस्ट १३ मा माथिल्लो सिरिसेमा पहिरो गएपछि मलाई त्यसपछि अब कस्तो जोखिम उत्पन्न हुने हो भन्नेबारे निकै चिन्ता लागेको थियो। हाम्रो विपद् जोखिम न्यूनीकरण सम्पर्क व्यक्ति र नगरपालिकाका अन्य अधिकारीहरूसँग एउटा समझदारी भएको थियो—हामीले जल तथा मौसम विज्ञान विभागबाट २४ घण्टे सतर्कता पूर्वसूचना पाएको एक घण्टाभित्रै जोखिममा रहेका समुदायसँग भेटेर पूर्वतयारीबारे छलफल गर्नुपर्ने हुन्थ्यो। तर यस पटक भने अघिल्लो दिन वर्षा नभए पनि पहिरो गयो। यसले के पाठ सिकायो भने, हामीले नसोचेको समयमा पनि विपद् आउन सक्छ र हामी सधैँ तयारी अवस्थामा रहनुपर्छ।"

मानिसहरूलाई सुरक्षित स्थानमा सार्न, अस्थायी आश्रयस्थलहरू स्थापना गर्न र परिवारहरूलाई आफ्ना सरसामान सार्न मद्दत पुर्‍याउन नगरपालिकाले समन्वयकारी भूमिका खेल्यो। नजिकैका जोखिमयुक्त बस्तीहरूमा सार्वजनिक सूचनाहरू पनि जारी गरिएको थियो र त्यसले अन्य समुदायहरूलाई पनि जोखिमप्रति सचेत भई आवश्यक पर्दा प्रतिकार्यका लागि तयार रहन सहयोग पुगेको थियो।

पूर्वानुमानमा आधारित पूर्वकार्यले ल्याएको परिवर्तन

१. जोखिमको सञ्चार

  • जल तथा मौसम विज्ञान विभागले समयमै मौसम चेतावनीहरू जारी गर्‍यो र त्यसलाई बाह्रबिसे आइबिएफ (प्रभावमा आधारित पूर्वसूचना) भाइबर ग्रुपमार्फत प्रवाह गरिएको थियो। 
  • नगरपालिकाले जोखिममा रहेका समुदायहरूलाई एसएमएसमार्फत चेतावनी सन्देश पठाई सूचनाको पहुँच सुनिश्चित गर्‍यो। 
  • पूर्वानुमानित तथ्याङ्क र पूर्वकार्य योजनाका आधारमा सबैले बुझ्ने गरी स्पष्ट र कार्यान्वयनयोग्य सुझावहरू (एडभाइजरी) तयार गरियो।

२. जोखिमको अनुगमन

  • पहिलो पटक गएको पहिरोले सामुदायिक सचेतना बढायो र मानिसहरू थप सतर्क बने। 
  • सामुदायिक विपद् व्यवस्थापन समितिले चेतावनीका सङ्केतहरू (जस्तै : ढुङ्गा खस्ने) पहिचान गर्न र आफ्नो सञ्जालमार्फत जोखिमको जानकारी तुरुन्तै प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्यो। 
  • निरन्तरको निगरानीले पहिरो जानुअगावै देखिने वातावरणीय सङ्केतहरू पत्ता लगाउन मद्दत गर्‍यो र स्थानीय बासिन्दाहरूले आवश्यक पूर्वकार्यका लागि पर्याप्त समय पाए।

३. सुरक्षित स्थानान्तरण

  • विपद् आउनुअगावै जोखिममा रहेका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियो। 
  • नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्दै सुरक्षित स्थानान्तरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन नेतृत्व लियो।

४. सचेतना अभिवृद्धि

  • सार्वजनिक सूचना र मौसमसम्बन्धी सुझावहरूले स्थानीय बासिन्दालाई जोखिम बुझ्न र पूर्वसावधानी अपनाउन मद्दत पुर्‍यायो। 
  • एकपछि अर्को गर्दै गएका पहिरोहरूले पूर्वतयारीको महत्वलाई थप उजागर गरे र यसले सिरिसेका बासिन्दाहरूलाई भावी मनसुनहरूका लागि थप उत्थानशील बनाएको छ।

बाह्रबिसेबाट प्राप्त पाठ: पूर्वतयारीको शक्ति

सिरिसेको अनुभवले पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य किन अपरिहार्य छ भन्ने कुरा उजागर गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान, स्थानीय सरकारको सहभागिता र समुदायको सशक्तीकरणका माध्यमबाट पूर्वानुमानमा आधारित पूर्वकार्यले धेरैको ज्यान जोगाउन र क्षति न्यूनीकरण गर्न सफल भयो। सन् २०२३ अगस्टको यस समन्वयात्मक प्रयासले पूर्वसूचना, जोखिमको प्रभावकारी सञ्चार र समुदायकेन्द्रित निगरानीको शक्तिलाई प्रमाणित गरिदिएको छ।

जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरूको आवृत्ति र तीव्रता बढ्दै गएको अवस्थामा, विपद् पूर्व तयारी पहिलेभन्दा अहिले झन् बढी महत्वपूर्ण भएको छ। बाह्रबिसेमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सफलताले जब वैज्ञानिक पूर्वानुमानलाई स्थानीय ज्ञान र द्रुत प्रतिकार्यसँग जोडिन्छ, तब समुदायहरू सुरक्षित रहने सम्भावना धेरै गुणा बढेर जान्छ भन्ने कुराको पुष्टि गरेको छ।

हामीले पश्चिम नेपालमा प्रतिबद्ध-३ परियोजना अगाडि बढाइरहँदा यस्ता जीवनरक्षक प्रणालीहरूलाई अझ सुदृढ बनाउन जारी राखौँ - किनभने पूर्वतयारीले क्षति र सुरक्षाबीचको प्रभावलाई बढाउन सहयोग गर्न सक्छ।

Author: प्रकाश खड्का - पूर्व सूचना तथा पूर्व तयारी प्रमुख अनुज तिवारी - प्रभाव पूर्वानुमान कर्ता, संयोजक, पिपुल इन नीड

सम्बन्धित लेखहरू