अमिनाको साक्षरतातर्फको अग्रसरता

प्रकाशित १५ फेब्रुअरी २०२४ पढ्न लाग्ने समय 4 मिनेट
अमिनाको साक्षरतातर्फको अग्रसरता
© Foto: पिपुल इन नीडका लागी अनियन फिल्मस्

“मेरो नाम अमिना खातुन हो,” मुस्कुराउँदै उनले आफ्नो परिचय दिइन् । 

दुई छोरा र दुई छोरीकी आमा अमिनाको परिवारमा जम्मा छ जना छन् । उनी रौतहट निवासी हुन् । उनी कसरी सानै उमेरमा आफ्नो मगनी भयो भनी बताउँछिन् । उनी केही सेकेन्डका लागि चुप लाग्छिन् र त्यसपछि हाँस्दै त्यसबेला मगनी भनेको के हो भन्ने आफूलाई थाहा पनि नभएको बताउँछिन् । उनी भन्छिन्, “मगनी भएको धेरै वर्षपछि मेरो विवाह भयो । त्योबेला म २० वर्षकी थिएँ ।”

विगतमा कागजपत्रमा औँठाछाप लगाउने अमिना अहिले आफ्नै नाम लेखेर हस्ताक्षर गर्न सक्ने भएकी छिन् । बैँक तथा वित्तीय संस्थाहरूका लागि चाहिने कागजातमा पनि उनी हस्ताक्षर गर्न सक्छिन् । उनी आफूले सानो उमेरमा पढ्न नपाएको दुखेसो पोख्छिन् । उनी भन्छिन्, “पहिले म अनपढ थिएँ, अहिले पढ्न लेख्न सक्ने भएकी छु ।”

सामुदायिक सिकाइ केन्द्रको रूपमा गाउँमा आएको विशेष सिकाइ केन्द्रले खेलेको भूमिकालाई उनी सराहना गर्छिन्, जसले उनलाई पढ्न लेख्न सिकायो, आफ्नै हस्ताक्षर गर्न र सामान्य हरहिसाब गर्न सक्ने बनायो । यो सिकाइ केन्द्र युके एडको आर्थिक सहयोगमा सञ्चालित आरम्भ परियोजना अन्तर्गत स्थापना गरिएको थियो । यो आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिसँग साझेदारी गरी पिपुल इन नीडले अघि बढाएको परियोजना हो ।

“मेरा छोराछोरीलाई यो सिकाइ केन्द्रमा पठाउन थालेपछि मैले पनि पढ्न र लेख्न सिकेँ,” उनी भन्छिन् । मुस्लिम समुदाय आफैमा पिछडिएको समुदाय रहेको र यस समुदायमा आमाबुबाले छोराछोरीको शिक्षालाई त्यति गम्भीरतापूर्वक लिने नगरेको उनी बताउँछिन् । गाउँमा यो सिकाइ केन्द्र आउनुभन्दा पहिले बच्चाहरूलाई विद्यालय भर्ना गर्ने चलन थिएन । परिवारमा छोराछोरीलाई शिक्षा दिन सक्ने मध्यम आर्थिक अवस्था हुँदापनि छिमेकमा कुनै राम्रो विद्यालय नभएको अमिना बताउँछिन् । यसले गर्दा आमाबुबाले छोराछोरीलाई मदरसामा नै पढ्न पठाउनुपर्ने बाध्यता थियो; तर मदरसामा शिक्षक नियमित नआउने समस्या थियो ।

अमिना यस सिकाइ केन्द्रअन्तर्गत सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन समितिको अध्यक्ष पनि भएकी छिन् । समितिमा नौ जना सदस्य छन् । समितिको बैठकमा मुख्य गरी सरसफाइ गर्ने, सरसफाइबारे जानकारी आदानप्रदान गर्ने, समुदायलाई सफा राख्ने, शिक्षामा पहुँच बढाउने र समुदायका प्रत्येक व्यक्ति र घरको सुरक्षा सुनिश्चित गर्ने जस्ता कुरामा गहन छलफल र अन्तरक्रिया हुने गर्दछ ।

व्यवस्थापन समितिमा सिकाइ केन्द्रमा आफैपनि पढिरहेका आमाबुबा, महिला स्वयंसेवक र किशोरीहरू सदस्य रहेका छन् । यसबाहेक, समितिका क्रियाकलापहरूमा सहजीकरण गर्नका लागि समितिमा एक जना सहजकर्ता पनि छन् । यसरी, समितिमा विविध क्षेत्रको प्रतिनिधित्व भई पूर्ण समिति बनेको छ ।

आफ्ना छोरीहरूमा विशेष सिकाइ केन्द्रले पारेको सकारात्मक प्रभावहरूबारे अमिना गर्वसाथ बताउँछिन् । आफ्ना छोरीहरूको लेख्ने, पढ्ने र बुझ्ने क्षमतामा सुधार आएको उनको भनाइ छ । उनले भर्खरै पाएको साक्षरताको ज्ञानले उनको जीवनमा बदलाव ल्याएको छ । उनी बैँक लगायत अन्य संघसंस्थाका लागि चाहिने आधिकारिक कागजातमा औँठाछाप लगाउने व्यक्तिबाट आफ्नो नाम र हस्ताक्षर गर्नसक्ने व्यक्तिमा रूपान्तरण भएकी छिन् । “जब मेरा छोरीहरू यो सिकाइ केन्द्रमा भर्ना भए, म पनि उनीहरूसँगै यहाँ आएर पढ्न थालेँ । उनीहरूले पढेका कुरा म ध्यान दिएर सुन्थेँ । मेरा छोरीहरूले पनि मलाई पढ्न लेख्न सिकाए । वास्तवमा गरिब मानिस र हाम्रोजस्तो गरिब समुदायका लागि यो एउटा प्रेरक कथा हो ।” पढ्न लेख्न सिकेपछि उनले एउटा पसल खोलिन् । उनी पसलको सबै हिसाबकिताब राख्छिन् । “म पसलमा भएका सामानहरूको दाम बताउन, लिन र फिर्ता गर्नुपर्ने बाँकी पैसा सजिलै फिर्ता गर्न सक्छु । यो मेरो जीवनको एउटा ठूलो सफलता हो ।”

अमिनाले सानी छोरीलाई जाहाँसम्म पढ्न चाहन्छिन् पढाउने, उनको पढाइमा हस्तक्षेप नगर्ने, र विवाहका लागि पनि हतार नगर्ने बताउँछिन् । अर्की जेठी छोरी १९ वर्षकी छिन् र उनको मगनी भइसकेकोले जीविकोपार्जनकसम्बन्धी सीपहरू सिक्न प्रोत्साहित गर्ने अमिना वाचा गर्छिन् ।

“मैले ठूलो उमेरमा पढ्न सुरु गरेँ, अहिले म ४० वर्षकी छु । गाउँमा प्रौढ शिक्षा कार्यक्रम आएमा म अझैपनि पढ्न जानेछु । शिक्षित महिला आत्मनिर्भर हुन्छन् भन्ने कुरा मैले बुझेकी छु । शिक्षित महिलाले घरायसी कामकाज राम्रोसँग व्यवस्थापन गर्न सक्छन् र गाउँमा पनि उनीहरूको कदर हुन्छ ।”

“मेरो श्रीमान दर्जी हुनुहुन्छ; उहाँले आधारभूत शिक्षा समेत पाउनुभएको छैन, तर आफ्नो काममा आवश्यक पर्ने सामान्य हरहिसाब गर्न जान्नुहुन्छ । म पढ्न लेख्न सक्ने भएको देखेर उहाँ धेरै खुशी हुनुहुन्छ । कहिलेकाहीँ उहाँले गाउँमा यो कार्यक्रम नआएको भए तिमी जीवनभर निरक्षर नै रहनेथियौ होला भन्ने गर्नुहुन्छ । हाम्रा छोरीहरूले पनि शिक्षा लिन सक्ने थिएनन् । यस सिकाइ केन्द्रले गाउँका धेरै बालिकाको हित गरेको छ । मेरो परिवारलाई त झन् धेरै लाभ पुगेको छ । हामी भाग्यमानी हौँ । धन्य, यो जीवनमा हामी पढ्न लेख्न सक्ने भयौँ ।” 


Autor: पिपुल इन नीडका लागी अनियन फिल्मस्

सम्बन्धित लेखहरू