घुम्टोभन्दा बाहिर

प्रकाशित १५ फेब्रुअरी २०२४ पढ्न लाग्ने समय 4 मिनेट
घुम्टोभन्दा बाहिर
© Foto: पिपुल इन नीडका लागी अनियन फिल्मस्

“एउटी महिलालाई समाजमा नाम कमाउन पटक्कै सजिलो छैन; हाम्रो समाजले यसको अनुमति दिँदैन; परिवारले सहयोग गरे पनि, समाजले गर्दैन ।”    

हाम्रो कुराकानीको सुरुवातमा रेनुले भनेको यी शब्दहरू धेरै पछिसम्म पनि हाम्रो मनमा रहिरहे । वास्तवमा भन्ने हो भने तराईमूलका समुदायका महिलाहरूले अन्य समुदायका महिलाका तुलनामा धेरै सङ्घर्ष भोगिरहेको देखिन्छ । तथापि, यो वास्तविकता नेपालका सबै महिलामा लागू हुन्छ — कुनै ठाउँमा यस्ता सङ्घर्ष धेरै होलान्, कुनै ठाउँमा थोरै होलान्, तरपनि सङ्घर्ष सबैतिर रहेको छ । सङ्घर्षको मात्रा फरक हुन सक्छ, अनि सङ्घर्षका परिस्थिति र कथा पनि । तर सबै कथाहरू सारभूत रूपमा उस्तै छन् । यी सबै कुराका बीचमा रेनुजस्ता हिरोहरू सामाज परिवर्तनका लागि खडा हुन्छन्, परिवार र समाजलाई जागरुक बनाउँछन् र आफूजस्ता धेरैलाई प्रेरित गर्दछन् ।

२७ वर्षीया रेनु कुशवाहा रौतहट जिल्लास्थित उनको गाउँमा आशाकी किरण हुन् । उनले गाउँका छोरीहरूले शिक्षा पाउनुपर्छ, उनीहरू आफ्नो प्रजनन स्वास्थ्य र महिनावारीबारे सोधपुछ र छलफल गर्न सक्ने हुनुपर्छ र समुदायमा हुने बालविवाहलाई निरुत्साहित गरिनुपर्छ भनेर निरन्तर पैरवी गर्दै आएकी छिन् ।

रेनु अहिले “आरम्भ—कुनै पनि बालिकालाई पछि नछोडौँ” नामक परियोजना अन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समितिमा सामाजिक परिचालकको रूपमा काम गरिरहेकी छिन् । युके एडको गल्र्स एजुकेसन च्यालेन्ज कार्यक्रमको सहयोग प्राप्त यस परियोजनालाई आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिसँग साझेदारी गरी पिपुल इन नीडले अगुवाइ गरेको छ । सुरुमा उनले परियोजना सहजकर्ता भएर काम सुरु गरिन्, त्यसपछि बढुवा भएर सामाजिक परिचालक बनिन् । उनी आफै पनि बालविवाहको भुक्तभोगी महिला हुन् ।

“मेरो विवाह १७ वर्षको उमेरमा भएको हो । त्यसबेला म प्रवीणता प्रमाणपत्र तहमा पढ्दै थिएँ । मेरो बुबा मलाई अझै पढाउन चाहनुहुन्थ्यो, तर हजुरबुबाले मान्नुभएन ।” रेनुले आफ्नो विगतका दिनहरू सम्झिइन् । १७ वर्षकै उमेरमै विवाह गरेर जाँदा कस्तो हुन्छ भनेर हामी बुझ्न सक्थ्यौँ । तर रेनुका लागि यो केही फरक थियो । “मलाई आफ्नो पढाइ पूरा गर्नु थियो, तर विवाह भएको एक वर्षभित्रै पेटमा बच्चा बस्यो । मैले जसोतसो दोस्रो वर्षको परीक्षा दिएँ, र बच्चा पनि पाएँ । त्यसपछि त जीवन ठप्प जस्तै भयो । बच्चा स्याहार्नु, घरधन्धा गर्नु र परिवारको ख्याल राख्नु मेरो दिनचर्या बन्यो । यो नै मेरो अहिलेको संसार थियो ।” उनी बोल्न रोकिइन् । उनको गाला हुँदै आँसुका थोपा खस्न थाले ।

निकैबेरको चुप्पीपछि रेनु फेरि सम्हाल्लिएर बोल्न थालिन् । “घरमा, जतिबेला पनि घुम्टोले छेलिएर रहनुपथ्र्यो । कसैसँग बोल्न पाइँदैनथ्यो, पुरुषसँग त बोल्नै हुँदैनथ्यो । हाम्रा् समाजमा महिलाको स्थान घरभित्र र घुम्टोपछाडि हुन्छ । कतिपयले त योभन्दा बाहिरको कल्पना नै गर्न सक्दैनन्,” रेनुले भनिन् । रेनुले भनेका यी कुरा हामीले त्यस गाउँमा टहलिँदै गर्दा अवलोकन गरेका दृश्यहरूसँग मेल खाएका थिए । रेनुसँग कुरा गर्नुअघि केही समय हामी गाउँ घुमेका थियौँ । गाउँमा कुनै पनि विवाहित महिलाले घुम्टो उघारेर काम गरेको वा बोलेको देखेका थिएनौँ । तर हाम्रो अगाडि हामीसँग कुरा गरिरहेकी रेनु सारीको घुम्टोभित्र थिइनन्, उनी कुर्था सुरुवालमा थिइन् । रेनु अहिले जुन समाजमा थिइन्, त्यस समाजमा यो कि त एउटा ठूलो हिम्मत थियो वा समाजप्रति ठूलो प्रतिरोध, वा भनौँ यो एउटा ठूलो परिवर्तन थियो !

“मेरो बुबाले सधैँ मलाई पढ्न प्रेरित गर्नुभयो । मेरो श्रीमानले पनि सधैँ मलाई साथ दिनुभयो । ससुराले पनि मेरो साथ दिनुभयो, तर सासु यसमा सहमत हुनुहुन्नथ्यो । छोराछोरी अलिक ठूला भएपछि मेरो दाजुले बी.ए. तहको शिक्षा विषयमा मेरो भर्ना गरिदिनुभयो । बिस्तारै, मेरी सासुले पनि यसलाई स्वीकार्नु भयो ।”

रेनुको पढाइलाई समर्थन गर्नु उनको परिवारको साहसिक कदम थियो । यसले रेनुलाई प्रत्यक्ष प्रभाव पा¥यो । “हाम्रो समाज धेरै नकारात्मक छ । कसैसँग कुरा ग¥यो कि बिग्रियो भनिहाल्छन् । अहिले कलेज जानका लागि मैले घुम्टो छोड्नु थियो । मैले त्यस्तै गरेँ र अनि मेरो बारेमा नानाथरि कुरा हुन थाले । तर मैले कुनै वास्ता गरिनँ । मेरो श्रीमानले मलाई विश्वास गर्नुहुन्छ । यसैबीच, एउटा परियोजनामा सहजकर्ता पदको आवेदन खुल्यो र मैले त्यसमा आवेदन गरेँ । म छानिएँ । त्यसपछि मैले कामसँग पढाइलाई अघि बढाएँ ।”

सहजकर्ता भएर काम गर्न थालेपछि रेनुले समाजलाई गहिराइबाट बुझ्न थालिन् । उनी गाउँका बालिका र तिनका परिवारसँग धेरैभन्दा धेरै जोडिन थालिन् । समाजमा उनको प्रतिष्ठा बढ्दै गयो । यससँगै उनी आर्थिक रूपमा पनि आत्मनिर्भर भइन् । “सहजकर्ता भएर काम गर्दा मैले पैसा कमाएँ र केही पैसा ससुरालाई दिन चाहेँ । तर उहाँले लिन मान्नुभएन । उहाँले आफैसँग राख भन्नुभयो । पछि मेरो देवरको खुट्टा भाँचियो । मैले जम्मा गरेको पैसा उनको उपचारका लागि प्रयोग गरेँ ।”

सहजकर्ता भएर काम गर्न थालेपछि उनी यो क्षेत्रमा झन आत्मविश्वासी हुन पुगिन् । विद्यालय, स्थानीय तह र स्थानीय संस्थाहरूमा सबैले उनलाई चिन्न थाले । उनलाई पहिले गाली गर्नेहरूले अब उनलाई आदर गर्न थालेका छन् । उनी आत्मनिर्भर बनेकी छिन् र सबैले उनलाई म्याम भनेर बोलाउँछन् । “ठूला संस्थाहरूमा पनि त्यहाँमा मानिसले अहिले मलाई म्याम भनेर बोलाउँछन् र चिया खाउँ भन्छन् । मलाई निकै खुशी लाख्छ । तर मेरो श्रीमानले मलाई साथ नदिएको भए म अझै पनि घुम्टोभित्र नै हुनेथिएँ...।”

“एउटा मान्छेको साथले जिन्दगीमा धेरै बदलाव ल्याउँछ...।”


Autor: पिपुल इन नीडका लागी अनियन फिल्मस्

सम्बन्धित लेखहरू