शबनमको यात्राः उज्यालो भविष्यको लागि शिक्षा
प्रकाशित १० अक्टोबर २०२३ पढ्न लाग्ने समय 4 मिनेट“मेरो आमा–बुवालाई शिक्षाको महत्वबारे धेरै चेतना थिएन, जसको कारण मलाई पढ्ने इच्छा हुँदाहुँदै पनि घरको जिम्मेवारीहरू सम्हाल्न विद्यालयको पढाई बिचमै छोड्नु पर्यो । तर शिक्षा नै मेरो र मेरो परिवारको उज्ज्वल भविष्यको कुञ्जी हो भन्ने मलाई थाहा थियो” — शबनम खातुन ।
बुवा इस्माइल मियाँ अन्सारी, आमा र चार भाइबहिनी साथ बारा जिल्लामा बसोबास गर्ने शबनमको सफलताको यात्रा त्यति सहज थिएन । समुदायभित्रको धार्मिक, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताका कारण पनि उनको परिवारले छोरीलाई पढाउनभन्दा पनि घरायसी कामकाज सिकाउनमा जोड दिन्थे र छिटै विवाह गरिदिन चाहन्थे । जसकारण उनी प्रायः जसो घरायसी कामकाजमै र कहिलेकाहीँ आफ्नो बुवाआमालाई आर्थिक रूपमा सहयोग गर्नका निम्ति ज्याला– मजदूरीको काममा पनि संलग्न हुने गर्थिन् । मनमा पढ्ने इच्छा हुँदाहुँदै पनि उनले विद्यालय जान पाइनन् ।
उनले बाल्यकाल देखिनै विभिन्न सामाजिक मान्यता र आर्थिक बाधाहरू सहित धेरै चुनौतीहरूको सामना गरिन् तर यी बाधाहरूबीचमा पनि उनको पढ्ने इच्छा कहिले पनि कम भएन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनको कटिबद्धताले गर्दा अन्ततः उनले यी अवरोधहरू पार गर्ने बाटो खोजेरै छाडिन ।
“एकदिन यस परियोजनाका कर्मचारीमार्फत मेरो गाउँमा मजस्ता विद्यालय जान नसकेका किशोरीहरूलाई पढाउनका लागि आरम्भ परियोजनाले सिकाइ केन्द्र सञ्चालन गर्दै आइरहेको जानकारी पाएँ र उनै कर्मचारीको सहयोगमा म सामुदायिक सिकाइ केन्द्रमा भर्ना भएँ” शबनमले भनिन् ।
सिकाइ केन्द्र भर्ना पश्चात उनको नियमित उपस्थिति र सिकाइ उपलब्धि वृद्धिका लागि पारिवारिक सहयोगका लागि परियोजनाका परिचालन, सिकाइ केन्द्र सहजकर्ता मात्र नभई समुदायबाटै चुनिएका सिकाइ केन्द्र व्यवस्थापन समिति तथा परिवर्तनका संवाहकहरूले पनि सहयोग गरे । उनीहरूद्धारा आयोजित विभिन्न बैठकमा शबनमका अभिभावक तथा समुदायका अन्य सदस्यहरू पनि सहभागी भए जसका कारण उनीहरूले पनि शिक्षाको महत्व बुझ्दै गए र यस्ता छलफलका कारण उनीहरूले आफ्ना परम्परागत हानीकारण मान्यता र अभ्यासहरू कम गर्दै सकारात्मक प्रयासहरूको थालनी गर्न थाले ।
सामुदायिक सिकाइ केन्द्रमा नौ महिनासम्म नियमित सिकाइने पठन तथा गणितीय सीपका साथै जीवन उपयोगी सीपहरूले पनि उनको ज्ञान, सीप र व्यवहारलाई थप परिष्कृत बनाउँदै लग्यो । पहिले कसैसँग बोल्न हिच्किचाउने, घरबाहिर निस्किन पनि डराउने उनको आत्मविश्वास बढ्न थाल्यो । उनले सरकारी संस्थाहरूमा भ्रमण र समुदायसँग अन्तरक्रियामा पनि भाग लिइन् । युके एड अन्तर्गतको गल्र्स एजुकेशन च्यालेन्जको आर्थिक सहयोगमा, पिपुल इन नीडले स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहकार्यमा सन् २०१८ देखि सञ्चालित पाँच वर्षे आरम्भ– “लिभ नो गर्ल बिहाइन्ड” परियोजनाले साक्षरता तथा गणितीय सीप, जीवन उपयोगी सीप, र सामाजिक रूपान्तरणका लागि सामुदायिक परिचालन मार्फत १० देखि १९ वर्षका विद्यालय बाहिर रहेका किशोरीहरूको जीवन सुधार गरी शिक्षाको मुलधारमा ल्याउने काम गर्दै आइरहेको छ ।
सामुदायिक सिकाइ कक्षाको पढाइपश्चात उनी विद्यालयमा भर्ना भइन् र अध्ययनलाई दृढ आत्मविश्वास र समर्पणको साथ निरन्तरता दिँदै शबनमले आफ्नो माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) पूरा गरिन् । एस.ई.ई.को सफलता उनको अटल भावना र महत्वाकांक्षाको प्रमाण हो ।
“एस.ई.ई. परीक्षामा मेरी छोरीले सफलता पाएकोमा म असाध्यै खुसी छु । मैले उसको उच्च शिक्षाको योजनालाई हृदयदेखि नै समर्थन गरेको छु र उनको व्यक्तिगत विकासको लागि बालविवाह उपयुक्त छैन भन्ने कुरा परियोजनाको विभिन्न गतिविधिहरूमा सहभागी भइरहँदा थाहा पनि पाएको छु । म उसको उज्ज्वल भविष्यको लागि शिक्षा नै अँगाल्न प्रोत्साहन गर्नेछु, र उसलाई पूर्ण हृदयले समर्थन गर्नेछु” – शबनमका बुवा इस्माइलले गर्वका साथ भने ।
शबनमको उपलब्धि यस परियोजनाको धेरै मध्येको एक उपलब्धि हो । यस परियोजनाले आफ्ना साझेदार संस्थाहरूसँगको सहकार्यमा, उनी जस्तै लगभग चार हजार नौ सय तिस विद्यालय बाहिरका किशोरीहरूलाई सामुदायिक सिकाइ केन्द्र मार्फत औपचारिक शिक्षामा समाहित गरेको छ । जस मध्ये लगभग ८६% किशोरीहरूले औपचारिक शिक्षामा पढाइ निरन्तर गरिरहेका छन् । यसमध्ये अहिलेसम्म १६ जना किशोरीहरूले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) उत्तिर्ण गरिरहेका छन् भने बाँकी किशोरीहरु विभिन्न तहमा अध्ययनरत छन् ।
शबनमको यात्राले विद्यालय बाहिरका किशोरीहरूले सामना गर्ने सामाजिक र आर्थिक चुनौतीहरूलाई दर्शाउँछ । उनी, उनीजस्तै विद्यालय जान नसकेका किशोरीहरूलाई विद्यालय भर्ना हुन र लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न एक आदर्शको रूपमा रहेकी छिन् । साथै समाजमा रहेको लैंगिक विभेद जस्ता हानीकारक चलन र अभ्यास न्यूनीकरण गर्दै सकारात्मक वातावरण निर्माण गर्न र शिक्षामार्फत सिमान्तकृत तथा किशोरीहरूको जीवनमा परिवर्तन ल्याउनका लागि आरम्भ र यस्तै अन्य परियोजनाहरूको भूमिका र महत्वलाई पनि शबनमको यस सफलताले बल प्रदान गर्छ ।
शबनमको कथा हामी सबैका लागि प्रेरणा हो । हामी आशा गर्छौं कि उनको कथाले अरू किशोरीहरूलाई पनि उनको पाइला पछ्याउन उत्प्रेरित गर्नेछ र उनीहरूले सम्पूर्ण बाधा तथा चुनौतीको सामना गर्दै आफ्नो लक्ष्य हासिल गर्न सक्नेछन् ।
‘म भविष्यमा शिक्षक बन्ने सपना बोकेर शिक्षा संकायमा पढाइलाई निरन्तरता दिन आतुर छु,’ शबनमले भनिन् ।