भूकम्पबाट प्रभावित बालबालिकाका लागि पिनद्वारा विद्यालय पुनर्निर्माणमा सहयोग

प्रकाशित २० जुलाई २०१८ पढ्न लाग्ने समय 2 मिनेट
भूकम्पबाट प्रभावित बालबालिकाका लागि पिनद्वारा  विद्यालय पुनर्निर्माणमा सहयोग
© Foto: सजना श्रेष्ठ

जब म बरुवाको माथिल्लो भेगमा पुग्छु, बादलले आकाश ढाकिएको हुन्छ । विद्यालयको नयाँ भवनको निर्माण कार्य पनि भइरहेको छ । यसकै छेउमा अस्थायी सिकाई केन्द्र छ जुन विद्यालयको निर्माण कार्य सम्मन्न नभएसम्म कक्षाकोठाको रुपमा प्रयोग भइरहको थियो । विद्यालय हातातिर जाने क्रममा बालबालिकाहरु विद्यालय परिसरमा दौडिरहेको, हाँसिरहेको अनि चिच्याइरहेका, जस्ताको मुनि एक अर्कालाई धकेल्दै पाठ्य पुस्तक पढ्न खोजिरहेका होलान् भन्ने कुरा मेरो दिमागमा चलिरहेको थियो । साथै, बाहिरबाट नया मान्छे आउँदा बालबालिकाका आँखा त्यही मान्छेलाई पछ्याउने हुँदा म पनि ती बालबालिकाका जिज्ञासु आँखाले मलाई पछ्याउने कुरामा अपेक्षा राखिरहेको छु ।

तर जब म यहाँ आइपुगेँ, यहाँको चकमन्न माहोल देखेर म अचम्मित भएको छु । मैले आफैले आफैलाई कतै आज सार्बजनिक बिदा त हैन भन्ने प्रश्न गरे । विद्यालय नजिक पुग्दै गर्दा विद्यालयमा कोही छैन कि भनेर मजदुरहरुलाई सोध्दा उनीहरुले प्रधानाध्यापक जस्ताले बारिएको सानो घर तिर देखाउदै त्यही कक्षामा हुनुहुन्छ भनेर देखाए । जब म भित्र गएँ प्रधानाध्यापकसँग अरु चार जना विद्यार्थीहरु थिए ।

“विद्यार्थीहरु खै त”, मेरो पहिलो प्रश्न।

“गाउँमा बिहे छ, त्यसैले सबैजना अलि चाडै गए”, भन्ने जबाफ प्रधानाध्यापक जय नारायण सिंहको।  

२०७२ सालको भुकम्पले त्यस क्षेत्रमा भएका सबै पाँचवटा विद्यालयहरु तहसनहस बनाएको थियो जसमा श्री गणेश आधारभुत विद्यालय पनि एक थियो । वास्तवमा भुकम्पले विद्यालय मात्र भत्काएको थिएन, सँगसँगै धेरै बालबालिकाको शिक्षामा पनि बाधा पुर्याएको थियो । धेरै अभिभावकहरु काठमाडौ, राजधानीतिर बसाई सरे जसले गर्दा गाउँमा विद्यार्थीहरुको संख्या घट्न गयो । केहिले गुणस्तरीय शिक्षा आर्जन गरुन् भनेर आफ्ना बालबालिकालाई शहरतिर पठाए भने केहि दैनिक १-२ घण्टा हिड्नुपर्ने ठाउँको विद्यालयमा आफ्ना बालबालिका पठाउन बाध्य भए ।

चेक रेडियो फाउण्डेशनको आर्थिक सहयोगद्वारा पिपुल इन नीडको सहजीकरण्मा स्थानीय साझेदार गैररकारी संस्था फेज नेपालले गणेश आधारभूत विद्यालयको पुनर्निर्माणको कार्य गरीरहेको छ, जसले कक्षाकोठाको लागि फर्निचर र अन्य आवश्यक सामाग्रीहरु पनि उपलब्ध गराउनेछ । निर्माण कार्य सम्पन्न भएपश्चात, यो विद्यालय समुदायलाई हस्तान्तरण गरीनेछ र यस विद्यालय संचालनको सम्पूर्ण जिम्मेवारी सरकारको हुनेछ। विद्यालय व्यवस्थापन समितिले विद्यालय हस्तान्तरणको समयमा यहँका बासिन्दाहरुलाई यस विद्यालयको नयाँ सुरुवातको बारेमा जानकारी गराउनका लागी एक कार्यक्रम संचालन गर्नेछ। जय नारायण यस विद्यालयको निर्माण कार्य समाप्त भएपछि बालबालिकाहरु पुनः यसै विद्यालयमा फर्कने कुरामा विश्वस्त छन्, किनकी अन्य विद्यालयको तुलनामा यो विद्यालय उनीहरुको लागी नजीक पर्दछ। "यसका साथै भूकम्प पछि पहिले विभिन्न सहरहरुमा बसाइ सरेर गएका बासिन्दाहरु पनी हाल आफ्नो गाउँमा पुनः घर निर्माण गर्नको लागि फर्कने क्रम बढिरहेको छ। जसको अर्थ हो अझ धेरै बालबालीकाहरु विद्यालय फर्कनेछन्।”, नारायण सिं भन्नुहुन्छ।

पाँचपोखरी का वडा अध्यक्ष पासाङ लामाले शिक्षक र अभिभावकहरुलाई प्रेरीत गर्नका लागि सुधार गरीएका केही शैक्षिक कार्यक्रमहरु ल्याउने योजना गरीरहेको बताउनुभयो । उहाँले वडासँग बालमैत्री वातावरण निर्माण र बालबालिकाहरुलाई सक्रिय रुपमा विद्यालयका गतिविधिहरुमा क्रियाशील गराइ बालबालिकाहरुका लागि शिक्षा रमाइलो र आनन्ददायी बनाउनको लागी पनि योजना रहेको बताउनुभयो।

Autor: सजना श्रेष्ठ , संचार अधिकृत

सम्बन्धित लेखहरू