नेपालको दोस्रो कोभिड संकटको प्रतिकार्य

प्रकाशित २८ मे २०२१ पढ्न लाग्ने समय 5 मिनेट
नेपालको दोस्रो कोभिड संकटको प्रतिकार्य
© Foto: Ramesh Singh

नेपाल कोभिड–१९ को घातक दोस्रो लहरबाट प्रभावित भइरहेको छ । हालसम्म पाँच लाख भन्दा बढि संक्रमितहरुको रेकर्ड गरिएको छ । देशमा एक महिना अघि मात्र दैनिक १५० घटनाहरु थिए भने अब हरेक २४ घण्टामा ८,००० भन्दा बढी केसहरु रेकर्ड गर्दैछ । नेपाल सरकारले भाइरसको फैलावटलाई कम गर्न वैशाख १३ गते काठमाडौंमा लकडाउनको घोषणा गर्यो । यस रोगको उच्च बृद्धिका कारण वैशाख १८ गते कोभिड भाइरस व्यवस्थापन समन्वयन समितिको सिफारिस पछि नेपाल सरकारले भारतसँगको २२ वटा सीमा आवतजावतको लागि बन्द गरे र १३ वटा सिमा प्रवेशका लागि खुला राख्ने निर्णय गर्यो । देश भरमा लकडाउनका विभिन्न सुरक्षाका उपायहरु लागू गरिएको छ भने प्रदेश प्रदेश बीचको आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।

कोभिड–१९ बिरामीहरूको उपचारको लागि दुर्गम स्वास्थ्य चौकीहरुलाई सहयोग 

यस बढ्दो स्वास्थ्य संकटको बेलामा पिपुल इन नीड (पिन) ले सिन्धुपाल्चोक र दोलखाको दुर्गम क्षेत्रहरूमा आइसोलेसन सेवा प्रदान गर्ने चार स्वास्थ्य चौकीहरूलाई सहायता प्रदान गरेको छ । यस सहायता अन्र्तगत आइसोलेसन केन्द्रको दैनिक संचालनका लागि आवश्यक पर्ने महत्वपूर्ण सामग्रीहरू जस्तै अक्सिमिटर, मास्क, सेनिटाइजर, साबुन, व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), फेस सिल्ड, शल्य पञ्जा, कीटाणुनाशक र स्प्रे बोतल समावेश गरिएको थियो । समुदायहरूमा कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न जोखिम वर्गका ७७५ घरधुरीहरुलाई वितरण गर्न मास्क र साबुन समावेश भएको थप स्वच्छता सामग्रीहरू खरीद गरेका छन् ।

यो तत्काल आपत्कालीन प्रतिकार्यका लागि १०,००० युरो मूल्य बराबराको यो सहयोग चेक गणतन्त्रमा सार्वजनिक अपिल द्वारा उठाइएको पैसाको कारण सम्भव भएको हो । यस उदारताका कारण हामीले आवश्यक सामाग्रीहरु वैशाख ७ गते नै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र अर्को दिन दोलखा जिल्लाको तामाकोशी र बिगु गाउँपालिकामा पुराउन सफल भयौं ।

Instant help
Donate regularly

यो सहायता एकदमै महत्वपूर्ण समयमा आउँदैछ । कोभिड–१९ को दोस्रो लहर पहिलो लहर भन्दा छिटो फैलिँदै छ र धेरै क्षेत्रहरू तयारी अवस्थामा छैनन् । भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र लाल श्रेष्ठका अनुसार आइसोलेसन सेवा प्रदान गरिरहेका स्थानीय स्वास्थ्य चौकीहरुमा भण्डारण गर्नको लागि पिनको सहयोग महत्वपुर्ण छ । “हामीलाई शल्य पञ्जाको अभाव थियो । धन्य तपाईहरुको प्याकेजमा त्यो थियो । प्याकेजमा भएका सबै सामाग्रीहरू हामीले दैनिक रूपमा आइसोलेसन केन्द्र संचालन गर्नको लागि उपयोगी हुन्छ । केहि स्थानहरूमा पानीको अभाव छ र अरूमा पर्याप्त साबुन छैन । त्यसबेला सेनिटाइजरले महत्त्वपूर्ण भूमिका खेल्छ ।”

बाह्रबिसे स्वास्थ्य चौकीले हाल १० जना कोभिड–१९ का बिरामीहरूलाई सेवा दिइरहेका छन् । जन–स्वास्थ्य निरीक्षक राजकुमार पौड्यालका अनुसार उहाँहरूले २५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरेका छन् तर सामग्रीको अभावका कारण बिरामी थोरै छन् । “हामीले भर्खर मात्रै चारवटा अक्सिजन कन्सन्ट्रेटर किन्यौं तर हामीलाई अझ बढीको आवश्यक्ता छ, त्यसैले हामी त्यसका लागि सहयोग खोजिरहेका छौं । हामीसँग ३०–३५ वटा अक्सिजन सिलिन्डर छन् तर त्यो पर्याप्त छैन । त्यसलाई भर्नाका लागि हामीले करीव ७५ किलोमिटर यात्रा गर्नुपर्छ र प्रक्रिया पनि गाह्रो छ । त्यसैले हामी सिलिन्डरहरूलाई ब्याकअपको रूपमा राख्दै छौं र सकेसम्म कन्सन्ट्रेटरहरू प्रयोग गर्दैछौ ।”

पौड्याल थपछन्, “सहायता प्याकेजको पीपीई सेटहरू धेरै उपयोगी हुनेछन् । हामीलाई प्रत्येक दिन ६ वटा पीपीई सेटहरूको आवश्यक पर्दछ । त्यसैले, हामीसँग केहि स्टकमा छ भने, हामीले अर्को दिन सफा प्रयोग गर्न सक्दछौं र प्रयोग भइसकेकाहरुलाई सेनिटाइज गर्ने समय पाउँदछौ ।”


दूरी शिक्षाको लागि समर्थन


कोभिड–१९ को प्रत्यक्ष सहायताको अतिरिक्त पिनले यस संकटको बेलामा अन्य तरिकाले पनि सहयोग गरिरहेको छ । उदाहरणका लागी, हामीले हाम्रो समावेशी र दूर शिक्षा कार्यक्रम अन्र्तगतका २,००० भन्दा बढी विवाहित र विद्यालय बाहिर भएका किशोरीहरूलाई सहयोग गरेका छौं । लकडाउन हुनु भन्दा पहिले नै हाम्रो डिस्टान्स टीचिंग लर्निंग (डीटीएल) कार्यक्रमले किशोरीहरूलाई उनीहरूको सिकाई निरन्तर गर्न सहयोग होस् भनी शैक्षिक सामग्रीहरु वितरण गरेका थियौ ।

यस महामारीको समयमा दुर्गम क्षेत्रका मानिसहरूलाई सुरक्षित रहनुको साथै विभिन्न सेवाहरू र सुचनाहरुको पहुँच सुनिश्चित गर्नका लागि, पिनले संघीय, प्रदेश र जिल्ला तहमा शिक्षा, सुरक्षा र यौन तथा प्रजनन स्वास्थ्य जस्ता क्षेत्रहरूमा सरोकारवालाहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेका छन् ।

आउने दिनहरुमा थप सहायता

जेठ ३ गते पिनले, पिन क्लब अफ फ्रेन्ड्सका सदस्यहरू र चेक गणतन्त्रका जनतालाई नेपालको सहायता गर्नको लागि सार्वजनिक अपिल गर्यो । हालसम्म चेक गणतन्त्रका मानिसहरूले यस कार्यको लागि २५०,००० अमेरिकी डलर भन्दा बढीको सहयोग प्रतिबद्ध गरिसकेका छन् ।

पिन नेपालका देशिय निर्देशक भेरा एक्ष्नेरोव भन्छिन्, “हामी दुर्गम क्षेत्रहरूमा अवस्थीत आइसोलेसन केन्द्रहरू, स्वास्थ्य चौकीहरू र स्थानीय तहहरुलाई सहयोग गर्न चाहन्छौं ।” उनी थप्नुहुन्छ, “हामीले जहिले पनि समुदाय स्तरको अवस्थाको पुनः मूल्याकंन गर्दैछौं र वास्तविक आवश्यकता अनुसार हाम्रो प्रतिकार्य समायोजित गर्दछौं । धन्य, हाम्रो शिक्षा कार्यक्रमहरूको माध्यमबाट, हामीसँग किशोरीहरू र उनीहरूको परिवारहरूमा सीधा पहुँच छ जसले गर्दा अहिलेको अवस्थामा सबै भन्दा जोखिममा रहेकाहरूको आवश्यकताहरू पहिचान गर्न महत्वपूर्ण भुमिका रहेको छ ।”

पिनले देशभरि फैलिरहेको यस रोगलाई ट्रयाक गर्न नेपाल सरकारको प्रयासलाई समर्थन गर्न सहयोग पुर्याउँनेछ । यो कार्य राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको कोभिड–१९ सूचना पोर्टल अपग्रेड गरेर गरिनेछ ।

“यो पोर्टलले आइसोलेसन केन्द्रहरू, कोभिड–१९ केसहरु र अन्य महत्वपूर्ण जानकारीहरुको तथाङ्क संकलन गर्दछ जसले यस संकटको प्रभावकारी व्यवस्थापनको लागि सहयोग गर्दछ,” एक्ष्नेरोव भन्छिन् । “प्रभावकारी प्रतिकार्य लक्षित गर्न सूचना ब्यवस्थापन र मानिसहरूको आवश्यकताहरू बुझ्नु आवश्यक छ ।”


पिनका अघिल्ला प्रयासहरू

नेपालमा पिनको वर्तमान प्रयासहरू पहिलो कोभिड–१९ को लहरको समयमा सुरू भएको कार्यका आधारमा गर्दैछ । गत वर्ष, प्रतिबद्ध परियोजनाले चार पालिकाहरूमा ४० वटा खुट्टाद्वरा सञ्चालित हात धुने स्थानहरु स्थापना गर्नुका साथै चार स्वास्थ्य चौकीहरूलाई सरसफाइ किटहरू प्रदान गरेका थिए । पिनले ७१३ जोखिम घरधुरीहरुमा (ज्येष्ठ नागरिक, महिला, अशक्त र सीमान्तकृत जातीय समूहहरू) का लागि कोभिड–१९ सम्बन्धि जनचेतनामूलक अभियानहरू पनि सञ्चालन गरेका थिए । हामीले दोलखा र सिन्धुपाल्चोक जिल्लाका दुर्गम गाउँहरूमा सूचना समाग्रीहरु, मास्कहरू र हात धुने साबुनहरू पनि वितरण गरेका थियौ ।

त्यसै गरी हामीले तराईमा कोभिड–१९ को रोकथामका उपायहरू, बाल विवाह बारे सचेतात्मक सन्देशहरू र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सन्देशहरू स्थानीय भाषामा रेडियो मार्फत प्रसारण गरेका थियौ । हामीले डीटीएल विधिको विकास गर्यौं र लकडाउनको कारण घरमै शिक्षा जारी गरिरहेका १,२०० किशोरीहरूसँग जोड्न सफल भयौं । साथै हामीले बारा र रौतहट जिल्लाका सात विद्यालयहरूमा लैंगिक समानता र सामाजिक समावेशीकरण साथै वैकल्पिक शिक्षा सम्बन्धि दूरी प्रशिक्षण प्रदान गर्यौं ।

अन्तमा, हामीले मोबाइल फोन मार्फत कोभिड–१९ को रोकथामका उपायहरू, स्थानीय सेवाहरूबारे जानकारी तथा मनोसामाजिक परामर्श निरन्तर रुपमा प्रदान गर्यौं । किशोरीहरू र उनीहरुको परिवारहरूसँग सम्पर्कमा रहेर हामीले तत्काल सहयोग आवश्यक भएकाहरुको पहिचान गर्न सफल भयौ । हाम्रो समन्वयनमा बारा र रौतहटमा आड्रा नेपालले मोबाइल स्वास्थ्य शिविर स्थापना गरेका थिए । साथै बारा र रौतहटका चार ग्रामीण क्षेत्रहरूमा लामखुट्टे झुल, सर्जिकल मास्क, सेनिटाइजर, स्प्रेयर, सोडियम हाइड्रोक्लोराइड र शल्य पञ्जा वितरण गर्यौं ।


“गत वर्षको बर्षायममा धेरै पहिरोहरु गएको थियो जसको परिणाम स्वरूप हजारौं घरपरिवार विस्थापित भए । बढ्दो कोभिड–१९ र आवतजावतमा प्रतिबन्धको कारण यस समुदायलाई ठूलो असर पारेको थियो,” पिन नेपालका आपतकालिन संयोजक ज्याम्पा छिरिङ लामा भन्छन् । हाम्रा विगतका अनुभव र ग्रामीण समुदायको आवश्यकता बारे जानकारी भएकोले, हामीले उपयुक्त कोभिड–१९ सुरक्षा किटहरू तयार गरेका छौं, जसले समुदायलाई यस महामारीलाई समुदायमा फैलिन नदिन मद्दत गर्दछ ।


थप जानकारीको लागी, सम्पर्क गर्नुहोस्:

भेरा एक्ष्नेरोव, पिन नेपाल देशिय निर्देशक, ४२० ७७७ ७८७ ९३१, vera.exnerova@peopleinneed.cz

ज्याम्पा छिरिङ लामा, पिन नेपालका आपतकालिन संयोजक, ९७७ ९८५११७४२३७, jampa.lama@peopleinneed.cz 

Autor: सजना श्रेष्ठ, संचार तथा पैरवी व्यवस्थापक, पिपुल इन नीड

सम्बन्धित लेखहरू