पूर्वानुमानदेखि पूर्वकार्यसम्म: बढ्दो गर्मीमा रेन कार्यक्रमले चालेका कदमहरू

प्रकाशित ३० जुलाई २०२५ पढ्न लाग्ने समय 7 मिनेट

यस वर्षको जेठ महिनामा तापक्रम ह्वात्तै बढेसँगै नेपालको तराई क्षेत्रका समुदायहरूले केवल असहज मात्र होइन, ठूलो सास्ती खेप्नुपर्‍यो । आद्रता बढेर वरपरको वातावरण गुम्सिएको थियो, हावा खासै चलेको थिएन र धेरैका लागि—विशेष गरी घरबाहिर काम गर्नेहरूका लागि—जीवन कष्टकर बन्दै गएको थियो । जेठ २८ मा गौर नगरपालिकामा ३९.६९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो र यो त्यस क्षेत्रको तापक्रमको ९५औँ पर्सेन्टाइल (९५%) थ्रेसहोल्ड भन्दा माथि हो । अहिले जल तथा मौसम विज्ञान विभागले तातो लहर (लु) बारे जनचेतनामूलक सन्देश जारी गर्नका लागि तापक्रमको ९९औँ पर्सेन्टाइल (९९%) थ्रेसहोल्ड वा लगातार तीन दिनसम्म ४० डिग्री सेल्सियस तापक्रम पुग्नुपर्ने मापदण्ड प्रयोग गर्दै आएको छ । यद्यपि, तापक्रम र आर्द्रताले स्वास्थ्यमा पार्ने प्रभावका आधारमा निश्चित थ्रेसहोल्डहरू निर्धारण गर्न पर्याप्त प्रमाण र स्थलगत तथ्याङ्कहरूको कमी रहेको छ ।

पूर्वानुमानदेखि पूर्वकार्यसम्म: बढ्दो गर्मीमा रेन कार्यक्रमले चालेका कदमहरू
© Foto: स्निग्धा बश्याल

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले देखाएको गर्मी र वर्षाको अभावलाई मध्यनजर गर्दै उत्थानशील, अनुकूलन र समावेशी नेपाल (रेन) कार्यक्रमका सहकर्मी समूहको पूर्वसूचना र पूर्वकार्य टोलीले समुदायमा अत्यधिक गर्मीबाट पर्ने प्रभाव कम गर्ने उद्देश्यले जेठ २५ देखि २८ सम्म रेन कार्यक्रमको तातो लहर (लु) पूर्वकार्यसम्बन्धी मानक कार्यविधि सक्रिय गर्‍यो । यी क्रियाकलापहरू जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको निरन्तर अनुगमनमा आधारित थिए ।

बेलायत सरकारको आर्थिक सहयोग प्राप्त उत्थानशी, अनुकूलन र समावेशी नेपाल कार्यक्रम (रेन) अन्तर्गतको साझेदार तथा सहकर्मी समूहले जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा नेपाल सरकारको प्रयासलाई सुदृढ गर्ने र सामाजिक सुरक्षा प्रणालीलाई थप विपद्-संवेदनशील बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ । यसका साथै, यस समूहले पूर्वसूचना प्रणालीको पहुँच र प्रभावकारितामा सुधार गरी जलवायुजन्य विपद्हरूमा समुदायको उत्थानशीलता बढाउन, सबैभन्दा जोखिममा रहेका जनसङ्ख्यासम्म समयमै पूर्वकार्य पुर्‍याउन, र स्थानीय अगुवाइमा आधारित दिगो विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका प्रयासहरूलाई प्रवर्धन गर्ने दिशामा कार्य गर्दछ ।

यो कार्यक्रम पिपुल इन निडको अगुवाइ र ड्यान चर्च एडको सहअगुवाइमा सञ्चालित रहेको छ । यस कार्यक्रमका कार्यान्वयन साझेदारहरूमा आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी), प्रेरणा, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड)युथ इनोभेसन ल्याब रहेका छन् भने प्राविधिक साझेदारका रूपमा रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर (आरसीसीसी)यूके मेट अफिसले सहयोग गरिरहेका छन् ।

पूर्वकार्य किन महत्त्वपूर्ण छ ?

तातो लहर (लु) अब केवल मौसमी रूपमा आउने असहजता मात्र रहेको छैन, यो विशेष गरी न्यून आय भएका र उच्च जोखिमयुक्त क्षेत्रहरूमा मानवीय सङ्कटको रूपमा बढ्दै गएको छ । घरभित्रै बस्ने वा भरपर्दो शीतलताको सुविधा नभएका कारण धेरै मानिसहरू जोखिम बढ्दै जाँदा पनि काम गर्न, खाना पकाउन, खेतीपाती गर्न र अरूको हेरचाह गर्न बाध्य छन् ।

गौरका ७५ वर्षीय धनिया पटेल विगतका वर्षहरूमा आफूले भोगेको गर्मीको अनुभव सम्झन्छन् । उनी भन्छन्, "गर्मीले धनी वा गरिब भन्दैन । यसले सबैलाई असर गर्छ । तर गरिबले गर्मीमा पनि काम गरिरहनुपर्छ, फरक यही हो ।" गर्मीको असरबारे थप चर्चा गर्दै उनी पङ्खामुनि सुतिरहेका आफ्ना नातिनातिनालाई हेर्छन्, जो गर्मीकै कारण बिरामी परिरहेका छन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले अत्यधिक गर्मीका कारण लु लाग्ने बारेमा कुरा गर्दा धनिया पटेल सम्झन्छन्, "मैले पहिले पनि मानिसहरूलाई लु लागेको देखेको छु । एकपटक लु लागेपछि तपाईँ ढल्नुहुन्छ र शरीरबाट प्राणै उडेर गएको जस्तो लाग्छ ।"

रेन कार्यक्रमको पूर्वकार्यले निम्न समूहहरूलाई लक्षित गरेको थियो:

• घरबाहिर काम गर्ने व्यक्ति : रिक्सा चालक, सडक व्यापारी, दैनिक ज्यालादारी मजदुर, ट्राफिक प्रहरी, कृषि कामदार र सडकमा आश्रित व्यक्तिहरू ।

• जोखिममा रहेका घरधुरी : ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, दीर्घ रोगीहरू, र न्यून आय भएका परिवारहरू ।

• सार्वजनिक भीडभाड हुने स्थान : विद्यालय, बसपार्क, बजार, सरकारी कार्यालय र अव्यवस्थित बसोबास/सुकुम्बासी बस्तीहरू ।

यी समूहहरूसम्म पुग्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गर्भवती र सुत्केरी महिला भएका घरधुरीलाई प्राथमिकता दिँदै घरदैलो गरेका थिए । उनीहरूले अत्यधिक गर्मीका जोखिमहरूबारे जनचेतना जगाउनुका साथै गर्मीबारे कसरी सुरक्षित रहने भन्नेबारे व्यावहारिक उपायहरू पनि जानकारी गराएका थिए । स्वयंसेविकाहरूले परिवारहरूसँग प्रत्यक्ष कुराकानी गर्दै गर्मीका कारण हुने बिमारीका सुरुवाती लक्षणहरू कसरी पहिचान गर्ने र गम्भीर स्वास्थ्य समस्याहरूबाट बच्न के कस्ता सरल उपायहरू अपनाउन सकिन्छ भन्नेबारे परामर्श दिएका थिए । जनचेतना जगाउनुका अतिरिक्त सहरका मुख्य भागहरूमा रहेका गर्मी प्रभावित क्षेत्रहरूमा घुम्ती खानेपानी कक्षमार्फत शीतल र स्वच्छ पिउने पानी वितरण गरिएको थियो र यसले विशेष गरी बाहिर काम गर्ने कामदारहरूलाई राहत दिएको थियो ।

यसका साथै, स्थानीय भाषाहरू— बज्जिका र मैथिली —मा जनचेतनामूलक सन्देशहरू व्यापक रूपमा प्रसारण गरिएको थियो । यी सन्देशहरूले जसमा तातो लहर (लु) चलेका बेला के गर्ने र के नगर्ने भन्नेबारे महत्त्वपूर्ण जानकारी प्रवाह गरेका थिए । हामीले स्थानीय सरकारहरूसँग मिलेर तत्कालिन गर्मीको सङ्कट मात्र नभई आगामी मनसुनका समयमा आइपर्ने चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक पूर्वतयारीका कार्यहरूका बारेमा पनि घनिभूत छलफल गरेका थियौँ ।

सामुदायिक सचेतना - घरदैलो अभियान

सिराहामा मध्यदिनको चर्को गर्मीसमेत नभनी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सहनाज खातुनले तीन दिनमा ७५ वटा घरको दैलो ढकढक्याइन् । निधारबाट पसिना चुहाउँदै उनले मानिसहरूलाई गर्मीबाट बच्न आफै सचेत हुनुपर्छ भन्ने बुझाउनु नै आफ्नो मुख्य कर्तव्य ठानिन् । "म मानिसहरूलाई धेरै पानी पिउन, पातलो कपडा लगाउन र छाता ओढ्न भन्छु," उनले भनिन् । "कसैले सुन्छन्, कसैले सुन्दैनन् । धेरैले त गर्मीले ज्यानै जाला जस्तो भए पनि काम रोक्न सक्दैनौँ भन्छन् ।"

उनी जस्तै अन्य स्वयंसेविकाहरूले पनि टोल-टोलमा पुगेर विभिन्न घरका महिलाहरूलाई बोलाएर मन्दिरको फेदमा रहेको ठूलो रुखको छहारीमा बसेर गर्मीले निम्त्याउन सक्ने जोखिमबारे छलफल गरेका थिए ।

विशेष गरी महिलाहरूले यस्तो चर्को गर्मीमा पनि धेरै जिम्मेवारीहरू एकैसाथ सम्हालिरहेका हुन्छन् ।

स्थानीय गीता देवी भन्छिन्, "हाम्रो घरमा हामी पहिले वृद्धवृद्धालाई प्राथमिकता दिन्छौँ । आफ्नो बारेमा सोच्नुभन्दा पहिले उहाँहरूले पर्याप्त पानी पिउनुभयो कि भएन भन्ने कुरा हेर्छौँ ।"

अर्की स्थानीय बासिन्दा फूलझरी देवी थप्छिन्, "हामी अझै पनि खाना पकाउँछौँ, काम गर्छौं, खेतबारीमा जान्छौँ । तर हामीले प्रयास गरिरहेका छौँ । हामी धेरै पानी पिउँछौँ, टाउको छोप्छौँ । यो बाहेक हामी अरू के नै गर्न सक्छौँ र ?"


पाँच दिनसम्म सहनाज र उनी जस्तै अन्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले घर-घरमा पुगेर परिवारहरूलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेका थिए । ७ दिनको अवधिमा गौर, सिराहा र जलेश्वर नगरपालिकाका प्रत्येक नगरपालिकामा रहेका १० जनाका दरले जम्मा ३० जना स्वयंसेविकाले पुरुष, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू सहित १७ हजार ४७० भन्दा बढी मानिसहरूलाई भेटेका थिए । घरदैलोका क्रममा उनीहरूले गर्मीका कारण देखिएका लक्षण र समस्याहरू पहिचान गरे, घरधुरीलाई गर्मीजन्य बिरामीका लक्षण र प्राथमिक उपचारबारे शिक्षित गराए, र आवश्यक परेका बिरामीहरूलाई स्वास्थ्य संस्थामा प्रेषण गरे । यी ३० जना स्वयंसेविकालाई परिचालन गर्नुअघि गर्मीजन्य जोखिम, सामुदायिक सहभागिताका विधिहरू र प्रेषण तथा सूचना प्रणालीका बारेमा एक दिने अभिमुखीकरण प्रदान गरिएको थियो ।

घुम्ती खानेपानी सेवा : घुम्ती वितरण कक्ष

हाम्रो स्वच्छ र शीतल घुम्ती खानेपानी कक्षहरूको निकै प्रशंसा गरिएको थियो, विशेष गरी घरबाहिर काम गर्ने कामदारहरूबाट । धेरैले चिसो पानी खाएर यहाँ थकाइ मारे र हाम्रो टोलीले कुलरको प्रयोग गरेर तथा जारहरूलाई छहारीमा राखेर पानीलाई चिसो बनाइराखे । नजिकैका घरका बासिन्दाहरू पनि आफ्ना परिवारका लागि पानी लिन आएका थिए । यी कक्षहरूले विद्यालय, अस्पताल, बजार र सरकारी भवनहरूमा सेवा पुर्‍याउँदै समुदायभरि निकै आवश्यक राहत प्रदान गरे ।

जलेश्वरस्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका एक शिक्षिकाले विद्यार्थीहरूले आफ्ना बोतलहरू भरेको र अनुहारमा पानी छ्यापेको हेरिरहेकी थिइन् । उनले भनिन्, "यो सानो प्रयास जस्तो देखिएला, तर यो चर्को गर्मीमा यसले ठूलो सहयोग पुर्‍याएको छ ।" उनले यस्तो घुम्ती खानेपानी कक्ष बजार क्षेत्रमा पनि देख्ने गरेको र त्यहाँ धेरै मानिसहरूले पानी पिउन पाएको कुरा सम्झिइन् ।

बजार, विद्यालय, बसपार्क र सरकारी कार्यालय सबैतिर हामीले १६ हजार ७३८ भन्दा बढी मानिसहरूमाझ पुगेर उनीहरूको तिर्खा मेटाएका थियौँ । गौर, सिराहा र जलेश्वरका प्रत्येक स्थानीय तहमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म एउटा कक्ष सञ्चालन गरिएको थियो ।

सुरक्षित रहने सन्देश प्रसारण : स्थानीय भाषामा रेडियो

सबै मानिसहरूलाई व्यक्तिगत रूपमा भेट्न सम्भव नभएकाले गर्मीबाट बच्ने सन्देशहरू रेडियोमार्फत प्रसारण गरिएको थियो । यी सन्देशहरूलाई घुम्ती खानेपानी वितरण कक्षहरूमा र रौतहटमा बज्जिका र महोत्तरी तथा सिराहामा मैथिली भाषाका स्थानीय एफएम स्टेशनहरूबाट पनि प्रसारण गरिएका थिए । यसले इन्टरनेटको पहुँच नभएका वा साक्षरता नभएका व्यक्तिहरूसम्म सन्देश पुग्ने कुरा सुनिश्चित गरेको थियो । घुम्ती कक्षहरूले समुदायलाई उपलब्ध पूर्वानुमानका स्रोत र जल तथा मौसम विज्ञान विभागको टोल-फ्री नम्बर ११५५ बारे जानकारी गराएको थियो । समुदायका सदस्यहरूले रेन कार्यक्रमको सामुदायिक गुनासो सुनुवाइ संयन्त्रमार्फत आफ्ना प्रतिक्रिया दिन सक्नेबारे पनि जानकारी पाएका थिए ।

ग्रामीण र न्यून साक्षरता भएका समुदायहरूमा सचेतना अभिवृद्धि गर्न र व्यवहार परिवर्तनलाई प्रोत्साहन गर्न माइकमार्फत सार्वजनिक स्थलहरूमा तातो लहर (लु) बाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका सन्देशहरू प्रसार गरिएको थियो । यसले विभिन्न उमेर र समूहका मानिसहरूमाझ मुख्य सन्देशहरूलाई थप प्रभावकारी रूपमा पुर्‍याउन मद्दत गरेको थियो ।

गर्मीसम्बन्धी पूर्वकार्यपछि गरिएको मूल्याङ्कनले धेरै मानिसहरूले खानेपानी वितरणलाई अत्यन्तै सहयोगी रहेको प्रतिक्रिया दिएका थिए । एक जना ज्येष्ठ नागरिकले सन्देश सुनेपछि आफू मध्यदिनको सट्टा बिहानै खेतमा जान थालेको बताउँदै उक्त कुरा आफ्नो दिमागमा बसेको बताएका थिए । यसबाहेक, जलवायु प्रवृतिसम्बन्धी स्थानीय अवलोकनहरूले यस क्रियाकलापको समयसापेक्षता र सान्दर्भिकतालाई थप पुष्टि गरेका छन् । एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले आफ्नो अनुभव बताउँदै भनिन्, “मेरो श्रीमानको मध्य घाममा पसल जाने गर्नुहुन्थ्यो र मैले उहाँको छाला घामले कालो हुँदै गएको याद गरेँ । मैले उहाँलाई छाता ओढ्ने, हात छोप्ने लुगा लगाउन र चाँडै खाना खाने सल्लाह दिएँ । उउहाँले मेरो कुरा सुन्नुभयो र त्यो एउटा तुरुन्तै देखिएको परिवर्तन थियो ।”

समन्वय र प्रणालीगत सामञ्जस्यता

यी विभिन्न क्रियाकलापका अतिरिक्त हाम्रो पूर्वकार्य टोलीले स्थानीय तह, विशेष गरी स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग छलफल बैठकहरू गरेको थियो । यी बैठकहरूमा हामीले जल तथा मौसम विज्ञान विभागको तापमान र गर्मीसम्बन्धी पूर्वानुमान र ऐतिहासिक प्रवृतिहरूका बारेमा उल्लेख गर्दै अत्यधिक गर्मीबाट बच्न चालिएका पूर्वकार्यका पहलहरूबारे छलफल गरेका थियौँ र जोखिममा रहेका समुदायहरूलाई विशेष ध्यान दिँदै आगामी मनसुन समयको तयारीका बारेमा पनि कुराकानी गरेका थियौँ । यी छलफलहरूमा पालिका प्रमुख, सरकारी अधिकारी र विपद् प्रतिकार्य कार्यहरूमा संलग्न रहने नेपाली सेनाका कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले उद्धार टोलीलाई सुदृढ बनाउने र विपद्का समयमा मानिसहरूलाई परिचालन गर्ने तथा स्थानीय सहयोग प्राप्त गर्ने रणनीतिहरूका बारेमा चर्चा गरेका थिए । स्थानीय पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन यो सरकारसँगको दीर्घकालीन समन्वयको सुरुवात थियो ।


Author: स्निग्धा बश्याल, सञ्चार अधिकृत, पिपुल इन नीड

सम्बन्धित लेखहरू