शिक्षाको माध्यमबाट किशोरीहरुलाई सशक्त बनाउदै
प्रकाशित ११ अक्टोबर २०२१ पढ्न लाग्ने समय 3 मिनेटमनीषा तेह्र बर्षिय किशोरी हो । आफ्नो दिनको शुरुवात आफ्नी आमासँग खाना पकाएर गर्छिन् । उनीहरु मिलेर आफ्नो परिवारका लागि खाना बनाउँछन् । घर बाहिरको खाली ठाँउमा बाँस र परालले उनीहरूको भान्साकोठा बनेको छ । आज, उनीहरु नजिकैको खोलामा उनका भाइहरुले मारेको माछा पकाइरहेका छन् । उनको दिदी विवाहित भएका कारण आफ्ना पाँच भाई बहिनीहरु मध्ये दोस्रो भएकोले मनीषाले घरेलु जिम्मेवारीहरु वहन गर्नु परेको छ । उनको बुबा एक मजदुरको रूपमा दैनिक कमाईका लागि काम गर्नुहुन्छ, उनीहरुको आर्थिक स्थिति राम्रो छैन् । उनको बुबाको लागि आफ्नो कमाईले मात्र परिवार धान्न चुनौतीपूर्ण छ ।
मनिषाले कक्षा ४ मा पढ्दै गर्दा विद्यालय छोडिन् । "मेरा धेरैजसो साथीहरुले बिहे गरे र पढ्न छोडे, त्यसैले मलाई विद्यालय जान मन लागेन । बिस्तारै, मैले पनि जान छोडें," मनीषा भन्छिन् । मनीषा बिहे गरेर गौनाको लागि पर्खिरहेकी छिन् । गौना विवाहको केहि महिना वा वर्ष पछि हुने एक परम्परागत समारोह हो । गौना भन्दा पहिले, दुलही एक निश्चित समयका लागि आफ्नो आमा बुबाको घरमा नै बस्छिन् ।
शिक्षा जारी राख्ने निर्णय
यूके ऐडको गर्लस् एडूकेशन च्यालेन्जको आर्थिक सहयोगमा सन् २०१८ साल देखि पिपुल इन नीडले साझे्दार संस्था आस्मान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सासँग मिलेर साक्षरता, गणितीय र जीवनोपयोगी सीप सम्बन्धी कक्षाहरु र सामाजिक रूपान्तरणको लागि सामुदायिक परिचालनको माध्यमबाट विद्यालय बाहिर रहेका १०–१९ वर्षका किशोरीहरुको जीवन संभावनाहरुलाई सुधार गर्नको लागि पाँच वर्षीय आरम्भ परियोजना सञ्चालन गरिरहेको छ । गत वर्ष, यो परियोजना उनको गाउँमा सुरु गरिएको थियो । उनले यसको बारेमा एक स्थानीय सहजकरताको माध्यमबाट जानकारी पाइन, जसलाई उनी सानै देखि चिन्थिन् ।
मनीषा अन्य विवाहित र विद्यालय बाहिर रहेका किशोरीहरुसँग आफ्नो गाउँमा सामुदायिक शिक्षा केन्द्र (सीएलसी ) मा जान थालिन । सीएलसी, नेपालको प्रदेश २ को बारा र रौतहट जिल्लामा संचालित भइ रहेको छ । उनी सीएलसीमा गइरहेकी छिन् र उनले नयाँ साथीहरु पनि बनएकी छिन् । ९ महिनाको अनौपचारिक शिक्षा पूरा गरेपछि उनी कक्षा ५ मा भर्ना भइन । “मलाई विद्यालय पुग्न एक घण्टा हिड्नु परे पनि, म एक नियमित विद्यार्थी हुँ । सीएलसीबाट मेरो साथी पनि विद्यालयमा भर्ना भयो त्यसैले हामी त्यहाँ सँगै जान्छौं," मनीषले खुशी साथ भन्छिन् । उनी भन्छिन्, “अब मलाई विद्यालय जान मन लाग्छ । म सँग खेल्नका लागि साथीहरु छन् र मैले शिक्षाको महत्व पनि बुझेको छु । विद्यालयको वातावरणले मलाई मेरो शिक्षा पनि जारी राख्न प्रेरित गरेको छ ।"
शिक्षाको माध्यमबाट सपना साकार गर्ने
मनिषा कक्षा १० सम्म अध्ययन गर्ने र आफ्नो पढाई पूरा भएपछि कपडाको व्यवसाय सुरु गर्ने योजना बनाइरहेकी छिन् । मनीषा भन्छिन्, “व्यवसायका लागि मलाई चाहिने ज्ञान जस्तै अर्डर ट्र्याकिङ, बिलिङ, हिसाब किताब, र लेखा, उचित शिक्षाबाट मात्र सम्भव छ । शिक्षाले मलाई उड्न र मेरा सपनाहरुलाई पूरा गर्नको लागि पखेटाहरु प्रदान गर्दछ "। उनले आफनो कपडाको व्यवसाय शुरू गर्ने सपना पुरा गर्न शिक्षाको कति महत्व छ भन्ने कुरा बुझेकी र महसुस गरेकी छिन् ।
परियोजना सुरु भएको दुई बर्ष भित्र, १४७८ किशोरीहरु सफलतापूर्वक विद्यालयहरुमा भर्ना भएका छन् । पाँच बर्षको अवधिमा आरम्भ परियोजनाले ८५०० विद्यालय बाहिरका किशोरीहरु, उनीहरुका परिवारका ८५०० सदस्यहरु, ८००० विद्यालय भित्र र बाहिर रहेका किशोर र किशोरीहरु, ४०० विद्यालयका शिक्षकहरु, ११३४ महिला सामुदायिक सल्लाहकारहरु (महिला नेतृत्वको सामुदायिक नेटवर्क), ४०० सामुदायिक युवाहरु र अन्य ७०० सामुदायका सदस्यहरु, र बारा तथा रौतहट जिल्लाका ३०० नवनिर्वाचित स्थानीय सरकारी अधिकारीहरु सँग काम गर्नेछ ।