सीमाको कथाः नेपालमा शिक्षाको माध्यमबाट ढोका खोलिदै

सीमाको कथाः नेपालमा शिक्षाको माध्यमबाट ढोका खोलिदै

Publikováno: १२ मे २०२१ पढ्ने समय: 3 मिनेट

तेइस २३ वर्षीय सीमा गुप्ता भन्छिन्, “मैले पोलियोको कारण हिँड्ने क्षमता गुमाएँ तर त्यसले म को हुँ भनेर परिभाषित गर्दैन ।” उनी बारा जिल्लाको विपन्न समुदायमा जन्मेकी र हुर्केकी हुन् । यद्यपि उनी आफूलाई एक शिक्षिका भएकी भनेर परिभाषित गर्छिन् । “शिक्षाले मेरो सपनाको ढोका खोल्यो – यसले एउटा सम्मानित संगठनको लागि काम गर्ने मेरो सपना पुरा गर्यो ।”

सीमा आफ्नो गाउँको सामुदायिक शिक्षा केन्द्रकी (सीएलसी) शिक्षिका हुन् । सीएलसी यूके ऐडको गर्ल एडूकेशन च्यालेन्जको आर्थिक सहयोग तथा पिपुल इन नीडको नेतृत्वमा सञ्चालित आरम्भ परियोजनाको एक शैक्षिक पहल हो । साझेदार संस्था असमान नेपालको संयोजनमा संचालन भइरहेको सीएलसी, रौतहट र बाराका विवाहित र स्कूल बाहिरका किशोरीहरूसँग साक्षरता, गणित र जीवनोपयोगी सिपहरुको सम्बन्धि पाठ्यक्रमहरू पढाउँदछ । 

सीमा तीन वर्षकी हुँदा उनलाई पोलियो लाग्यो । यो रोगले उनको दुबै खुट्टालाई असर गर्यो र उनले हिँड्नका लागि बैशाखी प्रयोग गर्न सुरु गरिन । आफ्ना चार बच्चाहरूलाई पढाउन र घर चलाउका निम्ति उनको बाबुआमाले तरकारी उब्जाउथे र स्थानीय बजारमा बेच्ने गर्दथे । सँधै आर्थिक अभाव भएता पनि सीमाका आमाबुवाले उनलाई पढ्नका लागि प्रोत्साहिन दिन्थे र यसरी उनी माध्यमिक शिक्षा पुरा गर्ने परिवारको पहिलो सदस्य भइन । उनी अहिले कलेज जान सुरु नगरेता पनि उनले अध्ययन जारी राखी, भविष्यमा कलेजमा भर्ना हुने आशा राख्छिन्।

शिक्षाको शक्ति

सीमाले जहिले पनि शिक्षाको शक्तिमा विश्वास गर्थिन्, र उनले आफ्नो शारीरिक अशक्तताले गर्दा आफूलाई अध्ययनबाट वञ्चित हुन दिइनन् । उनी भन्छिन्, “मेरो बाल्यकालमा मेरा शिक्षकहरू वा साथीहरूले मलाई उनीहरूको साइकल वा मोटरसाइकलमा स्कूलमा जान मद्दत गर्थे । कहिलेकाँही म आफैं स्कूल जानु पर्ने हुँदा, म स्कूलका लागि ढिला हुने गर्थें । शिक्षकले गाली गर्नु वा सजाय दिनुहुन्छ की भनेर मलाई डर लाग्थ्यो तर मेरा शिक्षकहरुले कहिले त्यस्तो गर्नु भएन । यसले पनि मलाई स्कूल जान प्रोत्साहित गर्यो । ”

“तर सबै जना सहयोगी थिएनन्,” उनी भन्छिन् । “केही स्कूलका साथीहरूले मेरो खिल्ली उडाँथे वा मलाई दयनीय बनाउथे । यसले मलाई उदास बनाए ता पनि मैले उनीहरूलाई मेरो पढ्ने सपनाहरू फुटाउन भने दिइनँ ।"

एक दिन, सीमाको भाइले उनलाई आरम्भ परियोजनामा जागिर खुलेको बारेमा बताए । सीमाले कामका लागि आवेदन दिइन र छनोट पनि भइन । उनका भाइ बहिनीहरूले घरमा कुनै आर्थिक सहयोग प्रदान नगर्ने हुदाँ उनले यस परियोजनामा काम गर्नु भन्दा पहिले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्ने सपना देखेकी थिइन । 

सीमाले आफ्ना समुदायका २३ जना स्कूल बाहिरका किशोरीहरूलाई सीएलसीमा पढाउँदैछिन्, जसमध्ये धेरै विवाहित छन् । दिनको तीन समूह गरी उनले हप्तामा छ दिन कक्षा सञ्चालन गर्छिन् । उनका धेरै जसो विद्यार्थीहरूका लागि यो स्कुलमा पहिलो पटक हो, र उनीहरूमध्ये धेरैको बच्चा पनि छ । सीमा भन्छिन् कि विद्यार्थीहरूले एक अर्कासँग गरेको अन्तरक्रिया र नयाँ कुरा सिक्नका निम्ति एक अर्कामा खुलेको देख्दा धेरै खुसी लाग्छ । “सीएलसीका किशोरीहरूले मलाई बोर्डमा लेख्न, टाढा भएका सामग्रीहरु ल्याउन र सहयोगी भइ मद्दत पुर्याउँछन् त्यसैले म उनीहरूसँग सहज महसुस गर्दछु”, सीमा भन्छिन् ।

सबै विद्यार्थीहरुले पढ्न, लेख्न, र केहि आधारभूत गणित गर्न सिकेकाले सीमा खुसी छिन् । उनी आशा गर्छिन् कि उनीहरूले सीएलसीको कक्षा सकिसके पछि पनि शिक्षा हासिल गर्न जारी राख्नेछन्, र भन्छिन् कि उनीहरुलाई अध्ययनमा सहयोग गर्न जारी राख्नेछु ।

सीमाले सीएलसीमा पढाउन धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो । सामान्य सेवाहरु उनको घरबाट लगभग एक किलोमिटर टाढा भएको हुदाँ उनी हरेक दिन आफ्नो बैशाखीको सहयोगमा त्यहाँ हिँडेर जान्थिन् । उनको गाउँको कच्ची सडकले उनको दैनिक आवागमनलाई अझ कठिन बनाएको छ । अनिश्चित आर्थिक स्थितिको कारण, सीमाको परिवारले क्यालिपर (एक उपकरण जसले कमजोर खुट्टालाई सहरा दिइ हिड्न मद्दत गर्दछ) किन्ने क्षमता थिएन । सीमा भन्छिन्, “समय लागेता पनि म क्यालिपर खरीद गर्नका लागि मेरो तलब बचत गर्दैछु ।”

यसै बीचमा, सीमाले सीएलसीमा पुर्याउन र ल्याउनका लागि एक नातेदारलाई प्रति महिना रु ८०० तिरिरहेकी छिन् । सीमाले कमाएकोे पैसाबाट केहि नयाँ कपडा किन्ने र खुट्टाको उपचार गर्न प्रयोग गर्ने चाहना रहेकोे बताइन् ।

भविष्यको लागि सीमाको आशा

सीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारी कार्यक्रम अन्र्तगत शिक्षण जागिरको लागि आवेदन दिन तयारी गर्दै छिन् । उनी विश्वास गर्छिन् कि शिक्षाले मात्र मानिसहरूको जीवनमा सकारात्मक परिवर्तनहरू ल्याउँदछ ।


लेखक: सपना सेन्चुरी, बाल संरक्षण अधिकारी, आसमान नेपाल र सुरमिला चौधरी, परियोजना अधिकारी, पिपुल इन नीड