मानवीय कार्यकर्ताको रुपमा आस्थाको यात्रा

प्रकाशित १८ अगस्ट २०२२ पढ्न लाग्ने समय 5 मिनेट
Astha Pradhanang
© Foto: सजना श्रेष्ठ

आज वर्ल्ड ह्युमनीटरीयन डे (विश्व मानवीय दिवस) हो र यस दिनलाई मनाउन हामीले हाम्रो सहकर्मीको कथा प्रस्तुत गर्न गइरहेका छौं । पिपुल इन नीड नेपालको स्थापनाकालदेखि नै उनी यस संस्थामा कार्यरत छिन् ।

२०७२ साल बैशाखमा गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्प पश्चात् आस्था प्रधानाङ्ग हामीसँग जोडिएकी थिइन् । त्यो भूकम्प नेपालको विगत ८० वर्षको सबैभन्दा ठूलो थियो । यसबाट लगभग ९ हजार मानिसहरुले ज्यान गुमाए, ५ लाखभन्दा बढी घरहरु भत्किए र हजारौंको जीवन प्रभावित भयो । समय बित्दै गएपछि मानिसहरू दैनिक जीवनयापनका विस्तारै घर बाहिर निस्कन थाले र एक अर्कालाई यथासक्य सहयोग गर्न थाले । २१ वर्षकी आस्थाले देशको कठीन अवस्थालाई मध्यनजर गर्दै त्यस्तो विषम परिस्थितिमा आफूले कसरी सहयोग गर्न सकिन्छ भनेर सम्भावनाहरू खोज्न थालिन् । र पहिलो पटक, उनले काठमाडौंको आफ्नो घर छोडिन् र विपद् जोखिममा रहेका मानिसहरूलाई सहयोगमा जुटिन् । यसले उनलाई एक मानवीय कार्यकर्ताको रुपमा स्थापित गर्न सहयोग गर्यो ।

१३ जनाको परिवारमा जन्मेकी आस्थाको लागि यो यात्रा सहज थिएन । उनी यो भन्दा पहिले कहिल्यै घरबाट बाहिर एक्लै गएकी थिइनन् । आस्था भन्छिन्, "मलाई, महिला भएर साँझ ५ बजेभन्दा पछि घरबाहिर बस्न हुँदैन भनेर भनिन्थ्यो । एक दिन पिपुल इन नीडले मलाई फोन गर्यो र कामको लागि प्रस्ताव गर्यो । २०७२ को भूकम्पको केन्द्रबिन्दु भएको गोरखा जिल्लाको अति विकट ठाउँमा काम गर्न सक्छु या सक्दिन भनेर फोनमा सोध्यो । मैले यो कुरा मेरो बुवालाई भनें र बुवाले म आफै त्यो निर्णयमा विश्वस्त भए नभएको सोध्नुभयो । अनि बुवाले भन्नुभयो, ‘म तिमीलाई त्यहाँ पुर्याइदिन्छु।’ बुवाको त्यो शब्द मेरो मनमा पर्यो । त्यस समय मैले विचार गरें कि अब यो काम म आफै गर्छु र मेरो घर बाहिरको जीवन कस्तो छ भनेर अनुभव गर्छु ।" सात वर्ष बितिसके पनि उनले पिपुल इन नीडसँगको यात्रा अझै जारी राखेकी छिन् । अझै सम्म पनि उनले आपतकालिन प्रतिकार्यका लागि दुर्गम ठाउँका मानिसहरूसम्म पुग्ने र सीमान्तकृत समुदायसँग नजिकबाट काम गर्ने गरिरहेकी छिन्।

"पिपुल इन नीडमा सामेल हुनुअघि यो क्षेत्रमा काम गर्ने मेरो कुनै योजना थिएन । मेरो पहिलो काम र कार्यक्षेत्र गोरखा जिल्ला थियो जहाँ मैले अत्यन्तै दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायको लागि काम गर्ने अवसर पाएँ । मैले कुनै पनि संकट वा प्रकोपको समयमा सहयोग गर्ने मानवीय कार्यकर्ता हुनुको महत्त्व त्यस क्षणमा महसुस गरें । यो यात्रा मेरो काम वा मेरो स्वतन्त्रताको बारेमा मात्र थिएन; यो मानवताप्रतिको मेरो जिम्मेवारी पनि थियो जसले मलाई अगाडि बढ्न उत्प्रेरित गर्‍यो,” आस्था सम्झन्छिन्।

किन तिमीले पिपुल इन नीडमा आफ्नो भविष्य रोज्यौ भन्ने प्रश्नको जवाफमा आस्था भन्छिन्, “यस संस्थाले जोखिममा रहेका र दुर्गम स्थानमा बस्ने समुदायको लागि काम गर्दछ, त्यसैले मैले यो संस्था रोजे र निरन्तर काम गरीराखे। प्रभावित क्षेत्रमा पुग्न, पिछाडिएका वर्ग र सेवाहरूमा सीमित पहुँच भएका मानिसहरूसम्म पुग्न हामी पुरै दिन हिँड्थ्यौ, त्यस्ता ठाउँहरूमा मेरो उपस्थिति आवश्यक रहेको मलाई अनुभूति भयो । म पिपुल इन नीडको भुकम्पदेखि पहिरोसम्मका विभिन्न परियोजनाहरुमा आवद्ध भएँ र अहिले बाढीबाट प्रभावित र जोखिममा रहेका मानिसहरूकालागि काम गरिरहेको छु । यी कार्यहरुले मलाई व्यावसायिकरुपमा मात्र नभएर व्यक्तिगतरुपमा समेत अगाडि बढ्न धेरै मद्दत गर्यो ।" उनी थप्छिन्, “२०७२ सालको महाभूकम्प पछि मानिसहरू बस्नका लागि सुरक्षित स्थल नभएकोले सार्वजनिक वा भाडाका जग्गा र अन्य ठाउँहरुमा अस्थायी शिविरहरू बनाएर बसेका थिए । हाम्रो निरन्तर पैरवी र सहजीकरणको कारण, पहिरोको जोखिममा रहेका विस्थापित र भूमिहीन परिवारहरू सुरक्षित रूपमा स्थानान्तरण हुन सहयोग पुग्यो ।"

फिल्डमा काम गर्दा आस्थाले विपद्को जोखिममा रहेको क्षेत्रमा काम गर्नुपर्‍यो र कहिलेकाहीँ बाढी, पहिरो वा जोखिमपूर्ण क्षेत्र हुँदै हिँड्नुपर्यो। " यो चुनौतीपूर्ण भएता पनि हाम्रो उपस्थिति त्यहाँ जरुरी थियो," आस्था भन्छिन् । समुदायमा पुग्न र सरकारी सरोकारवालाहरुलाई भेट्न आस्थाले धेरै यात्रा गर्नुपर्थ्यो । "फिल्डमा जाँदा होटल नभएका दुर्गम ठाउँहरुमा हामी स्थानीय बासिन्दाको घरमा, विद्यालयमा र कहिलेकाहीँ शिविरहरूमा बस्थ्यौं । विपद् वा आपताकालिन अवस्थामा हामी महिनौ दिन सम्म फिल्डमा रहनुपर्थ्यो । कहिलेकाहिँ पहिरो गएको ठाउँहरु पार गर्नुपथ्र्यो र बाढी प्रकोप प्रतिकार्यका लागि जानुपर्थ्यो । कठिनाई र सङ्घर्ष भएपनि हामीले गरेका कार्यहरुबाट प्राप्त हुने नतिजाहरुले ती ठाउँहरुमा काम गर्न मलाई सधैं उत्प्रेरित गर्यो ।"

२०७६ सालमा आस्था बेस्सरी बिरामी परिन् । डाक्टरहरूले समस्या पहिचान गर्न सकेनन् । आस्था भन्छिन्, "धेरै जाँच पछि मलाई लुपस, एक अटोइम्यून रोग लागेको पत्ता लाग्यो। डाक्टरले मलाई पर्याप्त आराम गर्न, तनाव र घामबाट टाढा रहन सल्लाह दिए, त्यसैले मैले जागिर छोड्ने निर्णय गरें । मैले संस्थाको व्यवस्थापनसँग आफ्नो समस्या राखें उनीहरूले मेरो समस्या बुझे र जागिर छोड्नुको सट्टा सबै सावधानी अपनाएर मलाई घरबाट काम गर्ने व्यवस्था मिलाइदिए । उनीहरूले मलाई सहज हुने उपयुक्त वातावरण सिर्जना गरिदिए र अन्य अवसरहरू समेत प्रदान गरे। केही महिनासम्म, मैले यात्रा नगरी घरबाट काम गरें।"

हाल आस्था ‘दिगो समाधान’ नामक कन्सोर्टियम परियोजनाको परियोजना व्यवस्थापकका रूपमा काम गरिरहेकी छिन् । परियोजनाले मधेश प्रदेशका बाढीपीडित भूमिहीन समुदायसँग काम गर्दछ। यस परियोजनाले बाढीको उच्च जोखिममा रहेका भूमिहीन घरपरिवारहरूको सरकारी अनुदान (बाढीअघि, बाढी आएको समयमा र बाढीपछि) मा पहुँच पुर्याउन प्रणालीगत समावेशी संयन्त्रको विकास गर्न सहजीकरण गर्ने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोग (२०२०) अनुसार नेपालको सबैजसो क्षेत्रमा बसोबास गर्ने करिब १३ लाख घरपरिवार भूमिहीन वा भूमि-गरीब छन्। विशेष गरी त्यस्ता घरपरिवारको संख्या तराईमा उच्च छ । बाढी जस्ता प्रकोपले परिवार र समुदायलाई विस्थापित गर्छ, उनीहरूलाई भूमिहीन बनाउँछ । "हाम्रो सानो प्रयासले मानिसहरू र उनीहरूका सम्पूर्ण परिवारको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्न सहयोग पुग्छ भन्ने मैले देखेकी छु । यी सकारात्मक परिवर्तनहरू र उनीहरूका अनुहारका देखिने खुशीले मलाई  सधैं जोखिममा रहेका मानिसहरूका लागि काम गरिरहने उर्जा दिन्छ,” आस्था भन्छिन्।

मानवीय कार्यकर्ताको रुपमा गरेको कामले आफूलाई व्यक्तिगत र व्यावसायिक रुपमा परिवर्तन गरेको आस्था ठान्छिन् । "काठमाडौं शहरको सहज वातावरण र पारिवारिक घेराबाट बाहिर निस्केर मैले दुर्गम क्षेत्रहरूमा हिँड्ने र जोखिम, सीमान्तकृत समुदायहरूसम्म पुग्ने अनि उनीहरूको जीवन भोगाई अनुभव गर्न पाएँ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला दिदीबहिनीहरूको सशक्तिकरणको लागि पैरवी गर्ने र उनीहरूको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्ने जस्ता कार्यहरु मैले गर्न पाएँ । मैले उनीहरूलाई बुझ्न सकें, उनीहरुको भावना महसुस गर्न सकें र उनीहरूसँगै जोडिन थालें। हामीले कुनै पनि हानि वा अन्याय सहनु हुँदैन र आवश्यक पर्दा आवाज उठाउनु पर्छ।" यी अनुभवहरूको आधारमा आस्थाको निष्कर्ष छ कि, "हामीले पिछडिएका व्यत्तिहरुका लागि पैरवी गर्न र उनीहरूको आवाज बन्न आवश्यक छ । यदि हामी बोलेनौं भने, उनीहरूको लागि र उनीहरूको अधिकारको लागि कसले बोल्छ।"

#WorldHumanitarianDay #ItTakesAVillage


Autor: सजना श्रेष्ठ, संचार तथा पैरवी प्रबन्धक, पिपुल इन नीड

सम्बन्धित लेखहरू