समावेशी र रुपान्तरणकारी कार्यक्रमको लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) विश्लेषणः आधारभूत स्तरमा विविधतायुक्त समुदायको परिवर्तन तथा बोध

प्रकाशित १३ अगस्ट २०२५ पढ्न लाग्ने समय 6 मिनेट

दिगो परिवर्तन मानिसहरूको गहिरो बुझाइबाट सुरु हुन्छ विशेषगरी सबैभन्दा जोखिम र सीमान्तकृत समूहहरूको । प्रत्येक समुदाय विविध पहिचानहरूको सुन्दर समिश्रण हो जसलाई लैङ्गिक अवस्था, उमेर, अपाङ्गता, जातीयता तथा अन्य सामाजिक तत्वहरुद्वारा निर्मित हुन्छन् । यस्ता विविध समुदायलाई सार्थक रूपमा सेवा गर्न, उनीहरूको अनुभव, आवश्यकता र कथाहरू ध्यानपूर्वक सुन्नु अत्यन्त आवश्यक छ । GEDSI विश्लेषणले हामीलाई समावेशी, न्यायपूर्ण तथा रूपान्तरणकारी कार्यक्रम विकास गर्न सक्षम बनाउँछ ।

समावेशी र रुपान्तरणकारी कार्यक्रमको लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) विश्लेषणः आधारभूत स्तरमा विविधतायुक्त समुदायको परिवर्तन तथा बोध
© Foto: पिपुल इन नीड (PIN)
GEDSI किन महत्वपूर्ण छ ? - अदृश्यलाई देख्ने दृष्टि

लैङ्गिक भूमिकाहरू र गहिरो रूपमा जरा गाडेका असमानताहरूले प्रायः कसको पहुँचमा शक्ति हुन्छ, कसले निर्णय गर्छ, र को पछि पर्छ भन्ने निर्धारण गर्छन् । यस्ता असमानताहरू सङ्कटकालीन अवस्थामा अझ बढेको देखिन्छन् जहाँ जोखिममा रहेका तथा सीमान्तकृत समूहहरूले बहिष्करणको उच्च जोखिम सामना गर्नुपर्छ । यसै कारण PIN मा हरेक कार्यक्रम GEDSI विश्लेषणबाट सुरु गरिन्छ। यसले प्रायः नजरअन्दाज गरिएका समूहहरूको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ र हाम्रो काममा उनीहरूलाई प्राथमिकतामा राख्न सुनिश्चित गर्दछ।

GEDSI तथ्याङ्कलाई वर्गीकरण गर्नमा मात्र सीमित छैन । यो एक सहभागीतामुलक र अन्तरसम्बन्धित प्रक्रिया हो जसले लिङ्ग, उमेर, अपाङ्गता, धर्म, आदिवासी/जनजातीय पहिचान, आर्थिक अवस्था तथा भौगोलिक स्थान जस्ता विभिन्न सामाजिक तत्वहरुले मानिसको जीवन अनुभवलाई आकार दिनको निम्ति कसरी अन्तक्र्रिया गर्दछन् र अन्तर्निहित हुन्छन् भन्ने पक्षहरु उजागर गर्दछ । यसले हामीलाई सबैभन्दा बढी जोखिममा को छ? वहिष्करणमा को छ? वा किन छ भन्ने तथ्यको पहिचान दिन्छ । फलस्वरुप हामी “कसैलाई पनि पछि नछोड्ने” प्रतिवद्धताका साथ कार्यक्रम तय गर्न सक्दछौँ । 

महत्पूर्ण आवाजहरुको सुनुवाई

उदाहरणका लागि, प्रतिबद्ध परियोजना–३ अन्तर्गत गरिएको हाम्रो कार्यलाई लिन सकिन्छ । अध्ययनको क्रममा दैनिक क्रियाकलापको समयतालिक (Daily Activity Clock) र समुदायस्तरमा गरिएका गहिरा छलफलहरू मार्फत हामीले बझाङ जस्ता दुर्गम क्षेत्रका महिलाहरू बिहान सूर्योदयभन्दा अगावै दिनको काम सुरु गरी राति अबेरसम्म निरन्तर काम गरिरहेको कुरा थाहा पायौँ । यी महिलाहरूले घरायसी अवैतनिक काम, हेरचाहको जिम्मेवारी तथा साना स-साना आम्दानीमुलक कामहरू एकैसाथ सम्हालिरहेका हुन्छन् । उनीहरूको अथक श्रम निरन्तर र महत्वपूर्ण हुँदाहुँदै पनि प्रायः अदृश्य रहन्छ ।

हामीले उनको कुरा सुन्यौं र त्यसै अनुसार सबै परियोजनाका गतिविधिहरू मिलायौं । किनभने लक्षितवर्गहरुको समय र भुमिका अनुकुलतासँग मात्र अर्थपूर्ण सहभागिताको सुरुवात हुन्छ । हामीले यो पनि बुझ्यौं कि, हाम्रो कार्यक्रमहरुको योजना निर्माण गर्दा महिलाहरुको हेरचाह गर्ने भूमिका, पारिवारिक अपेक्षा तथा अन्य जिम्मेवारीहरुलाई पहिचान र आत्मसात गर्दै लैजानु सहभागिता बढाउनको निम्ति महत्वपूर्ण हुन्छ ।

मधेशमा गरिएको अर्को विश्लेषणले महिलाहरू र किशोरीहरू घरबाहिर जाँदा अभिभावक वा साथमा कोही नहुँदा जान नसक्ने अवस्था रहेको देखायो । यसले हामीलाई उनीहरूको आफ्नै बस्तीभित्र सामुदायिक सिकाइ केन्द्र स्थापना गर्न प्रेरित गर्‍यो जसले दूरीको अवरोध हटाउँदै सिकाइमा पहुँच बढायो ।  

निर्णय प्रक्रिया र सहभागिताका ढाँचाहरू उजागर गर्दै

GEDSI विश्लेषणले कोसँग शक्ति छ र को प्रक्रियागतरुपमा पछाडि पारिएको छ भन्ने विषयलाई पनि प्रकाश पार्दछ । प्रतिबद्ध-३ परियोजना सञ्चालन भएका विपद् जोखिमयुक्त क्षेत्रहरूमा घरपरिवारदेखि समुदाय तहसम्म निर्णय प्रक्रियामा पुरुषहरूको नियन्त्रण रहेको देखियो ।

विपद् जोखिम न्यूनीकरण (DRR) योजना निर्माणमा समावेशीकरण प्रवर्द्धन गर्ने प्रयासहरूको बाबजुद सांस्कृतिक मान्यता र पर्याप्त सचेतनाको अभावका कारण महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरू, भूमिहीन परिवारहरू तथा अन्य सीमान्तकृत समूहहरूको आवाज अझै पनि दबिएको अवस्था रहेको छ ।

यी अन्तरदृष्टिहरुले हामीलाई के बताउछ भने समावेशिता आफैं हुँदैन । यसका लागि सचेत, निरन्तर र वास्तविक अनुभवहरूमा आधारित प्रयासहरू आवश्यक हुन्छ । त्यसैले, GEDSI विश्लेषणबाट प्राप्त निष्कर्षहरूको आधारमा हामी संरचनागत परिवर्तनका लागि पहल गर्दछौँ । यसमा सीमान्तकृत समूहहरूको विवद् जोखिम न्युनीकरण योजना प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न वकालत गर्ने र लामो समयदेखि ओझेलमा परेका आवाजहरूलाई समेट्ने रणनीतिहरू विकास गर्ने कार्य समावेश छन् । किनभने जब प्रत्येक व्यक्तिलाई स्थान र आवाज सुनिश्चित हुन्छ, तब मात्र समुदायहरू अझ सशक्त र दिगो बन्छन्।

परिवर्तनको निम्ति असमानताको नक्साङ्कन

GEDSI विश्लेषणको एक महत्वपूर्ण पक्ष भनेको दैनिक जीवनलाई प्रभावित गर्ने गहिरा रूपमा जरा गाडेका असमानताहरू उजागर गर्ने क्षमता हो । हामी परिवर्तनलाई सुचित गर्न यो ज्ञानको उपयोग गर्न सक्छौँ ।

River+ परियोजनामा, हामीले सेवा पहुँच कसलाई छ र कसलाई छैन भन्ने बुझ्न सामुदायिक सेवा नक्साङ्कन उपयोग गर्‍यौँ । प्राप्त निष्कर्षले देखाए अनुसार अधिकांश महिला सरसफाइकर्मीहरू आधारभूत सूचना प्रणालीहरूसम्म पनि पहुँचविहीन थिए भने पुरुषहरू सामाजिक सञ्जाल र निर्णय गर्ने ठाउँमा बर्चश्व थियो । यी बुझाइहरूले हामीलाई हाम्रो क्रयाकलापहरू कसरी र कहाँ सञ्चालन गर्ने भन्नेमा परिवर्तन गर्न सक्षम बनायो जसअनुसार तालिमहरूको समय, विषयवस्तु र स्थानलाई सहभागीहरूको वास्तविक अवस्था र आवश्यकताअनुसार समायोजन गरियो ।

उदाहरणको लागि दैनिक क्रियाकलाप समयतालिकाको माध्यमबाट अधिकांश अनौपचारिक फोहोर संकलनकर्मी (IWWs) हरु बिहान सबेरै फोहोर संकलनको काममा जाने भएकाले बिहान ११ बजे पछि मात्र तालिममा सहभागी हुन साक्ने कुरा थाहा भयो । प्रतिक्रियास्वरुप Her Safety Package अन्तर्गतका सबै सत्रहरू दिउँसोका लागि पुनः तालिकाबद्ध गरियो र अधिकतम सहभागिता सुनिश्चित गर्न नियमित परामर्श पनि गरियो ।

सम्भवतः सबैभन्दा उल्लेखनीय खोज परिणाम काठमाण्डौँ उपत्यकाको चारवटा IWW समुहको समुह केन्द्रित छलफल मार्फत् प्राप्त भयो । जहाँ ३९ जना अनौपचारिक सरसफाइकर्मीमध्ये केवल दुई जना (दुवै ज्येष्ठ नागरिक) ले मात्र सरकारी सामाजिक सुरक्षा भत्ता पाइरहेको बताएका थिए । बाँकी अधिकांशले त यस्ता सामाजिक सुरक्षाहरूबारे कहिल्यै सुनेका पनि थिएनन् । धेरैका लागि यो जानकारी पहिलो पटक प्राप्त भएको थियो ।

यस अवस्थालाई सम्बोधन गर्न, हामीले Her Safety Package अन्तर्गत सन्दर्भअनुकूल सरकारी सामाजिक सुरक्षा सम्बन्धी तालिम समावेश गर्‍यौं विशेषगरी सीमान्तकृत सरसफाइकर्मीहरूलाई लक्षित गर्दै । यी सत्रहरूले सहभागीहरूलाई आफूले पाउन सक्ने सुविधाहरू के हुन्, कसरी आवेदन गर्ने र कहाँबाट सहयोग लिने भन्नेबारे स्पष्ट जानकारी प्रदान गरे । यो मात्र जानकारी दिने मात्र होइन, तर व्यक्तिहरुलाई उनीहरुको अधिकार दावी गर्न र उनीहरुको जीवन सुधार गर्न सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम थियो ।

सामाजिक यथार्थहरूको पहिचान र नक्साङ्कनमार्फत हामी अवरोधहरू हटाउने खालका क्रयाकलापहरू विकास गर्छौं । GEDSI विश्लेषणले हामीलाई सोचविचारपूर्वक र उद्देश्यसहित कार्य गर्ने आधार दिन्छ जसले गर्दा कसैलाई पनि पछि नपारिने सिद्धान्तलाई सुनिश्चित गर्छ । यो केवल आशा होइन तर योजनाबद्ध प्रतिबद्धता हो ।  

सामाजिक मान्यताको मौनतालाई चुनौती दिँदै

सम्भवतः सबैभन्दा दर्दानक पीडादायी घटनाहरु मध्य हिंसा र भेदभावको कथाहरु हुन । विशेषगरी GEDSI विश्लेषणको क्रममा काठमाडौँमा अनौपचारिक सरसफाइकर्मीहरूले अनुमति बिना कामको लागि बाहिर जादाँ सासुससुरा र जीवनसाथीहरुबाट नै भोग्नु परेको घरेलु हिंसाको बारेमा खुलासा गरे । समुदायले पनि उनीहरुलाई उनीहरुको पेसाको कारणले “फोहोरी” तथा “तल्लो स्तर”को रुपमा दृष्टिगत गरेको कुरा बताएको थियो ।

टेकु दोभानकी एक महिलाले भनिन्, “मानिसहरूले हामी राम्रो परिवारका होइनौं भन्ने ठान्छन्। हामी के काम गर्छौं भनेर विद्यालयलाई पनि भन्दैनौं, किनभने हाम्रा छोराछोरीमाथि पनि विभेद हुन्छ भन्ने डर लाग्छ ।”

यी यथार्थहरूले हामीलाई Her Safety Package लाई अझ सुदृढ बनाउँदै लैजान प्रेरित गर्‍यो । यसअन्तर्गत लैङ्गिक तथा यौनजन्य हिंसा (SGBV), प्रजनन स्वास्थ्य, तथा मानोसमाजिक स्वास्थ्यसम्बन्धी सत्रहरू समावेश गरिएको थियो । हामीले हिंसा कदापि स्वीकार्य छैन र हरेक व्यक्तिसँग दुव्र्यावहार र लाञ्छानामुक्त भई बाँच्ने अधिकार छ भन्ने कुरामा जोड दियौँ । साथै उपलब्ध कानुनी सहयोग र लैङ्गिक हिंसा सम्बन्धी सेवाहरूको जानकारी पनि प्रदान गरिएको थियो जसले सहयोग खोज्ने व्यवहारलाई प्रोत्साहित गर्न मद्दत गर्छ । 

विभिन्न सन्दर्भबाट सिक्दै, संवेदनशील रूपमा अनुकूलन गर्दै

GEDSI विश्लेषण कुनै एक स्थानमा मात्र सीमित हुँदैन । हालसालै हामीले बझाङ, जाजरकोट र प्युठानका छ वटा गाउँपालिकाहरूमा GEDSI विश्लेषण गर्‍यौं जसमार्फत १७१ जना सहभागीहरूलाई समेटियो । यी सहभागीहरूले समुदायका विविध समूहहरूको प्रतिनिधित्व गरेका थिए जसमध्ये अपाङ्गता भएका व्यक्तिहरू, भूमिहीन परिवारहरू, गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरू, तथा उच्च विपद् जोखिम क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू समावेश थिए ।

हामीले जातीय विभेद र बहिष्करण का घटनाहरूबारे थाहा पायौँ जहाँ दलित समुदायलाई मन्दिर नजिकैको धाराको पानी उपयोग गर्नमा रोक लगाइएको थियो । यस्ता निष्कर्षहरूले अहिले हाम्रो परियोजना गतिविधिका लागि स्थान छनोट गर्ने प्रक्रियालाई निर्देशित गरिरहेका छन्, जसले गर्दा कसैलाई पनि पहिचानका आधारमा पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने सुनिश्चित हुन्छ । साथै यस्ता अन्यायपूर्ण अभ्यासहरूलाई चुनौती दिन हामी स्थानीय सरकारहरूसँग वकालत पनि गरिरहेका छौं ।

GEDSI विश्लेषणले हामीलाई ज्येष्ठ नागरिकहरुको निम्ति न्यानो कपडादेखि महिलाहरुको निम्ति सीपमुलक तालिम, अपाङ्गता भएको व्यक्तिहरुको निम्ति पहुँचयोग्य यातायात लगायत आवश्यकतामा आधारित सहायता प्राप्त गर्न सहयोग गर्दछ ।

प्रतिबद्धता कार्यान्वयनको लागि व्यवहारमा रूपान्तरण

GEDSI विश्लेषणमार्फत हामी समुदायका अनुभव, चुनौती र संघर्षहरू संकलन गर्छौं र असमानताहरू घटाउने समाधानहरू प्रस्ताव गर्छौं । बहिष्करणको उच्च जोखिममा रहेका व्यक्तिहरूको आवाज सुनेर, हामी न्याय, समानता र मर्यादामा आधारित पहलहरू निर्माण गर्छौं । पिपुल इन नीड (PIN) मा GEDSI केवल एक अवधारणा होइन यो प्रत्येक आवाज सुन्ने, प्रत्येक अवरोध सम्बोधन गर्ने र हरेक कार्यक्रमलाई हामीले सेवा गर्ने समुदायका वास्तविक आवश्यकतासँग जोड्ने प्रतिबद्धता हो । 

समावेशिता अधिकार हो र परिवर्तन सबैका लागि हुनुपर्छ ।

Author: छोइकी डोल्मा लामा, समावेशी र रुपान्तरणकारी कार्यक्रमको लागि लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र संरक्षण संयोजक,

सम्बन्धित लेखहरू