पूर्वकार्यका लागि अपाङ्गता परीक्षण (स्क्रिनिङ) किन महत्त्वपूर्ण छ?
प्रकाशित ३ डिसेम्बर २०२५ पढ्न लाग्ने समय 5 मिनेट Sdílet: Sdílet článekजब हामी पूर्वकार्यको कुरा गर्छौं, हामी प्रायः मौसम पूर्वानुमान, पूर्वसूचना प्रणाली र अत्याधुनिक प्रविधिबारे मात्र सोच्ने गर्छौं । तर वास्तविकता धेरै सरल र अत्यन्तै महत्त्वपूर्ण छ: यदि पूर्वकार्य सङ्कटासन्न अर्थात् सबैभन्दा जोखिममा परेका समूहहरूसम्म पुग्दैन भने त्यो असफल हुन्छ । सबैभन्दा जोखिममा रहने मानिसहरूमा अपाङ्गता भएका व्यक्ति पनि पर्छन् । सङ्कट तथा विपद्का समयमा उनीहरूले विशेष चुनौतीहरू सामना गर्छन् । कोहीले पूर्वसूचना सुन्न वा देख्न सक्दैनन्, कोही सुरक्षित उद्धार स्थलसम्म पुग्न सक्दैनन्, कोहीसँग सामाजिक सुरक्षा योजनाको सुविधा लिन चाहिने कागजात नै हुँदैन । यदि भरपर्दो तथ्याङ्क भएन भने अपाङ्गता भएका व्यक्ति विपद् पूर्वतयारी तथा व्यवस्थापन योजनामा अदृश्यजस्तै रहन्छन् ।
आज विश्वले अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको समयमा, सबैका लागि समावेशी पूर्वकार्य झन् आवश्यक र जरुरी रहेको महसुस भएको छ । यस दिवसले हामीलाई उत्थानशीलता निर्माणका प्रयासहरूले अपाङ्गता भएका व्यक्तिहरूका विविध आवश्यकताहरूलाई बुझ्नु र सम्बोधन गर्नु पर्छ भनेर सम्झाएको छ, विशेषगरी नेपालजस्ता विपद्को जोखिम धेरै रहेको देशमा ।
यही कुरालाई ध्यानमा राखेर बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन नीडको नेतृत्व र डि.सि.ए. को सह–नेतृत्वमा सञ्चालन गरेको उत्थानशील, अनुकूलन र समावेशी नेपाल (रेन) कार्यक्रमले आफ्नो कामको केन्द्रमा समावेशिता लाई राखेको छ । यस कार्यक्रमलाई नेपालमा कार्यरत स्थानीय संस्थाहरू सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, प्रेरणा, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), र युथ इन्नोभेसन ल्याब सँग साझेदारी गरी कार्यान्वयन गरिएको छ । कार्यक्रमलाई रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर र युके मेटले प्राविधिक सहयोग प्रदान गरिरहेका छन् ।
स्थानीय नेतृत्व कार्यपद्धति अपनाएको यस कार्यक्रमले समुदायको उत्थानशीलता सुदृढ बनाउन प्रणालीगत, स्थानीयकृत र समावेशी रणनीति अपनाएको छ, र सोसँगै यसले पूर्वसूचना, पूर्वकार्य र जलवायु अनुकूलनका लागि नेपालको सरकारी प्रणालीलाई पनि सहयोग गर्दछ । कार्यक्रमको मुख्य उद्देश्य पूर्वसूचना प्रणाली सबैका लागि पहुँचयुक्त बनाउनु, पूर्वकार्य समयमै र सबैभन्दा जोखिममा रहने समूहसम्म पुग्ने सुनिश्चित गर्नु र विपद् जोखिम न्यूनीकरणका प्रयासहरू दिगो, व्यवहारिक र स्थानीय नेतृत्वमा आधारित रहने बनाउनु हो ।
यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्यक्रमले नेपाल सरकारसँग मिलेर धेरै ठाउँमा अपाङ्गता परीक्षण शिविर सञ्चालन गरेको थियो । यो कदम समाजमा प्रायः उपेक्षित र नजरअन्दाज गरिने समूहसम्म पूर्वकार्य पुर्याउने अत्यन्त महत्वपूर्ण कदम थियो ।
अपाङ्गता परीक्षण शिविर भनेको समुदायमै आयोजना गरिने एउटा सानो कार्यक्रम हो, जहाँ व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूमा के कस्ता प्रकारका अपाङ्गता रहेको छ र ती व्यक्तिका विशेष आवश्यकताहरू के-के रहेका छन् भनी पहिचान गरिन्छ । यी अपाङ्गता परीक्षण ले हाल रहेका पूर्वसूचना प्रणालीमा के कस्ता कमीहरू छन् भनी देखाउन र पूर्वकार्यलाई कसरी अझ उपयुक्त बनाउने भन्ने मार्गदर्शन गर्न सहयोग गर्छन् ।
मधेश र लुम्बिनी प्रदेशहरूमा गरी ३,८९९ जनाको परीक्षण गरिएको थियो र तीमध्ये १,६३० जना अपाङ्गता भएका व्यक्ति पहिचान भएका छन् । यो तथ्याङ्क केवल सङ्ख्या मात्र होइन; यसले वर्षौँदेखि विपद् पूर्वतयारीका कार्यक्रमहरूबाट बाहिर छाडिएका वास्तविक मानिसहरूको प्रतिनिधित्व गर्छन् ।
अन्तिम लक्षित व्यक्तिसम्म पुग्नु
अपाङ्गता परीक्षण शिविरबाट प्राप्त सबैभन्दा महत्वपूर्ण पाठमध्ये एउटा थियो – समुदायमा रहेका संरचनाको भूमिका । गाउँ समुदायसम्म पुग्ने यो प्रयास शिविरमा मात्र सीमित रहेको थिएन । जो व्यक्तिहरूलाई हिँडेर शिविरसम्म आउन गाह्रो थियो, उनीहरूको घर-घरमै टोली पुगेको थियो । स्थानीय स्वास्थ्यकर्मी, स्वयंसेवक र विपद् व्यवस्थापन समितिका सदस्यहरू सङ्कटासन्न परिवार र पूर्वकार्य प्रणालीलाई जोड्ने भरपर्दो सेतु बनेका थिए ।
यही नै हो अन्तिम लक्षित व्यक्तिसम्म सेवा पुर्याउने काम: समुदायकै नेतृत्वको पहुँच निर्माण कार्यक्रम, जसले कोही पनि पछाडि नपर्ने सुनिश्चित गर्दछ ।
पूर्वसूचनामा समावेशीकरण किन महत्त्वपूर्ण छ?
यी परीक्षण शिविरले एउटा महत्त्वपूर्ण सत्य कुरा देखाएका छन्: एउटै ढाँचाको पूर्वसूचनाले सबैका लागि काम गर्दैन ।
परीक्षण शिविरहरूमा ६४ जना सुनाइसम्बन्धी क्षमतामा समस्या भएका व्यक्ति पहिचान भएका थिए । उनीहरूका लागि साइरन, लाउडस्पिकर, मेगाफोन वा फोनमा आउने स्वचालित आवाज (IVR) जस्ता सामान्य पूर्वसूचनाका उपायहरू बिलकुलै पहुँचयुक्त हुँदैनन् ।
सुनाइसम्बन्धी अपाङ्गता भएकी ७० वर्षकी का बिल्टी कामती भन्नुहुन्छ, “म मोबाइल चलाउन जान्दिनँ र रेडियोमा आउने सूचना सुन्न सक्दिनँ । मेरा नातिनातिनी र छिमेकीहरूले नै सूचना दिन्छन् । म अरूमाथि भर पर्नुपर्छ ।”
यी कथाहरूले पूर्वसूचना प्रणालीले सञ्चारका विभिन्न माध्यम - साङ्केतिक भाषा भएका भिडियो, चित्रले बुझाउने चेतावनी सन्देश, घर–घरमा पुगेर दिने सन्देश, वा रङले बुझाउने संकेत- किन महत्त्वपूर्ण छन् भन्ने कुरा स्पष्ट रूपमा देखाउँछन् । यसो गरेमा मात्र सबैले समयमै सूचना बुझ्छन् र आफूलाई बचाउन सक्छन् ।
सेवाबाट प्रणालीतिर
यी परीक्षण शिविरले अपाङ्गता भएको व्यक्ति पहिचान गर्नमा मात्र सीमित रहेका थिएनन् । स्थानीय सरकारसँग सहकार्य गरी पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र बनाउन, सरकारका विभिन्न सुविधा तथा सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन र उनीहरूको विवरण, नाम र आवश्यकता जोखिम सुसूचित पूर्वकार्यका लागि स्थानीय पालिकाको विपद्सम्बन्धी अभिलेखमा राख्न पनि सहयोग गरिएको थियो ।
पटके पहुँच सहयोगबाट प्रणालीगत तथा संस्थागत समावेशीकरणतर्फको यो रूपान्तरण उत्थानशीलता, अनुकूलन तथा समावेशीकरण कार्यक्रमको दूरदृष्टिको मुख्य हिस्सा हो । अब अपाङ्गता भएका व्यक्तिहरू विपद् जोखिम व्यवस्थापन, पूर्वतयारी, र पूर्वकार्यका प्रमुख सरोकारवालाको रूपमा पहिचान भएका छन् ।
सिराहा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष सञ्जीवकुमार झा भन्नुहुन्छ, “हामीले ह्वाट्सएप ग्रुपमा म्यासेज पाउँछौँ र त्यसपछि ती जानकारीलाई अरूसम्म फैलाउँछौँ । तर सबैसँग फोन र इन्टरनेट हुँदैन, त्यसैले सबैसम्म पुग्न विभिन्न माध्यम प्रयोग गर्नुपर्छ ।”
पहुँचयुक्त पूर्वाधार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । सुरक्षित आश्रयस्थान, समावेशी सुरक्षित उद्धार मार्ग, र फरक–फरक गमनशीलता तथा स्वास्थ्य आवश्यकताअनुसार तयार गरिएका आपतकालीन सामग्री हुनु आवश्यक छ । यी सबै व्यवस्था पूरा भएपछि मात्र पूर्वकार्यले "सबैका लागि सुरक्षा" भन्ने वास्तविक अर्थ राख्छ ।
अब के हुन्छ ?
अपाङ्गता परीक्षण शिविर पूरा भएपछिको अब सबैभन्दा महत्वपूर्ण कदम भनेको यस तथ्याङ्कलाई प्रयोग गरेर पूर्वसूचना र पूर्वकार्य प्रणालीलाई सुदृढ गरी अझ समावेशी बनाउनु रहेको छ । यी शिविरहरूबाट प्राप्त नतिजाहरूले अहिलेको प्रणालीमा रहेका कमी पहिचान गर्न, जोखिममा रहेका परिवारहरूलाई नै समेट्न र फरक-फरक क्षमताका व्यक्तिका लागि पहुँचयुक्त सञ्चार विधि विकास गर्न मार्गदर्शन गर्नेछन् । त्यसैगरी, स्थानीय सरकारले पनि यस अपाङ्गता सम्बन्धी तथ्याङ्कलाई आफ्ना पूर्वतयारी र योजना तर्जुमाको प्रक्रियामा समावेश गर्नेछन् र अपाङ्गता भएका व्यक्तिहरू जोखिम मूल्यांकन, स्रोत वितरण, र पूर्वकार्यका नीति तथा रणनीतिमा औपचारिक रूपमा समेटिने सुनिश्चितता प्रदान गर्नेछ । यी सबै कदममार्फत उत्थानशीलता, अनुकूलन तथा समावेशीकरण कार्यक्रम र सरकारी साझेदारहरूले अपाङ्गता परीक्षण शिविरबाट प्राप्त ज्ञानलाई दीर्घकालीन, स्थानीय नेतृत्वमा आधारित सुधारतर्फ बदल्ने लक्ष्य राखेका छन् र यसले पूर्वसूचना प्रवाह गरिने मात्र होइन, यसलाई सबैले बुझ्न सक्नेछन् र समयमै सुरक्षित रहन आवश्यक कदम चाल्नेछन् भन्ने कुराको सुनिश्चित हुनेछ । आगामी दिनहरूमा, कार्यक्रमले अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका लागि लक्षित गरिएका विशेष सहयोग पनि प्रदान गर्नेछ, जसमा मुख्य गरी :
(१) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई विपद् समयमा सुरक्षित भएर उद्धारस्थलसम्म कसरी पुग्ने भन्नेबारे गमनशीलता सम्बन्धी तालिम,
(२) अपाङ्गता भएका व्यक्तिका परिवारजन र हेरचाह गर्ने व्यक्तिहरूलाई समयमै र प्रभावकारी पूर्वकार्यका लागि आवश्यक सीप प्रदान गर्ने केयरगिभर तालिम ।
समतामूलक पूर्वकार्यतर्फको बाटो
अपाङ्गता परीक्षण शिविरहरूले एउटा सरल तर गहिरो सत्य देखाएका छन्: अन्तिम लक्षित व्यक्तिसम्म पुग्न चारवटा कुराहरू –दृश्यात्मकता, समावेशीकरण, समुदायको सहभागिता र प्रणालीमा एकीकरण – एकदमै जरुरी छन् ।
शिविर सञ्चालनका क्रममा प्राप्त नतिजाहरूले कसरी हामी सबैलाई एकै किसिमको पूर्वसूचना दिने पुरानो तरिकाबाट निस्केर समतामूलक पहुँच हुने पूर्वकार्यतर्फ अगाडि बढ्न सक्छौँ भन्ने कुरा स्पष्ट देखाएका छन् — यस्तो पूर्वकार्य जसले वर्षौँदेखि पछाडि छाडिएका व्यक्तिहरूलाई पनि वास्तविक रूपमा समेट्छ । र जब पूर्वकार्यमा अपाङ्गता भएका व्यक्तिलाई पनि समेटिन्छ, तब त्यसले सम्पूर्ण समुदायको उत्थानशीलतालाई अझ बलियो बनाउँछ ।